रुपन्देही । कपिलवस्तुको बुद्धभूमि नगरपालिका- ९ गब्दहवाका २८ वर्षीय समुन्द्र गाहामगरको शिकार खेल्न सँगै गएका साथीको बन्दूकको गोली लागेर मृत्यु भएको छ ।
दुई दिनअघि साथीसहित समुन्द्र शिकारमा गएका थिए । साथीहरूले भने प्रहरीसँग बाख्रा चराउन गएको बेला अरुले गोली हानेको भनेर झूटो बयान गरेका छन् । तर, प्रहरी अनुसन्धानका क्रममा उनीहरूले नै लगेको बन्दुकबाट मृत्यु भएको खुलेको छ ।
इलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुका इन्स्पेक्टर वीरबहादुर सुनारका अनुसार समुन्द्रलाई साथीले बोकेको बन्दूक पड्किएर छर्रा लागेको थियो ।
‘सुरूमा मृतककी आमाले पनि जंगलमा अरुले हानेको गोली लागेको बताएकी थिइन्, गाउँलेले पनि ढाँटेर दुःख दिए, दुई दिनको अनुसन्धानपछि मात्रै उनीहरूले लगेको बन्दूक पत्ता लाग्यो’, उनले नेपाल प्रेससँग भने ।
आइतबार समुन्द्र ३४ वर्षीय रामबहादुर थारु र ३६ वर्षीय कालु भन्ने राम थारुसँग कपिलवस्तु र अर्घाखाँची सिमानाको बुद्ध यशोधरा सामुदायिक वनमा शिकार गएका थिए । तर, जंगल छेउवा पुग्दा गाडीको आवाज सुनेपछि प्रहरीको गाडी आयो भनेर भाग्दै गर्दा राम थारुले बोकेको बन्दूक पड्किएर समुन्द्रको खुट्टामा लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको इन्स्पेक्टर सुनारले बताए ।
समुन्द्रलाई भैरहवा मेडिकल कलेजमा उपचारका लागि लगिएकोमा अत्यधिक रक्तश्रावको कारण मृत्यु भएको प्रहरीले बताएको छ । घाइते भएका समुन्द्रलाई ती साथीहरूले कसैलाई नभनी उपचारका लागि मेडिकल कलेज लगेका थिए ।
प्रहरीले सुरूमा ३ जना सन्दिग्धलाई पक्राउ थियो । प्रहरीका अनुसार शिकार खेल्न गएका रामबहादुर थारु, कालु भन्ने राम थारु र बन्दूक लुकाउन सहयोग गर्ने प्रवेश थारुलाई पक्राउ गरिएको छ । २ नाल भरुवा बन्दूक पनि बरामद गरिएको सुनारले बताए । बरामद एउटा बन्दूक फायर गरिएको र अर्को लोड अवस्थामा भेटिएको उनले सुनाए ।
उनीहरूलाई मंगलबार म्याद थपेर कर्तव्य ज्यान मुद्दा तथा अवैध हातहतियारसम्बन्धी मुद्दा अघि बढाइने प्रहरीको तयारी छ । समुन्द्रको सोमबार बिहान अन्त्येष्टि गरिएको छ ।

Leave a Reply