अस्पतालमा ज्यान गुमाएको एक वर्षपछि भीमालाई ‘न्याय’- डाक्टरबाट क्षतिपूर्ति भराउन अदालतको आदेश

सुर्खेत । दैलेखको आठबिस नगरपालिका-५, पिपलकोटबाट २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीको मृत्यु भएको एक वर्षपछि अदालतले क्षतिपूर्तिको फैसला सुनाएको छ ।

२०८० चैतमा पेट दुखेर निजी अस्पताल हुँदै प्रदेश अस्पताल पुगेकी उनलाई प्रसूतिको क्रममा पाठेघरमा सालनाल बाँकी रहेको भन्दै डाक्टरहरूले पाठेघर सफा गर्नुपर्ने बताएका थिए । अपरेसनका लागि तयारी गर्दागर्दै उनलाई मृत घोषणा गरियो ।

०८१ वैशाख १७ गते जेठाजु धनबहादुर मगरले अधिवक्ता शेरबहादुर खत्रीको साथमा अस्पतालका तत्कालीन निर्देशक डम्बर खड्का र अपरेसनमा संलग्न डा. ललितजङ्ग शाहीविरुद्ध मुद्दा हाले ।

डाक्टरहरूको लापरबाही, त्रुटिपूर्ण अपरेसन र हेलचेक्र्याइँका कारण भीमाको ज्यान गएको जिकिरसहित उनीहरूले क्षतिपूर्तिको माग गरे । र, ठिक एक वर्षपछि ०८१ साल चैत २९ गते, सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीपक ढकालले फैसला सुनाए- भीमाका पति र छोरीलाई प्रतिवादीहरूबाट १५ लाख रूपैयाँ क्षतिपूर्ति भराउनू ।

`भीमा फर्किँदिनन्, तर कम्तीमा न्यायको अनुभूति भयो,’ जेठाजु धनबहादुरले भने ।

त्यतिबेलाको घटना सम्झिँदै धनबहादुर भन्छन्, `हामी बाहिर पर्खिरहेका थियौं । एक्कासि रगत चाहियो भनेर मागे । केही समयमै शव बुझ्न भनियो ।` उनी भन्छन्, हिँडेरै आएकी मान्छे कसरी बितिन् ? पत्याउन सक्ने अवस्था थिएन ।’

अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलका अनुसार प्रतिवादीहरूबाट क्षतिपूर्ति भराइने ठहरसँगै कर्णाली प्रदेश अस्पतालमा देखिएको गैरजिम्मेवारीपनमाथि पनि प्रश्न उठेको छ ।

भीमाको मृत्यु डाक्टरको लापरवाहीले भएको भन्दै आफन्तले अस्पतालमा आन्दोलन गरेका थिए । एक महिनापछि उनीहरूले शव बुझेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *