भरतपुरको विकास आइकन ६ लेन सडक- शिलान्यास र उद्घाटनको संयोग ओलीलाई, धर्मसंकटमा रेनु

चितवन । चितवनको भरतपुर महानगरपालिकाको ६ लेन सडक अहिले यहाँको विकास देखाउने विकास आइकन बनेको छ । भरतपुरको गोन्द्राङदेखि पुल्चोकसम्म ६ किलोमिटर सडकको बीचमा चार लेन र दुवै साइडतर्फ थप १/१ सर्भिस लेन तयार गरिएको छ ।

सडकको दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ ।

सर्भिस लेनबाहिर दुवैतर्फ तीनदेखि चार मिटरको फुटपाथ बनाइएको छ । मेडियनमा दुबो लगाउने र आकर्षक फूलहरूका बिरुवा रोपिएको छ । सडकमा ट्राफिक चिह्न राख्ने, जेब्राक्रसलगायत लाइनिङका काम गरिएको छ ।

भरतपुरको सहरको विकास आइकन मानिएको सडक निर्माण त लगभग पूरा भइसकेको छ । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार अब ट्राफिक लाइटको काम बाँकी छ ।

तर, योसडक भरतपुरको विकास आइकन मात्रै होइन यहाँको राजनीतिक जसको तानातानमा समेत परेको छ । रमाइलो त के छ भने ६ लेन सडक निर्माण थालनी र नेकपा फुटको थालनी एकै समय भएको थियो । तत्कालीन नेकपाका अध्यक्ष मध्ये एक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७७ माघ १७ मा प्रधानमन्त्रीको हैसियतमा उनले सडक विस्तारको शिलान्यास गरेका थिए ।

नेकपा फुटको संघारमा रहेको त्यो समयमा तत्कालीन भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको पहिलो कार्यकाल चलिरहेको थियो । आफ्नो क्षेत्र भित्र राष्ट्रिय आयोजनामा समेटिएको सडक विस्तारको शिलान्यास समारोहमा मेयर दाहाल उपस्थित भइनन् । शिलान्यासपछि तत्कालीन प्रधानमन्त्री ओलीले नै मञ्चबाट भाषणको क्रममा उपस्थित नागरिकहरूलाई सोध्दै व्यङ्ग्य गरेका थिए, अहिले तपाईँहरूको मेयर कहाँ हुनुहुन्छ थाहा छ ? उहाँ आज पिकनिक खान जानुभएको छ ।

शिलान्यासमा मेयर अनुपस्थित भए पनि सडक निर्माणको काम अघि बढ्यो । डिभिजन सडक कार्यालयले संघीय बजेटमा सडक निर्माण अघि बढायो । २८ महिनाभित्र काम सक्ने गरी २०७७ असोज २६ मा ठेक्का सम्झौता भएको थियो । तर, पटक पटक म्याद थप गर्दै काम सम्पन्न गर्दा सडक विस्तार २०८१ पुसमा सम्पन्न भएको हो । निर्माण कम्पनी सगुन कन्स्ट्रक्सन प्रालिले सम्झौता अनुसार २०७९ माघमा सडक विस्तारको काम सकिनुपर्ने थियो ।

सुरुमा एक अर्ब १२ करोड रुपैयाँमा काम सक्ने गरी सडक विस्तारको सम्झौता भए पनि पछि लागत बढेर एक अर्ब ७६ करोड रुपैयाँ पुगेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

अहिले सडक निर्माणको काम ट्राफिक लाइट जडान बाहेक सम्पन्न भएको छ । संयोग के भयो भने यस सडकको उद्घाटन गर्न पुनः प्रधानमन्त्रीको हैसियतमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नै आउने भएका छन् । भोलि अर्थात् वैशाख ५ गते यो सडकको उद्घाटन लगायतका केही औपचारिक कार्यक्रमका लागि प्रधानमन्त्री ओली चितवन आउँदैछन् ।

प्रधानमन्त्री चितवन आउने भएपछि माओवादी विचारधारा राख्ने मानिसहरूले रेनु दाहालको अगुवाइमा सम्पन्न गरेको सडक भन्दै सामाजिक सञ्जाल मार्फत आलोचना गरिरहेका छन् । भने एमाले लगायतका अन्य दलहरूले संघीय सरकारको बजेटमा भएको सडक विस्तारलाई एउटा मेयरले गरेको विकास भन्न नहुने तर्क गरिरहेका छन् ।

अहिले पनि एमाले माओवादीको सम्बन्ध सङ्लिएको संकेत देखिएको छैन । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले त चितवन नै आएर नयाँ वर्षसँगै यो सरकार फेरिने समेत दाबी गरेर काठमाडौँ समेत फर्किन भ्याएका छैनन् । यस हिसाबले हेर्दा यो सडक विकास आइकन मात्रै होइन भरतपुरको राजनीतिक प्रतिस्पर्धाको समेत आइकनको रूपमा मानिएको छ ।

नेकपा एमालेका जिल्ला नेता तथा कार्यकर्ता प्रचारात्मक शैलीका कार्यक्रम गरिरहेका छन् । उनीहरूले उक्त कार्यक्रमको पूर्व सन्ध्यामा आज दिउँसो सोही सडक क्षेत्रमा मोटरसाइकल र्‍यालीको समेत आयोजना गरेका छन् ।

यही पृष्ठभूमिममा प्रचण्डकी छोरी समेत रहेकी भरतपुर महानगर प्रमुख रेनु दाहाल प्रधानमन्त्री आउने सडक उद्घाटन समारोहमा उपस्थित होलिन्, नहोलिन् भन्ने आशंका पनि छँदैछ । मान्छेहरूले अहिले पनि रेनु दाहाल उक्त कार्यक्रममा सहभागी हुन्नन् भन्ने आँकलन गरिरहेका छन् ।

मेयर रेनु सडक उद्घाटनमा जान्छिन् ?

भरतपुरको ६ लेन सडक एशियाली डेभलपमेन्ट बैंकको सहयोगमा नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग अन्तर्गत भरतपुरमा रहेको सडक डिभिजन कार्यालयमार्फत निर्माण गरिएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख सिनियर डिभिजन इन्जिनियर नारायणप्रसाद लामिछानेका अनुसार उक्त सडक क्षेत्रमा पर्ने ६ किलोमिटरको सबै काम डिभिजन सडक कार्यालय भरतपुरमार्फत गरिएको हो । जसमा सडक विस्तार, सडक बत्ती, हरियाली लगायतका काम भएको छ ।

उनका अनुसार सडकमा ट्राफिक लाइट जडान गर्नका लागि टेण्डर आह्वान गर्न लागिएको जानकारी दिए । ट्राफिक लाइट जडान पनि संघीय बजेटमार्फत हुने जनाउँदै उनले अहिले भने भोलिको उद्घाटनको तयारीमा रहेको नेपाल प्रेसलाई बताए ।
संघीय सरकारमार्फत भएको काम जुन कार्यालय मातहत भएको हो उसैको आयोजनामा उद्घाटन हुने प्रचलन छ । भोलिको उद्घाटन पनि सडक डिभिजन कार्यालयले नै गर्दै छ ।

अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री उद्घाटन कार्यक्रममा सहभागी हुने निश्चित भएको प्रमुख सिनियर डिभिजन इन्जिनियर लामिछानेले बताएका छन् ।

यसैबीच जिल्लाका सबै जनप्रतिनिधिलाई पनि निमन्त्रणा पठाइसकेको उनले जानकारी दिए । हामीले चितवनका निर्वाचित जनप्रतिनिधि, स्थानीय पालिकाका प्रमुख, राजनीतिक दलका प्रमुख सबै जनालाई निमन्त्रणा पठाइसकेका छौँ, उनले भने, ‘सबैजनाले सहभागी हुने बताउनुभएको छ ।’

नेपाल प्रेससँगको कुराकानीले डिभिजन प्रमुख लामिछानेले भरतपुर महानगरपालिकाको मेयरलाई पनि निमन्त्रणा पत्र पठाइसकेको बताएका थिए । तर, बिहान साढे ११ बजेसम्म भने आफूले निमन्त्रणा पत्र नपाएको मेयर दाहालले बताएकी छन् ।

देशको प्रधानमन्त्री आउने कार्यक्रममा म नजाने कुरै भएन, भरतपुर महानगरका मेयर दाहालले नेपाल प्रेससँग कुरा गर्दै भनिन्, ‘मैले निमन्त्रणा पाइसकेको छैन । आधिकारिक निम्ता पाएँ भने कार्यक्रममा सहभागी हुनेछु ।

Comments

2 responses to “भरतपुरको विकास आइकन ६ लेन सडक- शिलान्यास र उद्घाटनको संयोग ओलीलाई, धर्मसंकटमा रेनु”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    फेरी पनि पिकनिक खान जालिन्, त्यो पनि आफ्नै बाबै संग यसपाली।

  2. ram badur Avatar
    ram badur

    याे सडक मैले बजेट दिएर बन्याे भन्नू हास्यादपद बबाहेक केही हैन । जनताकाे ढाड भाचिने गरि उठाएकाे कर घुम्दैफिर्दै गर्ने क्रममा यता पाेखिन गएकाे मात्र हाे । यदि यसकाे जस लिन खाेज्ने हाे भने यसकाे सबै भनणदा धेरै जस राजा महेन्द्रलाई दिनु पर्छ । त्यहि जगमा टेकेर गरेकाे काम हाे नयां केही हैन । १० बर्षमा पुर्व पश्चिम छिचाेल्ने बिकास काे अगाडि जावाे ६ किमि लाई ४ बर्ष लाउंदा के के नै गरे जस्ताे गरि तामझाममा रमाउनु र जश लिन हाेडबाजी गर्नु पर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *