काठमाडौं । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्स (फ्याक्ट्स नेपाल) ले नेपालका विभिन्न क्षेत्रहरूको जानकारी र तथ्यांक संकलन गरी तयार पारेको १० औं संस्करणको वार्षिक पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक गरेको छ ।
नेपालको प्रमुख क्षेत्रहरु तथा प्रवृत्तिको गहिरो अध्ययन र विश्लेषण गरी संकलन गरिएको तथ्यांकहरुको यस संग्रहले पाठकहरुलाई विभिन्न क्षेत्रगत विषयहरुमा गहिरो अन्तरदृष्टि प्रदान गर्नेछ ।
डेटा र इन्फोग्राफिक केन्द्रित यस पुस्तकमा क्षेत्रगत तथ्यांकको अन्तरदृष्टि र विश्लेषण समावेश गरिएको प्रकाशकले जनाएको छ । ।
पुस्तकमा नेपाल प्रोफाइल, प्रादेशिक प्रोफाइल, समष्टिगत आर्थिक परिदृश्य, प्रमुख आर्थिक क्षेत्रहरु, पूर्वाधार र संचार, सामाजिक आयामहरु, सार्वजनिक सुरक्षा, लगायतका ८ खण्डहरु तथा ६४ उपखण्ड समेटिएका छन् ।
यस संस्करणको पुस्तकमा नेपाल प्रोफाइल र प्रादेशिक प्रोफाइल खण्ड तथा वि.स २०७२ सालको भूकम्प र कोभिड–१९ माहामारी पछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई छुट्टै खण्डमा विभिन्न क्षेत्रगत तथ्यांकबाट चित्रित गरिएको छ ।
स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीको रूपमा रहेको फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्स (फ्याक्ट्स नेपाल) ले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरू सञ्चालन गर्नुको साथै आफ्नो स्थापनाकाल (२०१२) देखि नै सामाजिक सञ्जाल र छापा माध्यममार्फत् आम जनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्यांकीय चित्रहरू प्रस्तुत गरिरहेको छ ।
संस्थाले नेपालको अनुसन्धान क्षेत्र तथा संस्कृतिमा उल्लेखनीय भूमिका निर्वाह गरेको जनाएको छ । संस्थाले विभिन्न छलफल र इन्फोग्राफिक्समार्फत राष्ट्रिय टेलिभिजन, समाचारपत्र, जर्नल, र अनलाइन समाचार पोर्टल जस्ता विभिन्न मिडिया आउटलेटहरूसँग सहकार्य गरी तथ्यांक र तथ्यहरू सार्वजनिक गर्ने गर्दछ ।
पुस्तकको मूल्य रू. ५०० तोकिएको छ । पाठकहरुका लागि ‘फ्याक्ट्स अफ नेपाल २०२५’ पुस्तक thuprai.com मा खरिदका लागि उपलब्ध हुनेछ भने पुस्तकको वितरण साझेदार कथालय रहेको छ । प्रक्षेपण सम्झौताको रूपमा, यसमा निश्चित समयको लागि ३० प्रतिशत छुट पनि उपलब्ध छ ।

Leave a Reply