एमालेको वैशाख ११ को कार्यक्रम कस्तो हो ? यसो भन्छन् संगठन विभाग सचिव माधव ढुंगेल

काठमाडौं । नेकपा एमालेले वैशाख ११ लाई जनताले जितेको दिनको उत्सवको रूपमा मनाउँदै छ । एमालेले लोकतन्त्र दिवसको अवसरमा वैशाख ११ गते काठमाडौंमा युवा लक्षित विशेष कार्यक्रम गर्दै छ । सो दिनलाई एमालेले जनताले जितेको दिन, युवा सेलिब्रेसनको रूपमा मनाउन लागेको नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले बताए ।

सेलिब्रेसनको लागि आवश्यक तयारीको काममा जुटिरहेको उनले बताए । सेलिब्रेसनको नारा तय गरेर युवा उपस्थितिलाई जोड दिइएको उनले जानकारी दिए । व्यवस्थाको बारेमा युवालाई जानकारी दिई व्यवस्था प्रति युवाको अपनत्व विकासको लागि कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए । ‘सो कार्यक्रममा अरू पुस्ताका मानिसहरू पनि हुन्छन् तर पार्टी र जनसंगठनका युवाको उपस्थितिलाई विशेष जोड दिएका छौँ’, उनले भने ।

कार्यक्रममा देश भरिका युवालाई सहभागिताको लागि आह्वान गरिएको ढुङ्गेलले बताए । कार्यक्रमको सहजीकरणको संयोजन गरिरहनु भएको ढुङ्गेलले अहिले सेलिब्रेसनको प्रचारको कामलाई जोड दिइएको उहाँले जानकारी दिए । ‘वैशाख ११ गते वास्तवमा जनताले जितेको दिन हो, त्यो दिन अलिकति छायामा पर्न खोजेको जस्तो भएको छ, त्यसैले त्यसको महत्त्व दर्साउन यो कार्यक्रम गर्न लागिएको हो’, उनले भने ।

नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन नेपाली जनता र युवाले गरेको योगदान बारे नयाँ पुस्तालाई बुझाउन नसक्दा प्रतिक्रियावादीले युवालाई बराल्ने प्रयत्न गरेकाले पनि यो व्यवस्थाको महत्त्व र व्यवस्था ल्याउन भएको बलिदान बुझाउन कार्यक्रम आयोजना गर्न लागिएको उनले स्पष्ट पारे । ‘लोकतन्त्रको भाव नयाँ पुस्तालाई बुझाउन जरुरी छ, अन्यथा नदेखेको राजतन्त्र यो भन्दा ठिक थियो कि भन्ने भ्रम नयाँ पुस्तालाई पर्नु स्वाभाविक हो, यो लोकतन्त्र युवाको लागि हो, जो यो भूमिमा धेरै बाँच्छ, लोकतन्त्रको आवश्यकता सबैभन्दा बढी उसको लागि हो, लोकतन्त्रको संरक्षण र संवर्द्धनको जिम्मा तिमीहरूको हो भनेर युवा पुस्तालाई बुझाउन कार्यक्रम गर्न लागिएको हो’, ढुङ्गेलले भने ।

वैशाख ११ को कार्यक्रम नितान्त जनताले जितेको दिनको उत्सव भएको उनले बताए । सो कार्यक्रम कसैको विरोधमा गरिने कार्यक्रम नभएको पनि उनले स्पष्ट पारे ।

कार्यक्रमलाई नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस बाहेक युवा लक्षित विभिन्न कार्यक्रम र कन्सर्टहरू आयोजना गरिने उनले जानकारी दिए । ‘यो प्रदर्शन भन्दा पनि सेलिब्रेसन हो, यसबाट हामीले बहुआयामिक सन्देश दिन खोजेको हो’, उनले भने ।

भृकुटीमण्डपमा हुने सो कार्यक्रममा नयाँ पुस्ताले एकदमै नयाँ अनुभव गर्ने उनले बताए । ‘युवालाई भृकुटीमण्डप भित्रै सबै कुरा दिने योजना हामीले बताएको छौँ, यो कार्यक्रम पुरानो शैलीको कार्यक्रम भन्दा बिलकुल फरक कार्यक्रम हुन्छ, ११ गते दिउँसो १ बजे कार्यक्रम सुरु हुन्छ, १२ कक्षको परीक्षा दिन विद्यार्थी घर पुगेपछि कार्यक्रम हुन्छ, यो सेलिब्रेसनलाई युवाको अनुहार हेर्ने सेलिब्रेसनको रूपमा मनाउँदै छौँ’, उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *