राजश्व अनुसन्धान कार्यालयबाट सुन्दर हार्डवेयरविरुद्ध एक करोड ठगीको मुद्दा दर्ता, ७ वटा तयारी अवस्थामा

रुपन्देही । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देहीमार्फत सुन्दर हार्डवेयर एण्ड प्लाइउडका संचालक जोगेन्द्र अग्रहरीले सञ्चालन गरेको पसल तथा गोदामविरुद्ध राजश्व ठगीको मुद्दा दर्ता गरेको छ ।

कार्यालयबाट निर्माण सामग्री र फर्निचरमासमेत राजश्व चुहावट भेटाइएको यो नयाँ उदाहरण भएको राजश्व कार्यालयले जनाएको छ । कार्यालयले हार्डवेयर कारोवारको अनुसन्धान कार्य सम्पन्न गरी उक्त फर्म तथा प्रोप्राइटर जोगेन्द्र अग्रहरीविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा बैशाख २ गते अभियोग पत्र दायर गरेको जनाएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, वडा नं. ८, लुम्बिनी गेटमा रहेको कम्पनीको कारोबारस्थलमा खानतलासी गरी अनुसन्धान गर्दा राजस्व चुहावट भेटिएपछि (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४(छ) र (झ) बमोजिमको राजस्व चुहावटको कसूरमा मुद्दा दर्ता गरिएको आयोगका बुटवलस्थित कार्यालय प्रमुख विवेक घिमिरेले जानकारी दिएका छन् ।

अग्रहरीउपर राजस्व चुहावटको प्रकृति, गाम्भीर्यता तथा राजस्व चुहावट भएको रकम समेतलाई मध्यनजर राखी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २(३१) बमोजिम चौवन्न लाख एकचालीस हजार चार रुपैयाँ पचास पैसा विगो कायम गरी विगोको शतप्रतिशत जरिवाना गरी एक करोड आठ लाख बयासी हजार नौ रुपैयाँ र हदैसम्मको कैद सजायको मागदावी गरिएको छ ।

घिमिरेका अनुसार निर्माण सामग्री र फर्निचरमा समेत राजस्व चुहावट देखिएको नौलो मुद्दा हो यो । तर राजस्व चुहावट मुद्दा दर्ता निरन्तर भइरहेको छ, अब लगातार ६–७ वटा मुद्दा दर्ता हुने चरणमा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *