सरकार विचौलियाको चङ्गुलमा छ, भ्रष्टाचारको संरक्षण गरिरहेको छ: प्रचण्ड

रुपन्देही । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विचौलियाको चङ्गुलमा परेको आरोप लगाएका छन्।

कपिलवस्तुको बहादुरगञ्जमा आयोजित तराई–मधेश हुलाकी जागरण अभियानको सभालाई सम्बोधन गर्दै प्रचण्डले सत्ता साझेदार दलका नेताहरु मात्रै होइन सरकारकै मन्त्रीहरू असन्तुष्ट भएको र सरकारले आफ्नो बोझ आफैं सम्हाल्न नसक्ने अवस्थामा पुगेको बताए।

उनले केही विचौलियाहरूको चलखेलले विकास निर्माणका कार्यहरू अवरुद्ध भइरहेको जिकिर गरे। ‘देशमा विकासको गति तीव्र बनाउन विचौलियाहरूको हस्तक्षेप रोक्न जरुरी छ,’ प्रचण्डले भने।

उनले अहिलेको सरकार भ्रष्टाचारीहरूलाई संरक्षण दिन बनेको आरोप पनि लगाए। प्रचण्डले कुलमान घिसिङ लगायतका योग्य व्यक्तित्वहरूलाई हटाएर सरकार गलत कार्यमा लागेको आरोप लगाए। योग्य कर्मचारीहरू हटाएर भ्रष्टाचारी र आसेपासे नियुक्त गरिएको उनको भनाइ थियो।

सभामा प्रचण्डले झापाबाट सुरु गरिएको हुलाकी जागरण अभियानले माओवादी केन्द्रभित्र नयाँ ऊर्जा र उत्साह ल्याएको दाबी गरे। उनले आफू भारत गएपछि हुलाकी मार्ग निर्माणको मार्ग प्रशस्त भएको उल्लेख गर्दै उक्त मार्ग नागरिकको आर्थिक समृद्धिसँग जोडिएको बताए। प्रचण्डले आफ्नो कार्यकालमा भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाएको स्मरण गराउँदै अहिले भूमाफियाहरूले राज्यको जमिन कब्जा गरी करोडौं रुपैयाँको लुटतन्त्र चलाइरहेको आरोप लगाए।

किसानलाई प्राथमिकतामा नराखी देशको समृद्धि सम्भव नहुने बताउँदै उनले किसान हितमा ठोस काम गर्न सरकारसँग माग गरे।
भारतसँगको सम्बन्ध सुधार र चीन भ्रमणको क्रममा बन्द रहेका नाका खोल्ने सम्झौता गरेको जानकारी पनि उनले कार्यक्रममा दिए। अन्त्यमा, देशमा स्थायित्व र समृद्धिका लागि राजनीतिक शुद्धता र इमानदारी आवश्यक रहेको उनले स्पष्ट पारे।

कार्यक्रममा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रहिस शाह, पूर्व सांसद इलियास मुसलमानलगायत नेता र कार्यकर्ता प्रवेश गरेका छन् । प्रचण्ड बिहीबार कपिलवस्तुमा आएका हुन् ।

 

Comments

2 responses to “सरकार विचौलियाको चङ्गुलमा छ, भ्रष्टाचारको संरक्षण गरिरहेको छ: प्रचण्ड”

  1. ksp pyl Avatar
    ksp pyl

    नेपालको सबैभन्दा ठूलो भ्रष्टाचारी र विदेशीको एजेण्ट को हो भनेमा एक एक जनताले कस्को नाम लेलान ?

  2. ksp pyl Avatar
    ksp pyl

    ठग ठेकेदारकोमा रहस्यमय तरिकाले बसेको को हो भनेमा जनजनले भनिदिनेछन् । धेरै नखोकौं । आफ्नै धोती खुस्किरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *