नेपाली राजनीतिक बजारमा अहिले सबैभन्दा आलोच्य विषय राजकीय पदहरूमा भएको पुनरावृत्ति हो । यो पुनरावृत्तिको नशामा लट्ठिएका नेताहरू संसदीय निर्वाचन २०४८ देखि हालसम्म पनि आफूमात्रै यस देशको शासक भइरहेका छन् । उही व्यक्ति प्रधानमन्त्रीको कुर्सीमा आलोपालो गरिहेको छ, त्यही मान्छे हरेक मन्त्रीमण्डलमा मन्त्री भएर ढसमस्स छ, सांसद भएर त्यही मान्छेमात्र संसद भवनभित्र छिरेको छ । यतिमात्र नभएर संवैधानिक निकायदेखि विभाग-मन्त्रालयका पदहरूमा समेत उही मान्छे दोहोरिएको दोहोरियै छ । कोहीकोही त दोहोरिन पाइएन भनेर सडक आन्दोलनमा समेत छन् ।
कोही हुँदाखाँदाको पार्टी फोरेर नयाँ पार्टी खोलेका छन्, कोही नयाँ पार्टी स्थापनाका होडमा छन् । मानौं यीबाहेक अरु पनि कोही व्यक्ति यस देशमा सक्षम र योग्य हुनसक्छन् भन्ने विज्ञानलाई यी पुनरावृत्तिका नशेबाजहरू मान्न तयार छैनन् । यिनीहरू पार्टी र जनतालाई यति बेवकुफ बनाउँछन् कि उनीहरू बेगर यस देशले एकक्षण पनि सास फेर्न सक्दैन । यही पुनरावृत्तिको अतिवादलाई देखाएर एकथरी सिद्धान्तविहीन लोकप्रियतावादी चुनौती भएर देखापरिरहेका छन् भने अर्कातिर यही धमिलो पानीमा प्रतिगामी पुनरुत्थानवादीहरू सल्बलाइरहेका छन् ।
मान्छेको अन्तिम पुँजी भनेको लोकलज्जा वा भनौं नैतिकता हो । सारा भौतिक सामर्थ्य र आत्मविश्वास गुमाउँदागुमाउँदै पनि मान्छे नैतिकताको बलमा उभिरहेको हुन्छ । जब नैतिकता पनि च्युत हुन्छ, त्यसपछि त्यस मान्छेमा भातेभुँडी र नमर्दासम्मको एक मुठी सासमात्र बाँकी रहन्छ । यसरी च्युत हुनपुग्ने त्यस्ता मान्छेको सामाजिक मूल्य पानी पार्न नसक्ने मेघका रूपमा परिणत भएको हुन्छ । मान्छेले पद प्राप्त गर्नुभन्दा पद प्राप्त गरेपछिको मूल्य जोगाउन र कालान्तरमा पद पाएर उठेको गरिमालाई मर्यादित बनाइराख्न गाह्रो हुन्छ ।
खासगरी एमालेइतर कोणबाट जोडतोडका साथ उठाइएको र एमालेभित्रै विद्याको आजसम्मको राजनीतिक वैभवलाई विनष्ट गर्न तम्सेको एक टुकडी यिनलाई दिग्भ्रमित तुल्याएर राजनीतिको नरकमा धकेल्न आतुर छ ।
सन्दर्भ के हो भने केही समययता जबरजस्त रूपमा विद्या भण्डारीलाई राजनीतिमा धकेलेर रोटी सेक्ने दाउमा एकथरी लागेका लाग्यै छन् । आखिर राष्ट्रपति भनेको सेरेमोनियल पद न हो । त्यसो हुँदा राष्ट्रपति जस्तो निष्क्रिय पदमा बसेको मान्छे फेरि सक्रिय राजनीतिमा आउन किन नहुने र कार्यकारी जिम्मेवारी सम्हाल्न किन योग्य नहुने भन्ने भाष्यको निर्माण यिनै रोटीसेकुवा समूहले गरिरहेका छन् । विद्या भण्डारी राजनीतिमा कमब्याक भएदेखि र उनी प्रधानमन्त्रीको कार्यकारी हैसियतमा पुगे आफ्नो खाँडो जाग्ने आशाले र्याल काडिरहेको यो समूह नानाबली कथानकहरू जोड्न जोडतोडका साथ लागेको छ । साथमा एमाले र विद्याको तेजोवध गर्न पनि अर्को समूह तँछाडमछाड गरिरहेको छ ।
आजभोलि यो समूहले कसरी तर्क गर्न थालेको छ भने माओवादीले उपराष्ट्रपति भएको नन्दबहादुर पुनलाई पार्टीको उपाध्यक्ष बनाउन हुन्छ भने एमालेले विद्यालाई पार्टी अध्यक्ष बनाउन किन हुँदैन ? यतिमात्र होइन, राष्ट्रपतिको दोस्रो कार्यकाल सकिनै लाग्दा विद्याले डाकेको भेटमा प्रचण्डजीले पनि उनलाई अब तपाईं राजनीतिमा फर्किनुपर्छ भनेर सुझाएकाले पनि विद्याले यो बाटो पक्रँदा राम्रै हुन्छ भन्ने यिनै रोटी सेक्ने आकांक्षीहरूको पैरवी छ । यो समूहले यस्तो भाष्य बनाउँदैछ कि मानौं अब विद्याले नसम्हाल्ने हो भने यो देश ठूलै भड्खालामा जाकिन सक्छ । खासगरी एमालेइतर कोणबाट जोडतोडका साथ उठाइएको र एमालेभित्रै विद्याको आजसम्मको राजनीतिक वैभवलाई विनष्ट गर्न तम्सेको एक टुकडी यिनलाई दिग्भ्रमित तुल्याएर राजनीतिको नरकमा धकेल्न आतुर छ ।
प्रश्न गर्ने धेरै ठाउँ छन्- विद्यालाई राजनीतिमा पुनरागमन गराउने कुरामा प्रचण्ड किन यति सारो लालायित छन् ? कांग्रेसभित्रै एमालेको सत्तोसराप नगरी दिनचर्या नकाट्ने पंक्तिसमेत किन विद्यालाई त्यस कुपथतर्फ धकेल्न चाहन्छ ? माधव नेपाल समूहका स्वनामधन्यहरू पनि यही बोलीमा लोली किन थपिरहेछन् ? विद्याप्रति यस्तो सद्भाव बर्साउने यो समूह साँच्चै एमालेलाई अझ माथि उठाउन यसरी चिन्ताले व्याकुल भएका हुन् ? के यी सबै विद्याको आजसम्मको उचाइलाई अझै चार चाँद थप्न मन-वचनले लागेका हुन् ? नेकपा एमालेकी एक कुशल नेतृ विद्या भण्डारीलाई के प्रचण्डले सुझाउनुपर्ने अवस्था आएको हो ? यस देशमा प्रचण्डको राजनीतिक अनुहार प्रस्टिनु अगि नै राजनीतिक गौरव र सामर्थ्य देखाइसकेकी विद्यालाई यसो गर, उसो गर भनेर सुझाउने प्रचण्ड एमालेका को हुन् ?
प्रचण्डले बाटो खोलिदिएका छन् भनेर के एमाले गण फुर्किनुपर्ने हो ? विद्याको यो सुनाम र सुकीर्ति प्रचण्डका प्रतापले प्राप्त पारितोषिक हो ? अनि माओवादीले जसोजसो गर्छ, एमाले र विद्याले पनि सोहीसोही गर्नुपर्ने हो ?
होला, प्रचण्डलाई आफ्ना कार्यकर्ता व्यवस्थापन गर्न उनको पार्टीबाट अद्धि सारी दुईदुई पटक उपराष्ट्रपति जस्तो गरिमामय स्थानमा पुर्याई देशकै दोस्रो वरीयताको मर्यादामा स्थापित गरिसकेको मान्छेलाई अब देशको होइन, माओवादी पार्टीको पनि दोस्रो वरीयताको मान्छे बनाउनुपर्ने आवश्यकता आए होला, तर त्यस पार्टी र त्यस पार्टीका सुप्रिमोले गरे भनेर के विद्याले मुलुककै प्रथम नागरिक भएको गरिमालाई कौडीका मूल्यमा दाउ लगाई कार्यकारीका नाममा तेस्रो स्थानमा फर्किनुपर्छ ? त्यसका लागि प्रचण्डले बाटो खोलिदिएका छन् भनेर के एमाले गण फुर्किनुपर्ने हो ? विद्याको यो सुनाम र सुकीर्ति प्रचण्डका प्रतापले प्राप्त पारितोषिक हो ? अनि माओवादीले जसोजसो गर्छ, एमाले र विद्याले पनि सोहीसोही गर्नुपर्ने हो ?
कुरो प्रस्ट छ, विद्यालाई उचालिएको यो प्रसंग एमालेलाई नैतिक रूपले तेजोबध गर्न चालिएको षड्यन्त्रपूर्ण तीरको निसाना हो । विद्याको सुकीर्ति र राजनीतिक वैभवलाई हाराकिरी गर्न उक्साइएको दुरुत्साहन हो । आज यसरी विद्यालाई कार्यकारी पदमा फर्कन उक्साउनेहरू नै कदाचित भोलि विद्याको कमब्याक भइहाले राष्ट्रपति जस्तो गरिमामय संस्था भएर बसेको मान्छे पार्टी अध्यक्ष बन्न वा प्रधानमन्त्री खान आउनु कति नैतिक हो भनेर सबभन्दा पहिला प्रश्न उठाउनेहरू हुनेछन् ।
माओवादीले गरिमामय उपराष्ट्रपति जस्तो सम्माननीय पदमा रहेका नन्दबहादुर पुन पासाङलाई आज पार्टीको उपाध्यक्ष बनाएर जुन राजनीतिक अनैतिकताको खेती गरेको छ, यो विषय सर्वत्र आलोच्य रहेको छ । त्यसैले यहाँ विद्यालाई समेत राजनीतिक विच्युतिको नरकमा धकेलेर हामीले मात्र हो र एमाले पनि त त्यही बाटो पक्रिरहेको छ भनेर माओवादी आफ्नो राजनीतिक अनैतिकतालाई ढाकछोप गर्न चाहिरहेको छ ।
माओवादीले गरेको यो लज्जाहीन राजनीतिक अनैतिकतालाई ऊ वैधताको जामा पहिर्याउन खोजिरहेको छ । साथमा त्यस पार्टीले नन्दबहादुरलाई जुन अवमूल्यन गरेर दृष्टान्तको खेती बनाई विद्यालाई उचाल्न प्रयत्न गरिरहेको छ, यो स्वयं विद्याकै गरिमा र एमालेको प्रतापलाई शून्यमा झार्न गरिएको तिकडम हो, एमालेलाई बदनाम गर्न रचिएको प्रपञ्च हो । माओवादीको यस रणनीतिलाई राम्ररी बुझेका अन्य दलले पनि विद्याको कमब्याकप्रति उदारता देखाइरहनु भनेको भोलि यही नैतिकताको दण्ड उचालेर जनताका माझमा एमालेलाई बदनाम गरी यसको सर्वनाश गर्न सकिन्छ भन्ने एक तीरका दुई शिकार गर्ने मनसुवा हो ।
विद्याले नेपाली महिला जगतमा त एउटा स्वनामधन्य इतिहास रचिन् रचिन्, देशको राष्ट्रियताका पक्षमा पनि कमरेड मदन भण्डारीकै जस्तो उच्च राष्ट्रवादी छवि बनाइन् । अब यिनले व्यक्तिगत रूपमा यिनै आर्जनलाई अक्षुण्ण राख्नुपर्छ र किमार्थ यसमा दाग लाग्न दिनुहुँदैन ।
वास्तवमा राजनीतिक गन्तव्यको उचाइका कुरा गर्ने हो भने यस देशमा अब विद्या भण्डारीले हासिल गर्नुपर्ने कुनै कुरा बाँकी छैन । यिनी मुलुककै एक नम्बर वरीयतामा पुगिसकेकी व्यक्तित्व हुन् । यिनको सामर्थ्यले दिन सक्ने गयल विषय पनि अब केही बाँकी रहेको छैन । मानिसलाई जीवनमा एकाधपल्ट अवसरहरू आउँछन्, सधैंभरि अवसरले एउटै मान्छेका पछि लाग्दैन । विद्याले जुन राजकीय अवसर पाइन् र यिनले नेपाली महिलालाई आज जेजस्तो उपलब्धि दिलाउन सफल भइन्, त्यसको हिसाब नेपालको इतिहासले राखिसकेको छ । महिला सशक्तीकरणका क्षेत्रमा यिनले गरेको नेतृत्वदायी भूमिका जुगजुगसम्मका लागि अविस्मरणीय छ ।
यसैले यिनले जे गर्न सक्थिन् र गरिन्, त्यो यस देशको इतिहासमा स्वर्णाक्षरले अङ्कित भइसकेको छ (भारतीयहरूलाई नेपाली बनाउने विधेयकका विरुद्धको यिनको अडान सारै प्रशंसायोग्य रह्यो) । विद्याले नेपाली महिला जगतमा त एउटा स्वनामधन्य इतिहास रचिन् रचिन्, देशको राष्ट्रियताका पक्षमा पनि कमरेड मदन भण्डारीकै जस्तो उच्च राष्ट्रवादी छवि बनाइन् । अब यिनले व्यक्तिगत रूपमा यिनै आर्जनलाई अक्षुण्ण राख्नुपर्छ र किमार्थ यसमा दाग लाग्न दिनुहुँदैन । राजनीतिको घिनलाग्दो पुनरावृत्तिवादलाई यिनले तिलाञ्जली दिएर सत्ता निर्लोभी दृष्टान्तको पर्याय हुनुपर्दछ ।
अब समय धेरै अघि बढिसकेको छ । विद्यालाई उचालेर रोटी सेकाउन आतुर केही मनसुवाहरूले के बुझ्नु जरुरी छ भने भोलि विद्याविना पनि यो नेपाल भन्ने मुलुक रहिरहन्छ, जसरी मदन भण्डारी नहुँदा पनि बहुदलीय जनवाद बाँच्दोरहेछ र त्यसैका बलमा यस देशको शक्तिशाली एक नम्बरको पार्टी नेकपा एमाले बन्न सक्दोरहेछ ।
तसर्थ विद्याले प्राप्त गरेको राष्ट्रपति जस्तो पदीय गौरवलाई लत्याएर फेरि कार्यकारीका दौडमा कुद्नु किमार्थ शोभनीय विषय होइन । यसै त सोही पदमा पुनरावृत्ति भइरहने नेपाली नेताहरूको मनोवृत्तिबाट वाक्क भएका सर्वसामान्य नेपालीको मनोदशालाई पक्रेर एकथरी प्रियतावादी (पपुलारिस्टिक) र पुनरुत्थानवादी तत्त्वहरू सल्बलाइरहेको स्थिति छ । यस्तो अवस्थामा विद्याले पनि राजनीतिको परिदृश्यमा बारम्बार पुनरावृत्ति हुने यही हठ वा आकांक्षा पाल्दा त्यसको प्रभाव स्वयं यिनलाई र पार्टीलाई कस्तो पर्ला हेक्का छैन होला र ?
(लेखक प्रगतिशील लेखक संघका लुम्बिनी प्रदेश अध्यक्ष तथा नेकपा एमालेका प्रदेश कमिटी सल्लाहकार हुन्, प्रस्तुत आलेख लेखकको निजी विचार हो)

Leave a Reply