निर्मल निवासमा पूर्वराजासँग राप्रपा नेताहरूको ‘शुक्रबारे कचहरी’

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहित ७ जना नेताहरू शुक्रवार निर्मल निवास छिरेको प्रसङ्ग शनिवार सार्वजनिक भयो । राप्रपाको टोलीले पूर्वराजा ज्ञानेन्द्र सँग लन्चसहित गरेको छलफलमा मुख्य अन्तरवस्तुहरु भने गोप्य नै राखिएका छन् ।

पूर्वराजाकै बोलावटमा राप्रपा नेताहरूको दलबल निर्मल निवास गएको हो । राप्रपा टोलीमा वरिष्ठ नेताद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्षत्रय बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे तथा प्रवक्ता ज्ञानेन्द्र शाही थिए । राप्रपाले काठमाडौंमा निषेधाज्ञा तोड्ने निर्णय गरेको भोलिपल्ट निर्मल निवासले गरेको मन्त्रणालाई अर्थपूर्ण मानिएको छ ।

दुई घण्टाभन्दा बढी चलेको लन्च मिटिङमा तीनकुने आन्दोलनमा भएको हिंसादेखि दुर्गा प्रसाईँलाई कमान्डर कसले तोकेको हो भन्ने सम्मका विषयवस्तुहरू आएका थिए । पूर्वराजाले तीनकुने आन्दोलनमा भएको भौतिक र मानवीय क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेको एक नेताले बताए ।

भेटवार्तामा सहभागी ती नेताले पूर्वराजालाई उद्धृत गर्दै भने, ‘हामी शान्तिप्रेमी हौँ । हामीले नारायणहिटी दरबार छोड्दाखेरि त कुनै अप्रिय घटना भएन । मान्छे मारेर आएको व्यवस्था टिकाउ हुँदैन । प्रहरीहरू हाम्रै दाजुभाइ हुन् । उनीहरूलाई ढुंगा हान्नु हुँदैन । बरु गुलाबको फूल दिनुस् ।’

छलफलका क्रममा राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले पूर्वराजाले दुर्गा प्रसाईँलाई आन्दोलनको कमान्डर बनाएको भनी बाहिर चलेको चर्चाबारे जिज्ञासा राखेका थिए । पूर्वराजाले भने यसलाई इन्कार गरेको स्रोतले बतायो । प्रसाईँसँग मेची पुलको कार्यक्रमपछि आफ्नो भेटसमेत नभएको उनको भनाइ थियो ।

जनआन्दोलनको कमान्डर तोकिएकै दिन दुर्गा प्रसाईँ निर्मल निवास छिरेका थिए । तर, त्यसबखत उनलाई आफूले नभेटेको पूर्वराजाको भनाइ उद्धृत गर्दै एक नेताले बताए ।

‘प्रसाईँले पूर्वराजालाई नभएर उनका एकजना सचिवलाई भेटेर फर्किएका रहेछन्,’ ती नेताले भने ।

त्यसपछि बैठकमा नवराज सुबेदीको प्रसंग पनि निस्कियो । सुबेदीलाई जनआन्दोलन समितिको संयोजक कसले बनाएको हो भन्ने चर्चा चलेको थियो । पूर्वराजाले यसमा आफ्नो कुनै पनि भूमिका नरहेको प्रष्टीकरण दिएको एक नेताको भनाइ छ ।

‘न उहाँले नवराज सुबेदीलाई संयोजक तोक्नुभएको रहेछ, न दुर्गा प्रसाईँलाई कमान्डर,’ राप्रपाको संस्थापन पक्षीय ती नेताले भने, ‘राजाले यो विषयमा डा। लोहनी र पाण्डेलाई यस्तो कुरा कसरी आयो भनेर सोध्नुभयो । दुवै नेता नाजवाफ भए ।’

राप्रपाको प्रतिनिधिमण्डलमा रहेकामध्ये लोहनी र पाण्डे पछिल्लो समय संस्थापन इतर नेताका रूपमा चिनिन्छन् ।

उनीहरू नवराज सुबेदी नेतृत्वको जनआन्दोलन समितिलाई राजसंस्था पुनर्स्थापनाको आन्दोलनको नेतृत्व गर्न दिनुपर्ने पक्षमा छन् । तामाङ, प्रधान र शाही भने संस्थापन पक्षीय हुन् । उनीहरू राप्रपाले नै आन्दोलनको नेतृत्व गर्नुपर्ने अडानमा छन् । राणा भने ‘तटस्थ’ छन् ।

पूर्वराजाले भने राप्रपाले नै आन्दोलनको नेतृत्व गरोस् भन्ने चाहना घुमाउरो ढंगले प्रकट गरेको संस्थापनपक्षीय नेताहरूको दाबी छ ।

एक नेताले भने, ‘उहाँले आन्दोलन भन्ने शब्द त प्रयोग गर्नुभएन, जनभावनाको नेतृत्व राप्रपाले गर्नुपर्छ भन्नुभयो ।’

Comments

3 responses to “निर्मल निवासमा पूर्वराजासँग राप्रपा नेताहरूको ‘शुक्रबारे कचहरी’”

  1. bharat kumar thapa Avatar

    यस्ता नचाहने कुरा किन लेख्नुपर्ने नेपालमा अव राजतन्त्र खलास भएको हामी नेपाली जनताले बुझिबक्सेका छौ ज्ञानेन्द्रका भुतहरू

    1. manaia thompson Avatar
      manaia thompson

      @Bharat Kumar Thapa ए भारते तैले खड्गे को झर्य थियो, त्यो खिस जस्तो छ अनि बहुलाइ।

    2. Nick Kashyap Avatar
      Nick Kashyap

      तिमीहरूको भाषानै असभ्य शैलीको छ। तिम्रा नेताले त्यही सिकाएका थिए , अब तिम्रै नेतालाइ त्यही भाषाले गाली गर्नुपर्छ। तिमी जस्ता झोले-गणेहरू भ्रषाटाचार लुटतन्त्रका का समर्थक हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *