काठमाडौं । काठमाडौं उपत्यकामा विद्युत्को लाइन भूमिगत गर्ने कार्य भइरहेको छ । उक्त कार्यको परीक्षण गर्ने क्रममा ३ वटा ब्रेकर (लाइन जोड्ने र काट्ने स्वीच) मा क्षति भएको छ । प्राधिकरणको मातातीर्थ सबस्टेसनमा आइतबार दिउँसो भूमिगत लाइन परीक्षणको क्रममा सर्किट ब्रेकर पड्किएको हो ।
अहिले चन्द्रागिरीमा वैकल्पिक प्रसारण लाइनबाट विद्युत् प्रवाह भएको छ । स्यूचाटार फिडरबाट पनि क्षति भएको ठाउँमा विद्युत् प्रभाव भएको छ । भने, केही ठाउँमा वैकल्पिक फिडरबाट लाइन जोड्ने कार्य भइरहेको प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हिजो भूमिगत लाइन परीक्षण गर्दा ३ वटा ब्रेकर पड्किएको बताए ।
उनले नेपाल प्रेससँग भने, ‘भूमिगत लाइन सप्लाइ गर्ने काम सकिएपछि लाइन सप्लाई परीक्षण गर्ने बेला ३ वटा ब्रेकर पड्किएको हो । करिब २ करोडको क्षति भएको अनुमान छ । प्राधिकरणलाई लाइन भूमिगत गर्ने ठेकेदार कम्पनीले हस्तान्तरण गरेको छैन । कम्पनीले नै भएको क्षति बीमाबाट व्यहोर्छ ।’
प्राधिकरणले क कति कारणले ब्रेकर पड्किएको भनेर अध्ययनसमेत गर्ने भएको छ । मानवीय त्रुटि वा अन्य कारण अध्ययनपछि थाहा हुने प्राधिकरणले बतायो । तार भूमिगतको काम एलएन्डटी निर्माण सेवाले गरेको थियो । भने हिजो परीक्षण पनि त्यही कम्पनीले गरेको हो ।
मातातीर्थमा तार भूमिगत सवस्टेसन २०८० माघमा सम्पन्न भएको थियो ।

Leave a Reply