काठमाडौं । आईसीसी यु–१९ विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोटमा निर्णायक खेल नेपाल र अफगानिस्तानबिच हुँदै थियो ।
मूलपानीको तल्लो मैदानमा बिहान साढे ९ बजेबाट खेल सुरु हुने तालिका भए पनि बिहानैदेखि वर्षा भएपछि तोकिएको समयमा खेल सुरु हुने सम्भावना थिएन । बिहान पौने ९ बजे वर्षा रोकियो । त्यसपछि मैदानको कभर हटाउन थालियो ।
वर्षा रोकिएसँगै धेरैलाई लागेको थियो- ओभर घटाएर पनि खेल हुन्छ । वर्षा रोकिएपछि सबै ग्राउन्ड स्टाफ मैदानको कभरसँगै पानी हटाउन थाले । सामान्यता क्रिकेटमा वर्षा रोकिएको १ देखि २ घन्टाभित्र मैदान खेल्नका लागि तयार हुन्छ । सोहीअनुसार मूलपानी मैदान पनि ११ बजेभित्र तयार हुने धेरैको अनुमान थियो । तर, मैदान २ बजेसम्म तयार भएन । ग्राण्ड स्टाफको हरसम्भव प्रयास सफल हुन सकेन । अम्पायरले ३ पटकसम्म मैदानको निरीक्षण गरे ।
पछिल्लो पटक दिउँसो २ बजे निरीक्षणपछि मैदान भिजेको कारण खेल हुन नसक्ने जारी अम्पायरले गराए । त्यसपछि दुवै टोलीले एक-एक अंक बाँडे । रनरेटमा नेपाललाई पछि पार्दै अफगानिस्तानले सन् २०२६ मा हुने यु–१९ विश्वकपमा छनोट भयो ।
नवौँ पटक विश्वकप खेल्ने नेपालको सपनामा तुषारापात लाग्यो । अम्पायरले मैदानमा निरीक्षण गर्न जाँदा बाउन्ड्रीको भागमा पानी सुकाउने काम भइराखेको थियो ।

मैदानका भित्री भाग खेल्नका लागि योग्य भए पनि बाहिरी भाग भने सुकेको थिएन । त्यस कारण पनि अम्पायर खेल हुन नसक्ने निर्णयमा पुगे । बाउन्ड्रीको भागमा पानी जम्नका कारण उक्त समस्या आएको हो ।
मूलपानीको तल्लो मैदानमा यसै प्रतियोगिताबाट अन्तर्राष्ट्रिय खेल खेलाउने थालिएको हो । उद्घाटन भएको १७ वर्षपछि मूलपानीको तल्लो क्रिकेट मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल भएको हो ।

ग्राण्ड छोप्ने कुरामा म्यानेजमेन्टको तयारी नपुगेको क्यानका एक सदस्य स्वीकार्छन् । ‘तयारी नपुगेको जस्तो देखियो । पुरै ग्राण्डलाई कभरलाई छोप्न पाएको भए खेल हुन सक्थ्यो की भन्ने हो,’ ती सदस्यले भने, ‘ग्राण्ड स्टाफले त मिहेनत गर्नुभएकै हो ।’
पानीको मात्रा धेरै हुँदा खेल नहुन नसकेको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले बताए । ‘धेरै नै पानी परेको हो नि त । घरेलु खेल होइन, अन्तर्राष्ट्रिय खेल हो । कसैको करकावमा गर्ने कुरा रहँदैन नि त । खेल हुने स्थिति नहुँदै अम्पायरहरूले खेल रद्द गर्नुभएको हो,’ उनले भने ।
लामाले मैदानमा लेभलिङको पाटोमा काम गर्नुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘कति भागमा पानी जम्दो रैछ । त्यसको टेक्निकल कुराहरूमा ध्यान दिनुपर्यो । लेभलिङको पाटोमा, पानी किन जमिरहेको छ रु भन्ने कुरामा काम गर्नुपर्ने छ ।’


Leave a Reply