दाङको बस दुर्घटनामा दुई जनाको मृत्यु

रूपन्देही । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुघर्टनामा घोराही उपमहानगरपालिका–३ झिङ्गनी निवासी ३५ वर्षीय पुष्पा नेपालीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । उनको घटनास्थलमा बसले च्यापिएर मृत्यु भएको थियो । कृष्णनगरबाट तुलसीपुर जाँदै गरेको बस राप्ती गाउँपालिका–५ लठ्हवा नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

एक जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । दुर्घटनामा परेर १५ जना घाइते भएका छन् । बा ३ ख ७९९६ नम्बरको बस राप्ती–५ लठह्वामा दुर्घटनामा पर्दा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादवको उपचारको क्रममा मृत्यु भएको थियो ।

घाइतेहरूको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको स्थानीयले जनाएका छन् । दुर्घटनामा परेर प्यूठान नगरपालिका–६ निवासी २७ वर्षीया मनिसा गुरुङ्ग, उनकी बहिनी भावना गुरुङ्ग, सोही ठाउँकी ९५ वर्षीया सुमित्रा गुरुङ्ग, लमही–४ की २४ वर्षीया रासु थापा, घोराही उपमहानगरपालिका–१० निवासी ४२ वर्षीय ललित वली, शिवराज नगरपालिकाकी २८ वर्षीया सरस्वती घर्तीमगर, उनकी चार महिनाकी छोरी रिया घर्ती, लमही–५ निवासी २५ वर्षीया संगिता जिसी, घोराही–५ निवासी ५० वर्षीया चोपिकला खत्री, सोही ठाउँका ५० वर्षीय बलबहादुर खत्री घाइते भएका छन् ।

यस्तै शिवराज नगरपालिका–२ निवासी ४५ वर्षीया पिउमाली घर्ती, सोही ठाउँ निवासी २३ वर्षीया सवनम नाउ, प्यूठान नगरपालिका–३ निवासी ५ वर्षीय प्रभास गुरुङ्ग, लमही–५ निवासी २५ वर्षीय साहिद हुसेन घाइते भएको प्रहरीले जनाएको छ । कृष्णनगर नजिक रहेको भारतीय बजारमा किनमेल गरेर फर्किदै गरेकाहरु बसमा सवार थिए । १३ जनालाई थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ भने दुई जना प्राथमिक उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *