एनएसएलः साविक विजेता र उपविजेता प्लेअफमा, अन्य दुई स्थानका लागि ४ टोलीको प्रतिस्पर्धा

काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) को प्लेअफ खेल्ने दुई टोलीको टुंगो लागेको छ । एक खेल खेल्न बाँकी रहेका साविक विजेता ललितपुर एफसी र उपविजेता धनगढी एफसी शीर्ष दुईमा रहँदै प्लेअफ खेल्ने निश्चित भएको हो । अपराजित रहेका दुवै टोलीले ५ खेलबाट समान ११ अंक जोडेका छन् । अन्तिम खेलबाट लिग विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

प्लेअफको दुई टोलीका लागि ४ टोलीले सम्भावना कायमै छ । लिग चरणको सबै खेल खेलेको काठमाडौं रेजर्स ८ अंकसहित तेस्रो स्थानमा छ । एक खेल खेल्न बाँकी एफसी चितवन ७ अंकसहित चौथो, पोखरा थन्डर्स एफसी ५ अंकसहित पाँचौं र झापा एफसी ४ अंकसहित छैटौं स्थानमा छ । बुटवल लुम्बिनी एफसी १ अंकसहित अंक तालिकाको पुछारमा छ । बुटवल लुम्बिनीबाहेकका अन्य टोलीको प्लेअफ खेल्ने सम्भावना कायमै छ ।

लिगका सबै खेल खेलेको काठमाडौंलाई प्लेअफमा पुग्न एफसी चितवन र पोखरा थन्डर्समध्ये एक टोलीको हारले पुग्नेछ । चितवनले अन्तिम खेलमा धनगढी एफसीलाई हराएमा प्लेअफमा स्थान सुरक्षित गर्नेछ । हार बेहोरमा चितवनलाई प्लेअफमा स्थान बनाउन पोखरा र झापाले बराबरी वा हार्नुपर्ने हुन्छ । पोखरा र झापालाई प्लेअफमा पुग्न जितको विकल्प छैन ।

पोखराले लिगको अन्तिम खेल जितविहीन रहेको बुटवल लुम्बिनी एफसी र झापाले ललितपुर एफसीसँग खेल्नेछन् । दुवैलाई प्लेअफमा स्थान बनाउन ठूलो जित त आवश्यक पर्छ नै साथै चितवनले धनगढीसँग हार्नुपर्ने हुन्छ । पोखरालाई भने अन्तिम खेलमा जित र चितवनको हारले प्लेअफमा स्थान बनाउन पर्याप्त हुनेछ । झापा प्लेअफमा पुग्न पोखरा र चितवन ठूलो अन्तरले हार्नुपर्ने हुन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *