गुणाकर भट्ट नयाँ गभर्नर बन्ने लगभग निश्चित, योग्यताको प्रश्न आधारहीन !

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा डा.गुणाकर भट्ट नियुक्त हुने निश्चितप्राय देखिएको छ । राजनीतिक अनुकुलता र योग्यताको हिसाबले समेत उनको दावेदारी अन्य आकांक्षीभन्दा निकै बलियो देखिएको हो ।

सत्तारुढ दलहरुबीचको राजनीतिक खिचातानीले दुई सातादेखि गभर्नर नियुक्तीको विषय उल्झनमा परिरहेको थियो । तर, अहिले आएर एमाले र कांग्रेसबीच सहमति जुटेको स्रोतहरुले बताएका छन् । कांग्रेसको प्रस्तावमा भट्टलाई गर्भनर बनाउन प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएको स्रोतको भनाइ छ ।

शीर्ष तहमा सहमतिपछि भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा समेत दिइसकेका छन् । अबको मन्त्रिपरिषद् बैठकले अर्थशास्त्री डा. भट्टलाई गभर्नर नियुक्त गर्न सक्छ ।

पछिल्लो समय सरकारले डेलिभरी दिन नसकेको भनेर आलोचना बढिरहेका बेलामा राष्ट्र बैंकको गभर्नरमा विषय विज्ञ एवं योग्य व्यक्तिको खोजी भएको थियो । यो साताको सुरुदेखि नै गभर्नरमा डा. भट्टको चर्चा भएसँगै निजी क्षेत्र र नेप्सेमा समेत सकारात्मक तरंग आएको छ । बिहीबार मात्रै नेप्से करिब २९ अंकले बढेको थियो ।

अमेरिकी विश्वविद्यालयबाट मौद्रिक अर्थशास्त्रमा विद्यावारिधि गरेका भट्टसँग पटकपटक अर्थमन्त्रीको आर्थिक विज्ञ सल्लाहकार भई काम गरेको अनुभव छ । बैंकभित्र लामो समय आर्थिक अनुसन्धान विभागको प्रमुख रही कार्य गरेका उनलाई राष्ट्र बैंकभित्रै पनि विज्ञ कर्मचारीको रुपमा लिने गरिन्थ्यो ।

पछिल्लो समय गुणाकरको नाम चर्चामा आएसँगै उनको योग्यताको बारेमा पनि प्रश्न उठेका थिए । तर नेपाल राष्ट्र बैंकको ऐनको दफा हेर्दा भने उनको योग्यतासम्बन्धी प्रश्न नै आधारहीन देखिएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा गभर्नरको लागि स्पष्टसँग योग्यताहरुको बारेमा उल्लेख गरिएको छ ।

बैंकको कार्यकारी निर्देशक भई कार्य गरेको व्यक्ति गभर्नर बन्नका लागि योग्य हुने व्यवस्था सो दफाको खण्ड (ग) मा उल्लेख गरिएको छ । कानुनविद्हरु डेपुटी गभर्नर मात्र गभर्नर बन्न सक्ने भन्ने तर्कको कुनै कानुनी आधार नरहेको बताउँछन् । वरिष्ठ अधिवक्ता रेशमराज रेग्मीले हाल चर्चामा रहेका डा. भट्टको योग्यता नपुगेको भनेर चर्चा गर्नुको आधार नरहेको नेपाल प्रेसलाई बताए । उनले डा. भट्ट गभर्नरका लागि हरेक कोणबाट योग्य रहेको दाबी गरे ।

सोही ऐनको दफा २१ मा गभर्नर हुन अयोग्यतासम्बन्धी व्यवस्था समेत रहेको छ । जसमा वाणिज्य बैंक वा वित्तीय संस्थाको बहालवाला पदाधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर तथा सञ्चालकमा नियुक्त हुन नसक्ने व्यवस्था रहेको छ । सो व्यवस्थाले कार्यकारी निर्देशक गभर्नर पदमा नियुक्त हुन नरोकेको रेग्मीको भनाइ छ ।

यसरी कानुनी व्यवस्थामा द्विविधा नहुँदा नहुँदै आफ्नो अयोग्यताको प्रश्न उठाएकोमा स्वयं भट्ट पनि असन्तुष्ट देखिएका छन् । नेपाल प्रेससँगको कुराकानीका क्रममा उनले नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि आफू अयोग्य रहेको भन्ने कुरामा सत्यता नरहेको बताए ।

नेपाल राष्ट्र बैंकका कानुन विभागका एक अधिकारी पनि डा. भट्टको योग्यतासम्बन्धी प्रश्न उठाउनुको पछि कुनै कानुनी आधार नरहेको बताउँछन् । ‘योग्य, सक्षम, इमान्दार र विषय विज्ञलाई अयोग्य भन्नु कानुनप्रतिको निष्ठा त्यागेर स्वार्थमा प्रेरित हुनु मात्रै हो’ ती अधिकारीले भने ।

गभर्नर पद कुनै बढुवा हुने पद नभई सरकारले नियुक्त गर्ने पद हो । यसमा ऐनले तोकेको योग्यता पुगेका व्यक्तिलाई सरकारले उचित ठानेमा पाँच वर्षका लागि नियुक्त गर्न सक्ने प्रावधान रहेको छ । त्यसैले यसमा पदीय ज्येष्ठताभन्दा पनि योग्य व्यक्ति छनोट गर्नु उचित हुने विज्ञहरुको तर्क छ । पछिल्लो समय नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी एफएटीएको ग्रे लिस्टमा परिरहेको बेलामा योग्य र स्पष्ट गर्भनर नियुक्त गर्न सरकारलाई विज्ञहरुले सुझाव दिँदै आएका छन् ।

Comments

One response to “गुणाकर भट्ट नयाँ गभर्नर बन्ने लगभग निश्चित, योग्यताको प्रश्न आधारहीन !”

  1. छवि शर्मा Avatar
    छवि शर्मा

    अस्ट्रेलियाको पि आर लिएको एउटा फटाहा, घुस्याहा अनि माडेको वफादार नोकर हातमा ४० करोड बोकेर हिँडिरहेको छ। अल्झाउने, बल्झाउने, अनावश्यक मुद्दा हाल्ने त्यै फटाहाको काम हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *