प्रधानमन्त्रीलाई कांग्रेस सहमहामन्त्रीको खुलापत्र- शिक्षकको मागमा सरकार किन गम्भीर हुँदैन ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र लेखेका छन् । आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकारको ध्यान नगएको भन्दै प्रधानमन्त्रीलाई खुलापत्र लेखेका हुन् ।

उनले भनेका छन्, ‘सरकार किन गम्भीर हुँदैन ? के शिक्षकको शालीनतालाई कमजोरीका रूपमा त हेरिएको होइन ? यदि सरकारले शिक्षक महासंघको आन्दोलन अब १-२ दिन भित्र समाधान नभएमा नेपाली कांग्रेस पार्टीले यस विषयलाई गम्भीरतापूर्वक लिनु पर्दछ ।’

यस्तो छ उनले लेखेको खुलापत्र-

सम्माननीय प्रधानमन्त्रीज्यू

जय नेपाल !
विषयः नेपाल शिक्षक महासंघको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई जोडदार माग गर्दै, खुल्ला-पत्र ।

नेपाल शिक्षक महासंघले विगत वर्षदेखि चरणबद्ध आन्दोलन गर्ने क्रममा यही चैत्र २० गतेदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेको व्यहोरा अवगतनै छ । नेपाल शिक्षक महासंघसंग विगतमा सरकारले पटक-पटक सम्झौता गरेको विषय स्मरण गराउन चाहन्छु । महासंघले उठाएका जायज मागप्रति हाम्रो समर्थन रहेको छ ।

पार्टीको तर्फबाट अनौपचारिकरुपमा सरकारका सरोकारबाला मन्त्रीहरुसंग बारम्बार छलफल भएको नै छ । तथापी आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद पक्ष हो भन्ने हामीलाई लागेको छ ।

२०८२ साल प्रारम्भ हुँदैछ । आम नेपाली जनता नयाँ वर्ष -आफ्नो तरिकाबाट मनाउँदै छन् तर आम शिक्षक साथीहरु माईतिघरमा आन्दोलन गर्नुपर्ने परिस्थिति सृजना भएको छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

सरकार किन गम्भीर हुँदैन । के शिक्षकको शालीनतालाई कमजोरीका रुपमा त हेरिएको होइन ? यदि सरकारले शिक्षक महासंघको आन्दोलन अब १–२ दिन भित्र समाधान नभएमा नेपाली कांग्रेस पार्टीले यस विषयलाई गम्भीरतापूर्वक लिनु पर्दछ भन्ने मेरो पार्टीसंग समेत जोडदार माग रहनेछ ।

जय नेपाल !
जीवन परियार
प्रतिनिधि सभा सदस्य एवं सहमहामन्त्री, नेपाली कांग्रेस ।

Comments

One response to “प्रधानमन्त्रीलाई कांग्रेस सहमहामन्त्रीको खुलापत्र- शिक्षकको मागमा सरकार किन गम्भीर हुँदैन ?”

  1. ksp pyl Avatar
    ksp pyl

    काँग्रेसका भूरे, टाकुरे सबैले ओलिलाई चेतावनी दिने, सचेत गराउने, विरोध गर्ने लहर नै चलाएका छन् । यी मिस्टरले पनि शिक्षकका मागमा सरकार गम्भीर भएन भनेछन् । शिक्षकको मुख्य माग के हो थाहा छ ? छैन । थाहा पाउन जरूरी पनि ठानेको छैनौ । स्थानीय तहले गर्ने सरूवा, पदस्थापन लगायतका काम केन्द्र वा अन्य निकायले गर्नुपर्यो भन्ने माग हो । संविधानमै भएको व्यवस्था अहिले ओलिले फेर्न सक्छन् ? अरू माग त पूरा भैसकेका छन् । शिक्षकलाई के गरेर हुन्छ नपढाईकन सुविधा चाहिँ सबै लिएर जागिर खानु परेको छ । स्थानीय तहले त पढाउन लगाउँछ । फुक्काफाल हुन दिंदैन । यिनको बानी पहिलेदेखि नै बिग्रिएको थियो ।आन्दोलन फुक्काफाल हुन पाउँ भन्नको लागि हो । ऐन जारी गर्ने कुरा त संसदको कार्य क्षेत्रमा छ । ओलिले ऐन छिटो पास गरिदिनुपर्यो भनेमा भोलि तिमी नै ओलिले संसदको अधिकारमा हस्तक्षेप गरे भनेर रूँदै हिडछौ । आजकाल भुरे, टाकुरेहरू जागेको चाहि भनेको मान्छेलाई नियुक्ति दिलायर दलाली असुल्न नपाएर हो । मुख्य विरोधको कारण त त्यो हो नि । तैपनि देउवा गठबन्धनप्रति ईमानदार भएसम्म भूरे टाकुरे कराईरहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *