इमर्जेन्सी परेको भन्दै फुत्त अमेरिका उडिन् अरुणिमा, फिल्मको ट्रेलर रिलिज खल्लो (भिडिओ)

काठमाडौं । आफूले अभिनय गरेको वेब सिरिज ‘घर बट इन अमेरिका’ को प्रमोसन गर्न भन्दै अमेरिकादेखि नेपाल आएकी अभिनेत्री अरुणिमा लम्साल अपर्झट फर्किएकी छन् । आज ट्रेलर रिलिज कार्यक्रम उनको अनुपस्थितिमा खल्लो बन्यो ।

अरुणिमा कार्यक्रममा आउने र डिभोर्सको बारेमा मज्जाले गफिने आशामा युट्यूबरहरुको बाक्लो उपस्थिति थियो । तर, निर्देशकले अरुणिमा अमेरिका फर्किसकेको जानकारी गराउँदा सबै निराश देखिए ।

निर्देशक तथा अभिनेता विमलेश अधिकारीले घरायसी कामले गर्दा अरुणिमा तत्कालै अमेरिका फर्किनु परेको प्रष्टीकरण दिए । अधिकारीका अनुसार हिजो नै उनी अमेरिका उडिसकेकी छन् ।

राइजिङ मलको क्यूएफएक्स सिनेमामा वेब सिरिजको ट्रेलर लन्च गरिएको थियो । कार्यक्रममा निर्देशक विमलेस र अन्य दुई कलाकारहरु मात्रै मञ्चमा थिए । उनीहरुले वेब सिरिजको विषयमा बताए ।

यो वेव सिरिज अमेरिकामा बसेको नेपाली जोडीको कथामा उनीएको छ । छोरीलाई अमेरिकामा भेट्न गएका बाबुआमाले उनी एक युवकसित लिभ इन टुगेदरमा बसेको थाहा पाएपछि उत्पन्न भएको रोचक परिस्थिति ट्रेलरमा देख्न सकिन्छ ।

अरुणिमा करिब १५ दिन अगाडि चलचित्रको प्रमोसनका लागि नेपाल आएकी थिइन् । यही बेला उनले श्रीमानलाई सम्वन्धविच्छेदका लागि मुद्दा दर्ता गरिन् ।

अरुणिमाको छोटो नेपाल बसाइमा उनको डिभोर्सको विषयले अत्यधिक चर्चा पायो र फिल्म नै ओझेलमा पर्यो । उनले विभिन्न मिडियामा आफ्ना श्रीमानको विरुद्धमा बोलेका कुराहरु अहिले भाइरल छन् ।

अरुणिमाले श्रीमानले पढाइ लगायतका कुराहरु ढाँटेका कारण डिभोर्स दिनु परेको बताएकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *