डा. जगमान गुरुङ भन्छन्- म कसैले उचालेर उचालिने र पछारेर पछारिने मान्छे होइन

काठमाडौं । राजसंस्था पुन:स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कार्यवाहक अध्यक्ष डा. जगमान गुरुङले आफू कसैले उचालेर उचालिने र पछारेर पछारिने मान्छे नभएको बताएका छन् । आफूलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजा उचाल्न पठाएको भन्ने अभिव्यक्ति देखेको भन्दै उनले सो टिप्पणी गरेका हुन् ।

फेसबुकमा स्टाटस लेख्दै गुरुङले आफ्नो नाम र फोटो राखेर वैशाख २२ गते श्री ५ ज्ञानेन्द्रको राज्याभिषेक गर्न सूचना पनि गलत भएको बताए ।

उनी लेख्छन्, ‘उत्ताउलो कुकुर सम्साँझै भुक्छ भनेजस्तै म त्यस्तो उत्ताउलो काम कुरा गर्ने मान्छे होइन । त्यसकारण मैले त्यस प्रकारको आह्वान गरेको पनि छैन । परिआएको खण्डमा म स्वयंले श्रव्यदृश्य माध्यमबाट आह्वान गर्नेछु ।’

आफूहरूमा उत्ताउलो र उत्तेजितपन हुनु नहुने गुरुङले बताएका छन् ।

‘धीर उदात्तभाव र सत्कर्ममा नै हाम्रो भविष्य र सफलता निहीत छ । त्यसकारण मेरो नामबाट यस्ता अनर्गल र सस्तो लोकप्रियताका लागि प्रचार प्रसार नगर्न सबैलाई अनुरोध गर्दछु । त्यस्तो अनर्गल प्रचार प्रसारको पछि नलाग्न पनि सबैलाई सचेत गराउँद छु ।’

नेपाल प्रेससित कुरा गर्दै गुरुङले एक व्यक्तिले आफूलाई पूर्वराष्ट्रप्रति भण्डारीसँग जोडेर टिप्पणी गरेको फेसबुकमा देखेपछि यो प्रष्टीकरण लेखेको बताए । भण्डारीसित आफ्नो कुनै पनि व्यक्तिगत सम्वन्ध नरहेको उनको भनाइ छ ।

‘एकपटक राष्ट्रपति हुँदा उहाँले ज्ञानमणि नेपाल, महेशराज पन्त, भेषनारायण दाहाल र मलाई धर्म-संस्कृतिको विषयमा मन्थन गर्न बोलाउनुभएको थियो । म त्यसमा गएको थिएँ । त्योभन्दा बाहेक उहाँसित मेरो कुनै पनि सम्वन्ध र सम्पर्क भएको छैन,’ गुरुङले भने, ‘अहिले एमालेकै व्यक्तिहरूले नचाहिँदो दुष्प्रचार गरिराखेका रहेछन् ।’

Comments

2 responses to “डा. जगमान गुरुङ भन्छन्- म कसैले उचालेर उचालिने र पछारेर पछारिने मान्छे होइन”

  1. bharat kumar thapa Avatar

    जगमान गुरूङ तिमी दास रैती हौं

    1. manaia thompson Avatar
      manaia thompson

      Bharat kumar Thapa, timi chai jhole ra lobhi kukkur hau

Leave a Reply

Your email address will not be published. Required fields are marked *