महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुनेगरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी

सुर्खेत। महिला स्वास्थ्य स्वयंसेवीको सेवालाई कदर हुनेगरि बजेट तथा कार्यक्रममा सम्बोधन गरिने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रतिवद्धता जनाएका छन्।

बिहिबार मन्त्री भण्डारीलाई माग तथा सुझाव पेश गर्न पुगेका नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा)मा आवद्ध सुर्खेतस्थित स्वयंसेवीहरूसँग प्रतिवद्धता जनाएका हुन्।

नागरिकको स्वास्थ्य उपचार तथा प्रवर्द्धनमा स्वयंसेवीहरूको भूमिका उल्लेखनिय रहेको बताउँदै उनिहरूलाई राज्यका निकायबाट कदर हुन नसकेकोबारेमा आफु जानकार भएको बताए।

त्यसका लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा आफ्नो प्रस्तावमा कार्यविधि संशोधन गर्नेबारे छलफल भएको जानकारी गराए। कार्यविधि संशोधन भई कार्यान्वयनमा आएपछि न्यूनतम् पारिश्रमिक र थप सहुलियत प्राप्त हुने विश्वास व्यक्त गरे।

कर्णाली प्रदेश स्थित स्वास्थ्य सम्बन्धी कार्यक्रममा स्वयंसेवीलाई सहभागिता गराउँदा न्यूनतम् पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिइएको समेत जानकारी दिए।

साथै, नेभाको तर्फबाट दिइएको सुझावलाई ग्रहण गर्दै आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वयंसेवीहरूद्वारा प्रदान गरिने सेवालाई सहज बनाउँदै उनिहरूको सेवालाई कदर हुनेगरि सम्बोधन गरिने प्रतिवद्धता समेत व्यक्त गरे।

यस्तै, स्वयंसेवीहरूले ६० वर्ष उमेर पुगेका स्वयंसेवीहरूको जीवनलाई टेवा दिन प्रति वर्षको ३० हजारको दरले एकमुष्ट रकम उपलब्ध गराउनुपर्ने, क्षमता अभिवृद्धिका लागि समयसापेक्ष तालिमको व्यवस्था, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकरण गरी कोषमा रकम जम्मा गरिदिनुपर्ने, चाडपर्व खर्च बापत २० हजार बराबरको रकम उपलब्ध गराउनुपर्ने, मासिक प्रतिवेदन वापत सात हजार रूपैँया उपलब्ध गराउनुपर्ने लगायतका माग तथा सुझावहरू पेश गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *