लागूऔषध ब्राउन सुगरसहित सुनसरीबाट ११ जना पक्राउ

विराटनगर । लागूऔषध ब्राउन सुगार सहित सुनसरीबाट ११ जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीको संयुक्त टोलीले ११ जनालाई पक्राउ गरेको हो।

संयुक्त प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका वडा नं. १ पुरीटोल र भोक्राहा नर्सिङ गाउँपालिका वडा नं. ६ ढलान रोडमा चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट ३५.२० ग्राम लागू औषध ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमध्ये सबैभन्दा बढी धरान उप महानगरपालिका वडा नं. १० का २७ वर्षीय निरन श्रेष्ठको साथबाट १२.७० ग्राम ब्राउन सुगर बरामद भएको छ।

त्यस्तै, सुन्दर हरैचा गाउँपालिकाका अजित श्रेष्ठबाट ४.२४० ग्राम, प्रेम कुमार राईबाट ३.६२० ग्राम, मिलन तामाङबाट ३.२४० ग्राम ब्राउन सुगर बरामद गरिएको छ।

उनीहरू बाहेक पर्वत यादव, करण चौधरी, रोमन चापागाईँ र अनिल खवास समेत पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेका दुई जना सरोज विश्वकर्मा र दीपेश तामाङको साथबाट भने कुनै लागू पदार्थ फेला नपारेको जनाएको छ।

सबै पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। प्रहरीका अनुसार उनीहरूमाथि लागू औषध नियन्त्रण ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइने छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *