बुटवलस्थित सनराइज बहुउद्देश्यीय सहकारी संस्थाले ५ सयभन्दा बढी बचतकर्ताको करोडौं रुपैयाँ अपचलन गरेको खुलासा भएको छ। अध्यक्ष र कोषाध्यक्ष फरार भएपछि सहकारी कार्यालय बैशाख १ गतेदेखि बन्द गरिएको सूचनासहित एकाएक बन्द गरिएको छ। सहकारी पारिवारिक नियतका साथ दर्ता गरिएको र नियामक निकायको कमजोरीको फाइदा उठाउँदै कानूनविपरीत बचत संकलन गरिएको सहकारी अभियन्ताले जनाएका छन्।
बहुउद्देश्यीय सहकारी भए पनि दर्जनौं बजार प्रतिनिधिमार्फत दैनिक लाखौं संकलन गरिँदै आएको थियो। तर त्यो रकम कहाँ लगानी गरिएको भन्ने प्रष्ट छैन। अध्यक्ष आकाश भट्टराई र कोषाध्यक्ष वसन्त भट्टराई सम्पर्कविहीन छन्, उनीहरुले सामाजिक सञ्जाल पनि बन्द गरिसकेका छन्।
०७८ सालमा लुम्बिनी प्रदेशमा दर्ता भएको यो सहकारी बुटवल उपमहानगरपालिका-११, देवीनगरमा सञ्चालनमा आएको थियो । ०८१ चैत ३१ मा कार्यालय बाहिर सूचना टाँसी बन्द गरिएको हो। तर सो मितिसम्म पनि कर्मचारीहरू बजारबाट दैनिकी उठाइरहेका थिए, जसले पदाधिकारी मात्र होइन कर्मचारी पनि संलग्न रहेको आशंका बढाएको छ।
०७९ मा साधारणसभा गरे पनि त्यसयता सहकारीले सम्बन्धित निकायमा कुनै सम्पर्क राखेन। चार वर्षदेखि पैसा संकलन भइरहे पनि कति उठ्यो भन्ने विवरण छैन। दाङस्थित प्रदेश सहकारी कार्यालयमा कुनै उजुरी नपुगेको जनाइएको छ।
बचतकर्ता लक्ष्मण क्षेत्री भन्छन्, ‘एक वर्षदेखि अध्यक्ष कार्यालय नआएको थाहा पाएका थियौं, तर बजार प्रतिनिधि नियमित आउँथे । रकम फिर्ता माग्दा २ गते समय दिएका थिए, तर ३१ गते नै बन्द गरेर हिँडे। यसमा बजार प्रतिनिधिको पनि दोष छ ।’
कार्यालयमा टाँसिएको सूचनामा अध्यक्ष आकाश भट्टराई सम्पर्कविहीन रहेको, अध्यक्षको खोजी भइरहेको, र कर्मचारीको भरमा बजार सञ्चालन भएको उल्लेख गरिएको छ। उल्टै बचतकर्तालाई अध्यक्षको खोजीमा सहयोग गर्न अपिलसमेत गरिएको छ।
मुख्य संचालक सबै पारिवारिक
सहकारीका प्रमुख संचालकहरू सबै पारिवारिक छन्। अध्यक्ष आकाश र कोषाध्यक्ष वसन्त भट्टराई दाजुभाइ हुन्। उनीहरूको स्थायी ठेगाना स्याङ्जा, कालीगण्डकी गाउँपालिका–६ हो। उपाध्यक्ष रेशमराज भट्टराई, सचिव लक्ष्मी अधिकारी, तथा अन्य संचालक अमृता अर्याल, सुनिलप्रसाद भुसाल र रामप्रसाद न्यौपाने पनि आफन्त हुन्।
उपाध्यक्ष र सचिवले आफूहरूलाई जानकारी नभएको र पारिवारिक आग्रहमा जिम्मेवारी लिएको बताएका छन्। उनीहरूले नागरिकताको फोटोकपी दिएपछि मात्र नाम राखिएको दाबी गरेका छन्। सहकारी दर्ता गर्दा ३० संस्थापक सदस्य थिए, तर हाल कति सदस्य छन् भन्ने विवरण नियामकसँग छैन।
लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारी मधुकृष्ण पौडेल भन्छन्, “०७८ मा दर्ता भएको सहकारीको पहिलो वर्षको रिपोर्ट बाहेक अरु केही छैन। मासिक र वार्षिक रिपोर्ट बुझाउने कानुनी व्यवस्था छ, तर त्यसअनुसार गरिएको छैन।”
प्रदेश सहकारी रजिष्ट्रार टिकाराम पोखरेलका अनुसार नियत गलत राखेर सहकारी सञ्चालन गरिएको हो। नियामक निकाय कमजोर हुँदा स्थानीय सरकारले समन्वय गर्न सकेन।
बचतकर्तामै छैन सजकता
सनराइजमा ठगिएका धेरैजसो बचतकर्ता यसअघि सुप्रिम लगायतका समस्याग्रस्त सहकारीबाट पनि ठगिएका थिए। व्यवसायी दिलबिन्दु थापा र लक्ष्मण क्षेत्री दुबै सुप्रिम सहकारीका पीडित थिए । ‘सुप्रिममा ८ लाख फसेको थियो, यो पटक १ लाख डुब्यो,’ थापाले भने। यस्ता सहकारीमा संचालक र कर्मचारी दुबैको संलग्नता रहेको उनीहरूको भनाइ छ।
लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ अध्यक्ष कृष्णप्रसाद नेपालका अनुसार जिल्लाभन्दा बाहिर दर्ता भएर आएका सहकारीहरू कानूनविपरीत सञ्चालन भइरहेका छन्। हाल १४ बहुउद्देश्यीय र ९ बचत तथा ऋण सहकारी संकटमा छन्।
बुटवल वडा नं. ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री भन्छन्, ‘प्रदेशमा दर्ता भएर कानुनविपरीत बचत संकलन गरेका थिए। हामीले व्यवसाय दर्ताका लागि सूचित गरेका थियौं तर उनीहरू सम्पर्कमा आएनन् ।’
उनी भन्छन्, ‘जनता नै सजग हुनुपर्छ। सदस्य बन्नुअघि सहकारी र संचालकको पहिचान गर्न आवश्यक छ ।’
बुटवल उपमहानगरका सहकारी शाखा प्रमुख गुनाखर खनालका अनुसार नगरमा दर्ता भएका सहकारीमा समस्या छैन, तर अन्यत्र दर्ता भएर यहाँ सञ्चालन भएका सहकारीले समस्या पारेका छन्।
बचतकर्तालाई उजुरी दिनै समस्या
सनराइजका अधिकांश पीडित बुटवलमै छन्। तर सहकारी दाङमा दर्ता भएकाले उजुरी दिन त्यहाँ जानुपर्ने बाध्यता छ। इलाका प्रहरी कार्यालय बुटवलले सहकारी कार्यालयको पत्र नआएसम्म कारबाही गर्न नसकिने बताएको छ । दर्ता अधिकारी पौडेल भन्छन्, ‘हामीले उजुरी पाएपछि मात्र कारबाही प्रक्रिया अघि बढाउने हो ।’

Leave a Reply