तीनकुनेको घटनामा एमालेले खोज्यो पूर्वराजाको जवाफदेहिता, नैतिक जिम्मेवारी लिनैपर्ने माग

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले चैत १५ गतेको राजावादी आन्दोलनका विषयमा पूर्वराजा ज्ञानेन्द्र शाह जवाफदेही हुनुपर्ने बताएको छ । उक्त आन्दोलनका क्रममा भएका हिंसा र विध्वंस योजनावद्ध भएको ठहर पनि एमाले बैठकले गरेको छ ।

आज बसेको एमाले सचिवालय बैठकले यस्तो ठहर गरेको हो । वैठकपछि पत्रकारसँग बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले तीनकुनेको आन्दोलनलाई जनअसन्तुष्टि भन्न नमिल्ने बताए । उनले भने, ‘यदि यो जनअसुन्तष्टि हो भने जनता र आन्दोलनलाई नै पुनःपरिभाषित गर्नुपर्छ ।’ आन्दोलनका कमाण्डर भनिनेहरु र अरु कतिपय व्यक्तिले पटक–पटक नेपाललाई बंगलादेश बनाइन्छ भनेर बोलेको ज्ञवालीले स्मरण गरे ।

‘धेरै सञ्चारमाध्यमले ध्यान दिएनन्, त्यस दिन उनीहरुले ‘अब केही समयपछि विमानस्थल ठप्प हुन्छ’, भनेका थिए । त्यो भन्नुको कारण के हो ? उनीहरुको योजना एयरपोर्ट कम्पाउन्डभित्र रहेको आयल निगमको डिपोसम्म पुग्ने थियो । त्यो तहसम्म अपराधिक योजना बुनिएको थियो । यसलाई असन्तुष्टि मान्न सकिन्छ ? जनताको गुनासाहरु छन् । तर त्यस दिन जे प्रकट भयो त्यो कुनै जनअसन्तुष्टि होइन । योजनावद्ध ढंगले अहिलेको व्यवस्था उल्टाउने प्रयास हो’, उनले भने ।

१५ गतेको घटनामा राजा ज्ञानेन्द्र जवाफदेही हुनैपर्ने एमालेको ठहर छ । फागुन ७ गतेको सन्देशमा नै ‘आफूलाई साथ दिन’ आह्वान गरेको र कमाण्डरसमेत तोकेको ज्ञवालीले बताए ।

उनले भने, ‘उहाँले १५ गतेको घटनाप्रति गाह्रो मानिमानि दुख गर्नुभयो, तर जवाफदेहीता देखाउनुभएन । फागुन ७ गते मलाई साथ दिनुस्, भनेपछि र आफैंले कमाण्डर तोकेपछि उहाँको कमाण्डरको नेतृत्वमा सबै कुरा भएका छन् भने उहाँ जवाफदेही हुनुपर्थ्यो, तर पन्छिनुभयो । उहाँको अभिव्यक्तिमा यत्रो घटना घट्यो, जनताले अस्वीकार गरे । यो अनावश्यक र व्यर्थको प्रयास रहेछ, मैले हिँडेको बाटो गलत रहेछ र जिम्मा दिएका पात्रहरु गलत रहेछन् भनेर रिग्रेट गरेर एउटा नागरिकको हैसियतले मुलुकको प्रणालीलाई सघाएर अगाडि बढ्छु भन्नुपर्नेमा उहाँ अझै पनि सच्चिनुभएको छैन ।’

‘जनताको असन्तुष्टिलाई नसुन्ने कुनै पनि तन्त्र हुँदैन भन्नुभएको छ । उहाँ आफूले शासन चलाएको बेलाको के थियो ? मान्छेले बिर्सिसकेका छैनन् । उहाँको नेतृत्वको तन्त्रले जनताका सारा अधिकार खोसेको, पटक–पटकको सम्झौता उल्लंघन गरेकाले जनता गणतन्त्रमा पुगेका हुन् । यो गणतान्त्रिक प्रणालीलाई बदल्न सकिन्छ कि भन्ने आशा उहाँमा अझै लेखिन्छ । तर त्यो व्यर्थको कुरा हो । यस्तो केही प्रयास नगर्दा राम्रो हुन्छ’, उनले भने ।

ज्ञवालीले तीनकुने घटनामा प्रहरी अनुसन्धान चलिरहेको भन्दै प्रचलित फौजदारी कानून कार्यविधि अन्तरगत कारवाही हुने बताए ।

उनले थपे, ‘हामी कसैप्रति पूर्वाग्रही छैनौ । भोलि अनुसन्धान गदै जाँदा प्रमाणका आधारमा जो जो दोषि देखिन्छन्, सबैमाथि कारवाही हुन्छ । उहाँले नैतिकरुपमा जवाफदेही त हुनैपर्छ ।’

 

Comments

2 responses to “तीनकुनेको घटनामा एमालेले खोज्यो पूर्वराजाको जवाफदेहिता, नैतिक जिम्मेवारी लिनैपर्ने माग”

  1. manaia thompson Avatar
    manaia thompson

    aafno aafno bujhaai ho kamred. Timiharu jasta jyaanmaaraa ko jhundako pani uni raja nai hun. Alikati pani gyan bhaye

  2. Nick Kashyap Avatar
    Nick Kashyap

    झेमालेको जबरजस्ती, हुनैपर्छ नत्र… रे। प्रमाण नहॅुदा त यस्तो हुइयॅा छ स्यालहरूको। तॅ स्यालहरूले बोक्ने मार्क्सबाद-लेनिनबाद र फ्रान्सेली आतंकक्रान्ती बाट प्रेरित सबै राजनैतिक घटनाहरू ऐतिहासीक रूपमा संसारभर हिंसात्मक शासकिय द्वन्द को स्रोत हो। त्यस्तो हिंसा प्रेरित सिदान्त बोक्ने तॅ स्यालहरू लाइ चाही निकाला गर्नु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *