‘सञ्चारिका समानता पुरस्कार २०८०’ पत्रकार धनु विश्वकर्मालाई, अरु कसलाई के पुरस्कार ?

काठमाडौं । ‘सञ्चारिका समानता पुरस्कार, २०८०’ पत्रकार धनु विश्वकर्मालाई प्रदान गरिने भएको छ । सञ्चारिका समूह नेपालले स्थापना गरेको उक्त पुरस्कार हिमाल खबर पत्रिकामा प्रकाशित ‘छाउगोठमा महिनावारी बस्दा १७ वर्षमा १६ जनाको गयो ज्यान’ शीर्षकको फिचर समाचारका लागि विश्वकर्मालाई प्रदान गर्ने निर्णय भएको सञ्चारिका समूहले जनाएको हो ।

उक्त फिचर २०८१ असोज २३ गतेको हिमालखबर पत्रिकामा प्रकाशित भएको थियो । सञ्चारिका समानता पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।

तीन सदस्यीय पुरस्कार छनौट समिति गठन गरी छनौट गरिएका फिचर समितिलाई उपलब्ध गराईएको सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवाले जानकारी दिइन् । उनका अनुसार छनौट समितिले समाचार, लेख, फिचरको शैली, विषयवस्तु, सन्देश, लैङ्गिक संवेदनशीलता, अन्वेषणजस्ता विषयवस्तुलाई आधार बनाएर मूल्याङ्कन गरेको हो ।

साथै छनौट तथा मूल्याङ्कन प्रक्रियालाई निष्पक्ष बनाउनका लागि छनौट समितिलाई समाचार उपलब्ध गराउँदा पत्रकार र पत्रिकाको नाम समेत नखुलाइएको सञ्चारिका समूहले जनाएको छ ।

‘समानताका लागि सञ्चार’ भन्ने आफ्नो मूल नारालाई सफल रूपमा अघि बढाउने उद्देश्यले सञ्चारिका समूहले २०५७ सालदेखि हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।

यसैगरी ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०८०’ धनुषाकाे जनकपुरबाट पत्रकारिता गर्दै आएका पत्रकार सपनाकुमारी कर्णलाई प्रदान गरिने भएको छ । पत्रकार कर्ण जनकपुर जिल्लाको अप्पन टिभीमा कार्यरत रहेका छन् । उक्त पुरस्कार स्व. पत्रकार उमा सिंहको नाममा स्थापना गरिएको हो । उक्त पुरस्कार पत्रकार महिलालाई पेशामा थप उत्साह बढाउनका लागि २०६६ सालमा स्थापना गरिएको थियो भने पुरस्कारको राशि १० हजार रहेको छ ।

यसैगरी ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०८०’ इन्डिजिनियस टेलिभिजनमा कार्यरत पत्रकार डोल्मा शेर्पा र रातोपाटी डटकममा कार्यरत सरिता थारुलाई प्रदान गर्ने निर्णय भएको छ ।

छोटो अवधिमा सक्रिय भई पत्रकारिता गर्ने पत्रकार महिलालाई पेशामा थप उत्साह बढाउन सहयोग पु¥याउने उद्देश्यले २०६२ सालमा ‘सञ्चारिका प्रोत्साहन पुरस्कार’ स्थापना गरिएको हो ।

यस्तै ‘सञ्चारिका अग्रणी सम्मान २०८०’ वरिष्ठ पत्रकार डा.हरिकला अधिकारी र वरिष्ठ पत्रकार उषा लोहनीलाई प्रदान गर्ने निर्णय भएको छ । घोषणा भएका सबै पुरस्कार र सम्मान शुक्रबारका दिन काठमाडौंमा हुन लागेको सञ्चारिका समूह नेपालको नवौं महाधिवेशनका अवसरमा सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रबिधि मन्त्री पृथ्वीसुब्बा गुरुङबाट प्रदान गरिने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *