चितवन । हनुमान जयन्तीको अवसरमा वीरगञ्ज बजारमा निकालिएको शोभायात्राका क्रममा भएको झडपबाट सिर्जित तनावलाई लिएर निषेधाज्ञा जारी गरेको वीरगञ्जमा आज फेरि तनावको अवस्था सिर्जना भएको छ ।
उक्त घटनामा शोभायात्रा बिथोल्ने र तोडफोड गर्ने ४ जना व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेपछि हिन्दु समुदायका युवाहरु प्रहरी कार्यालय अगाडि भीडभाड गरेर नाराबाजी गरेका छन् । स्थानीय पत्रकार क्रान्ति शाहका अनुसार टोलटोलबाट ढुंगामुढा समेत प्रहरीतर्फ प्रहार गरिएको छ । भने ठाउँठाउँबाट मानिसहरु निस्किएर तनावको अवस्था रहेको छ ।
पत्रकार शाहका अनुसार रिपोर्टिङका क्रममा एभीन्यूज टेलिभिजनमा कार्यरत अर्जुन गुप्ता र टीभी विरगञ्जमा कार्यरत अर्का एक पत्रकार पनि ढुंगा लागेर घाइते छन् ।
प्रहरीले भने आन्दोलनमा निस्किएका हिन्दु समर्थित युवाले आरोप लगाएजस्तो पक्राउ परेका चारै जना हिन्दु समुदायको मात्रै नभएको छ । पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार उक्त दिनको ड्रोन भिडियो, सिसि क्यामराको फुटेज, सामाजिक सञ्जालमा भाइरल भिडियो समेत प्रहरीले अध्ययन गरेको थियो ।
सोही आधारमा मानिस पहिचान गरेर मस्जिदको छतबाट ढुङ्गा हान्ने दुई जना सेख खुर्सेद आलम र सलाओदिन मिया ठकुराइलाई पक्राउ गरिएको हो । एसपी मिश्रका अनुसार सिसि क्यामराको फुटेजमा मस्जिदबाट ढुंगा हानेपछि तल शोभायात्रामा सहभागी दुई युवाले तोडफोड गरेका देखिएको छ ।
मोटरसाइल, पसल तोडफोड गर्ने ति दुई युवालाई पनि प्रहरीले पक्राउ गरेको छ । ति दुई जनामा बलजित सिंह र रवि सराफ छन् । उनीहरु चार जनालाई नै आज साँझ मात्रै प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएपनि आज मधेश प्रदेशमा सार्वजनिक विदा दिइएको कारण अदालतबाट म्याद थ पभने गरिएको छैन । उनले भोलि म्याद थप गरेर कारबाही प्रकृयाको अनुसन्धान थालनी गर्ने नेपाल प्रेसलाई जानकारी दिए ।
एसपी मिश्रले अपराध गरेको प्रमाणको आधारमा पहिचान भएका मानिस पक्राउ परेका कारण यसलाई धर्मसँग जोडेर नहेर्न अनुरोध समेत गरेका छन् । ‘हामीले हिंसा भड्काउन खोज्ने र तोडफोड गर्ने सबैलाई प्रमाणसहित नियन्त्रणमा लिएका छौँ’, नेपाल प्रेससँग कुरा गर्दै एसपी मिश्रले भने, ‘यो घटनालाई धार्मिक रङ्ग दिएर नहेरिदिनुहुन अनुरोध गर्दछु ।’

Leave a Reply