फोहोर व्यवस्थापनमा अटेर गरेपछि महानगरले एभरेष्ट अस्पताललाई काट्यो जरिवाना पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले हानिकारक फोहोरको उचित व्यवस्थापन नगरेपछि नयाँ बानेश्वरको एभरेष्ट अस्पताललाई ५० हजार रूपैयाँ जरिवाना तोकेको छ । अस्पतालबाट उत्पादित फोहोरको व्यवस्थापन नगरिएको पाइएकाले जरिवानाको पत्र पठाएको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले बताइन् ।

रसायनिक फोहोरमैला, औद्योगिक फोहोर, स्वास्थ्य संस्थाजन्य फोहोर, जोखिमपूर्ण फोहोर वा हानिकारक फोहोरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार देखि १ लाखसम्म जरिवाना गराउन सक्ने व्यवस्थाअनुरूप पत्र काटिएको उनले बताइन् ।

यही कसुर दोहोर्‍याए पहिलो पटक गरिएको जरिवानाको दोब्बर अनुमति रद्द गर्न सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ । महानगरले एभरेष्ट अस्पतालको फोहोर व्यवस्थापन भए/नभएको बारे ३ पटक अनुगमन गरिसकेको जनाएको छ । यसअघि सुझाव र सुधारको मौका दिइए पनि अस्पतालले लापरवाही गरेको महानगरको भनाइ छ ।

वातावरण व्यवस्थापन विभागकी वरिष्ठ इञ्जिनियर निशा कोइरालाले भनिन्, ‘गएको असोज (२०८१) ३ गते भएको अनुगमनका क्रममा सुधार नदेखिएपछि असोज १४ गते अस्पतालका अधिकारीहरूलाई वातावरण व्यवस्थापन विभागका बोलाएर मापदण्डका विषयमा जानकारी दिँदै अस्पतालले पूरा गर्नुपर्ने दायित्वका विषयमा सम्झाइएको थियो । त्यसअघि ९ बुँदे सुधारका सुझाव दिएर पत्र पठाइएको थियो । पत्रबाट गर्नु भनेका कामहरु अहिले पनि पूर्ण रुपमा भएका छैनन् । फोहोर वर्गीकरण गर्ने र वर्गीकरण गरिएको फोहोर जम्मा गर्ने कोठा बनाइएको छैन । सबै फोहोर एउटै हलमा थुप्रो थुप्रो बनाएर राखिएको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *