जनकपुरधाम । सिरहाको नवराजपुर गाउँपालिका- १ की रिंकु सदायले बलात्कृत भएको दुई दिनपछि आत्महत्या गरेको घटना सम्झाउने अर्को घटना सोही पालिकामा भएको छ ।
नवराजपुर गाउँपालिका- ३ की आनन्दी सदायले बलात्कार प्रयास भएको तीन महिनापछि मृत्युको बाटो रोजिन् । उनी आज दिउँसो करिब २ बजे घरमै झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीको टोलीले कानूनी प्रक्रिया पूरा गरी मृत फेला परेकी आनन्दीको शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाएको छ ।
दिदीको घर बरियारपट्टी गइरहेको बेला गत पुस ९ गते बिहान करिब ११ बजे नवराजपुर गाउँपालिकामै पर्ने जगतपुरमा आनन्दीलाई दुई युवाले फिल्मी शैलीमा घेरेर आँप बगैंचामा लगेका थिए ।
उनीहरुले हरिनारायण यादवको आँप बगैंचामा लगेर आनन्दीमाथि बलात्कारको प्रयास गरेका थिए, तर आनन्दी भाग्न सफल भएकी थिइन् । घर पुगेर उनले घटनाबारे आमालाई बताएपछि तत्कालै प्रहरीलाई खबर गरिएको थियो ।
आनन्दीकी आमा विलटौन देवी सदायले बलात्कारको प्रयास गर्ने २२ वर्षीय सञ्जीव यादव र ३२ वर्षीय श्यामसुन्दर यादवमाथि पुस ९ मै किटानी जाहेरी दर्ता गराइन् । आरोपीहरु अहिलेसम्म पक्राउ परेका छैनन् ।
स्थानीयका अनुसार बलात्कारको प्रयास भएदेखि आनन्दी श्रीमानको घर गएकी थिइनन् । न्याय नपाएकै कारण उनले आत्महत्या गरेको उनीहरुको भनाइ छ ।

छोरीमाथि बलात्कारको प्रयास गरेकाहरुमाथि उजुरी दर्ता गराउन गएको बेला प्रहरीबाटै दुर्व्यवहार भएको बिलटौन देवीले आरोप लगाइन् । उनले भनिन्, ‘घटनालगत्तै छोरीलाई लिएर इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी गयौं । त्यहाँ जाहेरी लिएर आउन भन्यो । जाहेरी लेखाएर दिएँ । दर्ता भएको प्रमाण पनि मलाई दियो । त्यसपछि घर फर्कें । दुई दिनपछि प्रहरीले पुनः बोलायो । त्यहाँ पुग्दा जाहेरी दर्ता भएको भनेर दिएको पत्र मागेर च्यातियो । उजुरी गडबड छ भन्दै गालीसमेत गर्यो । त्यसपछि निराश भएर घर फर्कें ।’
आनन्दीले आत्महत्या गरेपछि आज इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी पुग्दा प्रहरीले पहिलेको जाहेरी दर्ता भएको जानकारी दिएको उनले बताइन् ।
इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका प्रहरी निरीक्षक रविन मैनालीले बलात्कार प्रयाससम्बन्धी जाहेरी दर्ता भइसकेको, तर आरोपीहरु पक्राउ पर्न नसकेको बताए ।
जाहेरी दर्ता भइसकेको भनेर दिएको पत्र प्रहरीले च्यातिदिएको भन्ने पीडितकी आमाको आरोपबारे जिज्ञासामा राख्दा उनले आफू त्यतिबेला काठमाडौंमा रहेको बताए ।
प्रहरी निरीक्षक मैनालीले श्रीमानसँग आनन्दीको खटपट भइरहेको जानकारी आएको र त्यही कारण ती महिलाले आत्महत्या गरेको हुनसक्ने बताए ।
बलात्कारको प्रयास भएको र न्याय नपाएको कारण आत्महत्या गरेको स्थानीयको भनाइमा भने उनले भने, ‘त्यो विषय पनि हुनसक्छ ।’

Leave a Reply