काठमाडौं । नेपाल प्रहरीको ३२ औं आईजी को होला ? बिहीबार प्रकाशित एआईजी बढुवा सिफारिसपछि यो चासाे व्यापक बनेको हो ।
यो सिफारिसले नेपाल प्रहरीले राष्ट्रिय अनुसन्धान (राअ) विभागबाट सेवा परिवर्तन गरेका अधिकृतलाई संगठन प्रमुख नबनाउने सन्देश र संकेत दिएको छ ।
आगामी जेठमा रिक्त हुने एक एआईजीमा बढुवा दावेदारमध्ये सोही टोली अगाडि छ । सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकमध्ये एक एआईजी त बन्छन् । तर, आगामी आईजी बन्ने कुरालाई उक्त बढुवाले निर्धारण गर्दैन ।
विद्यमान कानुनी व्यवस्थाअनुसार ३० वर्षे सेवा अवधि कायम रहेमा आउने साउन १७ गते वर्तमान आईजी दीपक थापाको अवकाश हुन्छ ।
यदि त्यस्तो भएमा उनकै व्याच, तर २ महिना ढिलो नियुक्तिपत्र पाएका चन्द्रकुवेर खापुङ वा कृष्णहरि शर्मा पोखरेलको आईजी बन्ने बाटो खुल्छ । जो हुन्छ, उनले कात्तिक २६ सम्म उक्त पद सम्हाल्ने छन् ।
यद्यपि सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गर्दै चालु आर्थिक वर्षभित्र प्रहरी कानुनहरुको संशोधन गर्न भनेको छ । संसदमा विचाराधीन प्रहरी विधेयकमा अवकाशको विद्यमान ३० वर्षे सेवा हदको प्रावधान छैन ।
उमेर र पदावधिमध्ये जे पहिला आउँछ, त्यस आधारमा अवकाश व्यवस्था गरिएको छ । त्यसो हुँदा लालमणि आचार्यबाहेक ४ एआईजी पदावधि पूरा गरी तीन वर्षपछि अवकाश हुन्छन् ।
हालका आईजी थापाले ३ वर्षे पदावधि पूरा गर्दा २०८४ चैत ३ गते पुग्छ ।
त्यसबीचमा सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर र उमाप्रसाद चतुर्वेदीले उमेरका कारण अवकाश पाइसकेका हुन्छन् । तसर्थ, दानबहादुर कार्की, राजन अधिकारी वा डा.मनोजकुमार केसीसँग ३२ औं आईजी बन्ने सुविधा प्राप्त छ ।
आज एआईजी सिफारिस भएकामध्ये लालमणि आचार्य जेठ ११ गते उमेरहदका कारण अवकास हुन्छन् । खापुङ, आचार्य र शर्मा २०५२ कात्तिक २७ मा प्रहरी निरीक्षकमा नियुक्त भएका हुन् ।

Leave a Reply