रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी रहेको तर अहिलेको सरकारले नचाहेको बताएका छन् ।
जागरण अभियानका क्रममा रुपन्देही आएका प्रचण्डले भैरहवामा प्रेस सेन्टर रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा जनतालाई थप अधिकार दिलाउन यसको अपरिहार्य रहेको बताए ।
‘सरकार गठनका बेला जनतालाई झुक्काउन संविधान संशोधनको कुरा ल्याइयो, उनीहरूले गर्दैनन्, स्थिरताका लागि यसको संशोधन जरुरी छ, १० वर्षमा समीक्षा गरेर संशोधन गरिनुपर्दछ, तर यो संशोधन अधिकार कुण्ठित बनाउन होइन अधिकार थप गर्नलाई हो, हामी त्यसमा प्रतिबद्ध छौँ’ उनले भने, ‘सरकार ढाल्ने कुनै हतारो छैन, रुचि पनि छैन, नेपाली जनताले दुःख त पाएका छन् तर हामीलाई सरकार चाहिएर खबरदारी गरेका होइनौँ, दुई तिहाइको सरकार होइन, षडयन्त्रको सरकार हो, संविधान मिचिएको सरकार हो ।’
प्रचण्डले केपी ओली नेतृत्वको सरकार नयाँ वर्ष कट्दैन भनेर आफूले राजनीतिक विश्लेषण र कांग्रेस एमाले नेताहरूसँगको संवादका आधारमा बताएको बताए ।
आफूले सरकारबारे टिप्पणी गर्दा सरकारमा नभएकाले प्रचण्डले कुण्ठा पोखेको भनेर एमालेले प्रचार गरेकोप्रति उनको आपत्ति थियो । ‘यो सरकार मैले नयाँ वर्ष २०८२ सम्म रहने आधार छैन र रहँदैन भनेर राजनीतिक विश्लेषणका आधारमा भनेको हो, ‘नेपाली कांग्रेस र एमालेका कैयौँ नेतासँग भएका संवादका आधारमा यो सरकार जाने स्थिति छैन भनेको हो’ उनले भने, ‘यो सरकार संवैधानिक थिएन । हामीले सुरुदेखि भनेका हौं, सरकार अपारदर्शी छ, एमाले भित्रैका नेताहरूलाई थाहा नदिई बनाइएको हो अहिलेको गठबन्धन, लोकतान्त्रिक थिएन र छैन, जन्म नै अप्राकृतिक थियो, जनताको भरोसा थिएन र छैन । ’
उनले झापादेखि रुपन्देही प्रवेश गर्दै गर्दा माओवादीप्रति जनताको अपार समर्थन रहेको पनि बताए । उनले माओवादी केन्द्रलाई यो सरकार ढालेर अहिले सरकारमा आउने कुनै रुचि नभएको बताए । उनले सरकार असाध्यै अपारदर्शी रहेको भन्दै दलाल र बिचौलियाको पहलमा बनेको भएकाले जनताले यो सरकारबाट आशासमेत गर्न नसकेको बताए ।
‘हामीलाई सरकारमा जाने कुनै रुचि छैन । हाम्रो कुनै खालको हतारो पनि छैन । तर यसको अर्थ यो सरकार चलिरहोस्, नेपाली जनताले दुख पाइरहुन् भन्ने पनि एउटा जिम्मेवार र शान्ति सम्झौताको हस्ताक्षरकर्ताको नाताले त्यो मनसाय होइन’, प्रचण्डले भने, ‘संविधानअनुसार कांग्रेसको नेतृत्वमा बन्नुपर्थ्यो धारा ३ अनुसार तर त्यसो गरिएन त्यही भएर अवैधानिक थियो र हो, शिक्षकका समस्या समाधान गर्नुको साटो उल्टो अपमान गरिएको छ, प्रधानमन्त्री र सभामुखले दिएका अभिव्यक्तिले आन्दोलनरत शिक्षकलाई आक्रोशित बनाएको छ ।’
राजावादीहरूको सक्रियताप्रति कडा टिप्पणी गर्दै उनले अराजकतावादीहरूको आन्दोलन अब उठ्न नसक्ने बताए । ‘राजावाद: राजावादीको बेलुन चैत १५ मै फुट्यो अब उनीहरू तत्काल उठ्न सक्दैनन् तर हामीले जुनसुकै बेला पनि खबरदारी गर्न जरुरी छ’ उनले भने ।

Leave a Reply