काठमाडौं । नेपाल राष्ट्र बैंकका २ जना कार्यकारी निर्देशकको राजीनामा स्वीकृत भएको छैन । आज राजीनामा दिएका कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत हुने प्रक्रियामा रहेको छ ।
भने, यसअघि नै राजीनामा दिएर नयाँ गभर्नरको दौडमा रहेका डा. प्रकाश श्रेष्ठको पनि राजीनामा स्वीकृत भइसकेको छैन । भट्ट र श्रेष्ठ नयाँ गभर्नरका दाबेदार हुन् भने, कामु गभर्नर निलम ढुगानले पनि नयाँ गभर्नरको बलियो दाबेदार हुन् ।
भट्टले पदबाट राजीनामा दिएर स्वीकृत नभएको हल्ला भए पनि उनको राजीनामा स्वीकृतको प्रक्रियामा रहेको छ । कामु गभर्नर निलम ढुगानाले कार्यकारी निर्देशक भट्टको राजीनामा आएको र त्यो प्रक्रियामा रहेको बताइन् ।
उनले नेपाल प्रेससँग भनिन्, ‘कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा आएको छ । राजीनामा आएपछि त्यो प्रक्रियामा गएर स्वीकृत हुने होला नि ? त्यसको पनि प्रक्रिया होला । प्रक्रिया पुरा गरेर राजीनामा स्वीकृत हुन्छ । यसभन्दा अघि राजीनामा दिएका कार्यकारी निर्देशको पनि स्वीकृत भएको छैन ।’
दुई जना डेपुटी गभर्नरलाई भन्दा कार्यकारी निर्देशकलाई गभर्नर बनाउन सरकार लागेको हल्ला आउँदा राष्ट्र बैंकभित्रै हल्लाखल्ला भएको छ । एक जना कार्यकारी निर्देशकले भने, ‘सबै कार्यकारी निर्देशक जति गभर्नर बन्न राजीनामा दिने हो भने काम गर्नै समस्या हुन्छ । राज्यले पनि यस्ता कुरा विचार गर्नुपर्छ । नेपाल राष्ट्र बैंकमा भएका सबै कार्यकारी निर्देशकले आफ्नो तरिकाले नयाँ गभर्नर बन्न लबिङ गरेर जागिरबाट राजीनामा दिए भने समस्या आउँछ की भन्ने प्रश्न पनि उठ्न थालेको छ ।’

Leave a Reply