वैशाख १ गतेमात्र फुल्ने फूल हेर्न लहानमा भिड (तस्बिरहरू/ भिडिओ)

जनकपुरधाम । प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् १ वैशाखका दिनमात्र फूल्ने फूलको दर्शन गर्न सोमबार बिहानैदेखि सिरहाको लहान नगरपालिका-१२ र २४ मा पर्ने सलहेश फूलबारीमा सर्वसाधारणको ठूलो भिड लागेको छ ।

करिब ९ बिघा क्षेत्रफलमा फैलिएको सलहेश फूलबारी आज भरिभराउ छ । भारतबाट समेत हजारौं श्रद्धालु मेला भर्न आएका छन् । यहाँ सुरक्षार्थ ठूलो संख्यामा प्रहरी खटाइएको छ ।

फुलबारीमा रहेको हारम प्रजातिको तीनवटा बोटमा यसवर्ष फूल फुलेको छ । हारम बोटहरूको बीचमा माता मालिनीको गहबर छ । उक्त गहबरमा पूजापाठ गर्न र वर्षमा एकदिन मात्र फूल्ने फूल हेर्न श्रद्धालुको तँछाडमछाड चलेको छ ।

अनौठो फूल मोबाइलमा कैद गर्न र सेल्फी लिनेको भिड उत्तिकै छ । गहबर क्षेत्रमा भिड व्यवस्थापनमा स्वयंमसेवक र प्रहरीलाई हम्मेहम्मे परेको छ ।

फूलबारीमा हारामको बोट नजिकै रहेको राजा सलहेश र मालिनी मन्दिर (गहबर) मा भाकल गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । युवायुवतीले उक्त फूललाई साक्षी राखेर विवाहसमेत गर्छन् ।

हारमको बोटमा सातौं-आठौं शताब्दीदेखि नै फूल फुल्दै आएको स्थानीय वृद्धवृद्धा बताउँछन् । यहाँ भाकल गर्दा सन्तान प्राप्त हुने जनविश्वास छ । सन्तान पाएकाहरुले यहाँ आएर आजको दिन झाप र लड्डु चढाउने गर्छन् ।

फूलको बोटमा फूल फूल्नु कुनै अनौठो विषय होइन् तर एकै रुखमा प्रत्येक वर्ष एक दिनमात्र माला आकारको फूल फूल्ने र साँझ ओइलिएर जाने गरेकाले अनौठो मानिन्छ । त्यसैले यहाँ हरेक वर्ष मेला भर्न टाढा-टाढाबाट मानिस आइपुग्छन् ।

सलहेश १४ औं शताब्दीका राजा थिए । सलहेश गाथामा वर्णन गरिएअनुसार राजा सलहेशले एकैदिनमा मानिकदहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेलेर कुलदेवीको पूजा गरी कञ्चनगढमा पीरमार्का सुन्ने गर्दथे । राजा सलहेशलाई अहिले पनि दुषाध (दलित) समुदायले कुलदेवताको रुपमा पुज्ने गर्दछ ।

सिरहा सदरमुकाममा समेत सलहेश गहबर छ । अहिले नगरपालिकाले करोडौं रकम खर्चेर राजा सलहेशको विशाल मन्दिर निर्माण गरेको छ । त्यहाँ हरेक वर्ष वैशाख २ गते विशाल मेला लाग्छ ।

दुसाध र दनुवार जातिका इष्ट देवता हुन् सलहेश । दुसाध र दनुवार समुदायले आजको दिन राजा सहलेशको विशेष पूजा गर्छन् । उनकै नामबाट फूलबारीको नाम ‘सलहेश फुववारी’ रहन गएको छ ।

यस्तो छ मान्यता

१४ औं शताब्दीकै राजा थिए कुहलेश्वर । उनले नै सलहेशलाई राजा बनाएको थियो । कुहलेश्वरका चार छोरी थिए- रेशमा, कुसमा, दोना र हीरा । चारै छोरीहरू सहलेशप्रति आकर्षित थिए । कुसमा अलि विशेष थिइन् । सहलेश भने विवाहित थिए ।

राजा सहलेश विवाहित भएपनि कुशमा विवाह गर्न चाहन्थिन् । तर, उनीहरूको प्रेम विवाहमा परिणत हुन सकेन । त्यसैले आज पनि कुसमा प्रेमको सम्झनामा फूलरूपी दर्शन दिने गरेको सांस्कृतिकविद्हरू बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *