काठमाडौं । पक्रिनुपर्ने मानिसले खुलेआम पत्रकार सम्मेलन गरेको छ । तर, पक्राउको जिम्मेवारी पाएको प्रहरी युनिट बेखबर ! शुक्रवार यस्तो घटना भएपछि केन्द्रीय प्रहरीले सीधै हस्तक्षेप गर्नुपर्ने अवस्था आयो ।
चैत १५ को राजावादी प्रदर्शनपछि फरार रहेका सन्तोष सिलवाल (राजावादी) पक्राउ प्रकरण हो यो । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले शुक्रवार राति कोटेश्वर, महादेवस्थानबाट पक्राउ गरेको छ ।
उक्त घटनापछि फरार रहेका कसुरदारको खोजी र पक्राउको जिम्मेवारी उपत्यका अपराध अनुसन्धान कार्यालयलाई थियो । मुद्दा चलाउने निकाय भएका कारण जिल्ला प्रहरी परिसर यसै पनि जिम्मेवार हुने नै भयो । तर, सिलवालले शुक्रवार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्ट्स क्लबमा पत्रकार सम्मेलन गर्दासम्म उनी त्यहाँ रहेको खबर ती दुवै युनिटले पाएनन् । खबर पुग्दा सिलवाल काम सकेर भागिसकेका थिए ।
त्यसपछि नक्सालस्थित प्रहरी हेडक्वार्टरमा हल्लीखल्ली मच्चियो । आईजी दीपक थापा शुक्रवार पोखरामा थिए । काठमाडौंका दुई महत्त्वपूर्ण युनिटले सिलवालबारे सूचनासम्म नपाउने तहको त्रुटि भेटिएको भन्दै उनले आफू मातहतको सिआईबीलाई सिलवाल पक्राउको आदेश दिए ।
यसअघि राजावादी प्रदर्शनसँग सम्बन्धित व्यक्तिको खोजी र पक्राउको जिम्मेवारी सिआईबीलाई थिएन । त्यहाँका प्रवक्ता एसपी सुधीरराज शाहीका अनुसार सिलवाललाई पक्राउ गर्न हेडक्वार्टरले दिउँसो आदेश दिएपछि मात्रै उक्त युनिटले काम शुरु गरेको थियो ।
‘दिनभरिको प्रयासपछि बेलुकी कोटेश्वरमा फेला परेको हो’, उनले भने । सिलवाललाई सिआईबीले राति नै जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाएको प्रवक्ता शाहीले बताए ।
चैत १५ को प्रदर्शनलाई उत्तेजक बनाउन भूमिका खेल्ने प्रमुख व्यक्तिमध्येका सिलवाल एक हुन् । राज्यविरुद्धको कसुर गरेको अभियोगमा उनका नाममा पक्राउ पुर्जी जारी गरिएको थियो ।
आइतबार बिहानै उनको म्याद थप हुने जिल्ला प्रहरी, भद्रकालीका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।

Leave a Reply