कांग्रेस नेताहरूको असन्तुष्टिबारे एमालेले भन्यो- संयन्त्रमै छलफल गर्दा राम्रो हुन्छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेले कांग्रेसका नेताहरूले सरकारको गति नपुगेको भन्दै बाहिर जनाइरहेको असन्तुष्टिलाई सकारात्मक रुपमा लिएको निष्कर्ष निकालेको छ। पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले सरकार सञ्चालनको संयन्त्रमा रहेकाहरूले संयन्त्रमै छलफल गर्नु उपयुक्त हुने बताए ।

संयन्त्रमै रहेका कांग्रेस महामन्त्री गगन थापाले सरकारको गति नपुगेको भन्दै पछिल्लो समय असन्तुष्टि व्यक्त गरिरहेका छन् । उनीमात्रै नभइ नेता डा. शेखर कोइराला, अर्का महामन्त्री विश्वप्रकाश शर्मालगायत इतर पक्षका नेताहरु केपी ओली नेतृत्वको सरकारसँग सन्तुष्ट सुनिँदैनन् ।

त्यसबारे ज्ञवालीले भने, ‘सरकारको प्रभावकारी होस् गति बढाओस् भनेर आउने टिकाटिप्पणीलाई हामीले सकारात्मक रुपमै लिएका छौं। त्यसलाई अन्यथा लिएका छैनौं । संयन्त्रका साथीहरुले संयन्त्रमै छलफल गर्दा राम्रो। हामीले अनेकै तहमा संयन्त्र बनाएका छौं । त्यो असल मनसायका साथ भनेको होला भन्ने बुझेका छौं ।’

उनले कांग्रेस नेताहरुको असन्तुष्टिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खेल्न खोजेको बताए। उनले शान्ति सम्झौतापछि सबैभन्दा धेरैम माओवादी नै सरकारमा बसेको भन्दै अरूलाई औंला उठाएर मात्रै हुन्छ, जिम्मेवारी लिनुपर्दैन? भन्दै प्रश्न गरे ।

‘०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भइसकेपछि, यो १८ वर्षमा सबैभन्दा बढी सरकारमा कोही बसेको छ भने त्यो माओवादी नै हो। सबैभन्दा कम बसेको एमाले हो। बीचमा भएको नेपाली कांग्रेस हो। माओवादी प्रतिपक्षमा भनेको माधव नेपाल नेतृत्वको सरकारको २० महिना, नेकपा विभाजनको केही महिना र अहिले नै हो’ ज्ञवालीले भने, ‘र अधिकांश समय आफैं सरकारमा बस्ने, अनि सरकारले काम गरेर भनेर अरुलाई मात्रै औला ठडाएर हुन्छ। आफूले चाहिँ जवाफदेहीता लिनुपर्दैन ? जो सबैभन्दा बढी सरकारमा बस्छ उसले चाहिँ जिम्मेवारी लिनु नपर्ने हो ?’

 

Comments

One response to “कांग्रेस नेताहरूको असन्तुष्टिबारे एमालेले भन्यो- संयन्त्रमै छलफल गर्दा राम्रो हुन्छ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    प्रचण्ड जस्ता विदेशीको सेवा गर्न राजनीति गरेकालाई के जिम्मेवारी के न जिम्मेवारी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *