कांग्रेसका नेतामा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः आरजु राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफू ‘भाइरल’ हुने नाममा जे पनि बोल्ने तथा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति नेपाली कांग्रेस पार्टीभित्र बढेको बताएकी छन् ।

इलामको श्रीअन्तुमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजना गरेको अग्रज कार्यकर्ता भेटघाट एवं अन्तरक्रियालाई सम्बोधन गर्दै उनले भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति बढ्दै गएको र अझ बढी यो प्रवृत्ति नेपाली कांग्रेसमा देखिएको बताइन् ।

‘आफूले मिडियामा ‘कभरेज’ पाउनकै लागि कतिपय नेता एवं पार्टीकै विरुद्धमा पनि बोल्ने गरेको देखिन्छ । यसले कुनै व्यक्ति ‘मिडिया’मा भाइरल त होला । तर, त्यसले पार्टीलाई कति क्षति पुग्छ भन्ने कुराको पनि हिसाब गर्नुपर्ने हो’, उनले भनिन् ।

राणाले नेताहरुको यस्तो प्रवृत्तिले पार्टीका केन्द्रदेखि तल्लो तहका कार्यकर्ताहरुमा निराशा पैदा गर्ने अनुभव सुनाइन् ।

कांग्रेस अहिले सरकारमै रहेको तर सरकारको विरोध पनि बढी कांग्रेसकै नेताहरूले गर्ने गरेको आफूले सुनेको उनको भनाइ छ ।

आरजुले भनिन्, ‘आगामी निर्वाचनमा हामीले पार्टीलाई अहिलेको भन्दा ठूलो बनाउनुपर्ने छ । अरू पार्टीहरु ‘मिसन ८४’ भन्दै अघि बढेका छन्, तर हामी भने देशैभरिका कार्यकर्तालाई एकताबद्ध गरेर पार्टी मजबुद बनाउन लाग्नुको सट्टा आपसी विवाद गर्दै हिँडेका छौँ ।’

डा. राणाले पार्टीमा आफूलाई चित्त नबुझेका केही कुरा भए पार्टीभित्रै छलफल गर्न सुझाव दिइन् । आफ्ना गुनासा र असन्तुष्टिहरु यसरी भाषण गर्दै हिँड्ने विषय नभएको उनको प्रष्टोक्ति थियो । राणाले सभापति शेरबहादुर देउवाको अथक प्रयासबाट गएको स्थानीय तथा संसदीय निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको जिकिर गरिन् ।

आगामी निर्वाचनमा त झन् कुनै पार्टीसँग गठबन्धन नगर्ने भएकाले योभन्दा झन् ठूलो पार्टी बनाउन अहिल्यैदेखि अभियान थाल्नुपर्ने राणाको तर्क छ ।

नेपाली कांग्रेसमा महिलाको धेरै ठूलो योगदान रहेकाले महिलाको समानुपातिक सहभागिता हुनुपर्ने उनले बताइन् । भनिन्, ‘कुनै पनि पार्टीमा महिलालाई अघि बढ्न सजिलो छैन । जस्तो कि म पनि कुनै गल्ती नगर्दा पनि कस्तो खेदाइमा परेकी थिएँ भन्ने त यहाँहरुले देख्नुभएकै छ । पार्टीमा सशक्त भूमिकाका लागि महिला पनि सक्रिय रुपमा लाग्नुपर्दछ ।’

इलाम जिल्लाको वृहत्तर हितका लागि आफूले सक्दो पहल गर्ने उनले आश्वासन दिइन् ।

Comments

One response to “कांग्रेसका नेतामा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः आरजु राणा”

  1. ksp pyl Avatar
    ksp pyl

    काँग्रेसमा भुरे, टाकुरेहरूको बिगबिगी बढ्यो । सरकारको विरोध गर्ने । त्यो पनि विना आधार, यथार्थ कुरा नबुझेर गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *