धवल समशेर कम्तीमा आइतबारसम्म नछुट्ने, प्रक्रिया सुरु नभएको प्रहरीको भनाइ

काठमाडौं । राप्रपा महामन्त्री धवल समशेर राणालाई हिरासतमुक्त गर्ने प्रक्रिया नै सुरु नभएको प्रहरीले जनाएको छ ।

गृह मन्त्रालय वा अन्य कुनै निकायबाट उनलाई हिरासतमुक्त गर्नु भन्ने आदेश शुक्रबार बेलुकीसम्म पनि पनि प्रहरीले पाएको छैन । जिल्ला प्रहरी, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले त्यस्तो कुरा कुरा अहिलेसम्म कतैबाट नआएको बताए । ‘हामीलाई भन्नुपर्ने सरकारी वकिलको कार्यालयबाट हो, केही कुरा आएको छैन’, उनले भने ।

चैत १५ को तीनकुने आन्दोलनपछि पक्राउ परेका महामन्त्री राणालाई स्वास्थ्योपचारका निम्ति हिरासतमुक्त गरिने गृह मन्त्रालयस्रोतले जनाएको थियो । उनलाई मन्त्रालयस्तरीय निर्णयबाट छोड्न लागिएको स्रोतले बताएको थियो ।

तर, उनलाई छोड्नुपर्ने निकायमा कुनै खबर छैन ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार म्याद थपेर हिरासतमा राखिएका कुनै पनि थुनुवालाई कुनै निर्देशन वा आदेशको आधारमा यत्तिकै छोडिदिने कानुनी सुविधा आफूहरुसँग नभएको बताए । ‘प्रक्रिया पूरा गर्नुपर्छ र त्यो प्रक्रिया भन्नेबित्तिकै सकिने होइन’, उनले भने ।

शुक्रबार बेलुकीसम्म उनलाई छोड्ने कुनै सुरसार नभएपछि अब आइतबारसम्म केही नहुने प्रहरीको भनाइ छ । शनिबार सरकारी वकिलको कार्यालय छुट्टी हुने कारण प्रशासनिक काम गर्न सकिँदैन । यसर्थ राणा छुट्ने नै हुन् भने पनि कम्तीमा आइतबारसम्म सम्भावना नरहेको प्रहरी बताउँछ ।

जिल्ला प्रहरी प्रवक्ता बोहराका अनुसार यदि सरकारी वकिलबाट ताकेता आएमा अनुसन्धान अधिकृतले राय माग्ने र कानुनी व्यवस्थाअनुसारका प्रक्रिया पूरा हुनुपर्छ । तर, त्यस्तो कुनै नआएको अवस्थामा केही भन्न नसकिने उनको भनाइ छ ।

कानुनी व्यवस्थाअनुसार म्याद थप गरी मुद्दा चलाइएका व्यक्तिलाई कुनै कारणले थुनाबाहिर राख्नुपर्ने भएमा अनुसन्धान अधिकृतले सरकारी वकिलको राय लिएर छोड्न सक्छन् । त्यसका लागि मुद्दा चलाउने सम्बन्धित प्रहरीकार्यालयका अनुसन्धान अधिकृतले सरकारी वकिलसँग राय माग गर्नुपर्छ । त्यसपछि हाजिर जमानीमा छाड्न सकिने अवस्था हुन्छ ।

चैत १५ मा तीनकुने, कोटेश्वरलगायतका क्षेत्रमा भएको राजावादी प्रदर्शनलाई उत्तेजक तथा हिंसात्मक बनाउने काममा प्रेरक भूमिका खेलेको भन्दै प्रहरीले राणासहितका व्यक्तिलाई सोही राति पक्राउ गरेको थियो । उनलाई राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दा चलाइएको छ ।

राप्रपा महामन्त्री राणा क्यान्सर सर्भाइभर हुन् । केही महिनाअघि गिजाको क्यान्सर भएपछि उनले मुम्बइमा गएर उपचार गरेका थिए । उनले उपचारको फलोअपका लागि जान ढिलाइभएको परिवारजनले बताइरहेका छन् ।

Comments

One response to “धवल समशेर कम्तीमा आइतबारसम्म नछुट्ने, प्रक्रिया सुरु नभएको प्रहरीको भनाइ”

  1. RK Avatar
    RK

    त्यस्ता रोगी ‘ मानसिक सन्तुलन ठिक नभएका ‘ बोलीको प्रस्तता नभएका पनि के राजावादीका नाइके बन्नु ? स्वस्थ व्यक्ति नभएकै हो र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *