बाँसमा सपना बुनिरहेकी लक्ष्मी : ‘सकिन्छ’ भन्ने विश्वासले जागेको ग्रीन कर्णाली उद्योगको कथा (भिडिओ)

सुर्खेत । दैलेख, भगवती गाउँपालिका-६ कट्टीकी लक्ष्मी भट्टराई उद्यमशीलताको एक उदाहरणीय पात्र हुन् । आफ्नो जन्मभूमि कर्णालीमा केही नयाँ र पृथक गर्नुपर्छ भन्ने चाहनाका साथ उनले ‘ग्रीन कर्णाली बहुउद्देश्यीय उद्योग’ स्थापना गरेकी छन् ।

यो उद्योगमार्फत उनी बेत बाँसका विभिन्न फर्निचर सामग्री निर्माण गर्दै आएकी छन् । उनका उत्पादनहरू घर तथा कार्यालय सजावटका सामग्रीदेखि लिएर दैनिक उपभोग्य वस्तुसम्म रहेका छन्।

भट्टराई निजी वन महासंघको केन्द्रीय सचिवसमेत भएकाले पनि उनलाई बेत बाँसको सामग्रीको व्यवसायप्रति रुचि थियो । केही गर्नैपर्छ भन्ने मनसायसहित उनले उद्योग स्थापना गर्नुअघि दुई वर्षसम्म बेत बाँससम्बन्धी अध्ययन गरिन् । उद्योग सञ्चालनका लागि उनले सुरूमा २० लाख रूपैयाँ लगानी गरिन् ।

सुरूमा कर्णालीमै श्रमिक खोज्ने प्रयास गरिए पनि आवश्यक सीपयुक्त जनशक्ति नपाएकाले उनले भारतको सिलगुडीबाट दुईजना दक्ष श्रमिक ल्याएर काम सुरु गरेकी थिइन् ।

तर, सफलता सधैँ सजिलो हुँदैन । उद्योग स्थापनाको केही समयपछि नै विभिन्न कारणले गर्दा उद्योग दुई वर्षसम्म बन्द रह्यो । लगानी, श्रम, सीप र इच्छाशक्ति हुँदाहुँदै पनि बजार व्यवस्थापन, सरकारी सहयोगको अभाव र श्रमिकको अभावजस्ता समस्याले उद्योगले ठूलो चुनौती बेहोर्नुपर्‍यो । तर, हिम्मत हारिनन् । उनले उद्योग पुनः सञ्चालन गर्दै विभिन्न समस्याहरू चिर्दै अघि बढिन् ।

पोखरा-काठमाडौंसम्म बजार

लक्ष्मीको उत्पादन सामग्री कर्णालीका जिल्लाहरू भन्दा काठमाडौं, पोखरा र सुदूरपश्चिमका बजारमा बढी खपत हुने गरेको छ ।

बेत बाँसका सामग्री गुणस्तरीय, हल्का, टिकाउ र डिजाइनयुक्त हुने भए पनि तुलनात्मक रूपमा महँगो हुँदा स्थानीयस्तरमा खपत कम भएको उनको बुझाइ छ । बजार व्यवस्थापनको अभाव, सरकारी प्राथमिकताको कमीले आफ्नै ठाउँका उद्योगी निराश हुने अवस्था छ ।

भट्टराई भन्छिन्, ‘कर्णालीको उत्पादनलाई कर्णालीले नै उपेक्षा गर्दा हामीजस्ता उद्योगीहरू निराश हुन्छौं । सरकारले स्थान दिएको भए र उत्पादनको बजार व्यवस्थापनमा प्रतिबद्धता जनाएमा अझ धेरै रोजगारी सिर्जना गर्न सकिन्थ्यो ।’

उनले तयार पारेका सामानहरू ५ सय देखि १ लाख १० हजारसम्ममा बिक्री हुन्छ । ती सामग्री घर तथा कार्यालय सजावटमा बढी प्रयोग हुन्छ ।

महिलालाई रोजगारी

ग्रीन कर्णाली बहुउद्देश्यीय उद्योगमा हाल ७ जना कर्मचारी छन् । जसमा अधिकांश महिला छन् । महिलालाई आत्मनिर्भर बनाउनु आफ्नो उद्देश्य रहेको लक्ष्मी सुनाउँछिन् । सुरूमा उनले एक महिने तालिम दिएर प्रशिक्षित महिलाहरूलाई उद्योगमा जोडेकी थिइन् ।

४० वर्षीया टीकाकुमारी शर्मा भन्छिन्, ‘हात-खुट्टा चलिरहेसम्म म आत्मनिर्भर भएर बाँच्नेछु । आफ्नो श्रमले जीवन चलाउन सक्नु नै हाम्रो सशक्तीकरण हो ।’

वीरेन्द्रनगर-११ की तुलसीकुमारी थापा खत्रीको जीवनपनि यस्तै प्रेरणादायी छ । श्रीमानको निधनपछि आर्थिक अभाव खेपिरहेकी उनलाई उद्योगमा काम गर्ने अवसर मिल्यो । अहिले उनी मासिक १५ हजार थापिरहेकी छन् ।

‘पहिले काम गर्ने अवसर थिएन । अहिले भने आफ्नै श्रमले छोरा र घर खर्च चलाउन सकेकी छु । अरूसँग हात थाप्नु पर्दैन,’ उनी भन्छिन् ।

लक्ष्मी र उनको उद्योगका महिलाले सरकारी तहबाट सहयोग र समर्थनको आशा गरेका छन् । पुनः प्रयोग गर्न मिल्ने, र वातावरणमैत्री स्रोत भएकाले बेत बाँसका सामानले प्लास्टिकजन्य वस्तुलाई विस्थापित गर्ने उनीहरू बताउँछन् ।

बेत बाँस प्रशोधन तथा फर्निचर उद्योगमा लगानी गर्न सहज वातावरण सिर्जना गरियो भने यहाँका युवाले रोजगारीका लागि बाहिर जानु नपर्ने उनी सुनाउँछिन् ।

भट्टराई भन्छिन्, ‘यदि युवालाई स्वदेशमै रोक्न चाहन्छौं भने, यहाँ उत्पादन भएका सामग्रीलाई बजारीकरण गर्न सरकारले साथ दिनुपर्छ ।’

कर्णाली सरकारले आफ्नै उद्योगीहरूलाई प्रवर्द्धन गर्ने नीति लिने हो भने, स्वदेशमै उत्पादन भएका सामग्रीको खपत वृद्धि हुनेछ । यसले उद्यमशीलता मात्र नभई, स्थानीय रोजगारी, वातावरणीय स्थिरता र आर्थिक समृद्धिमा समेत योगदान पुर्‍याउनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *