रुपन्देही । रुपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिकाको २५ वर्ष पुरानो सहकारी संस्थामा अध्यक्षसहित सञ्चालक समिति र व्यवस्थापक तथा सहायक व्यवस्थापकको बढ्दो विवाद ले बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ । ०५७ सालमा दर्ता भएको यो सहकारीमा ६४८ सदस्य र करिब १५ करोड पूँजी छ ।
अध्यक्षसहितको सञ्चालक समितिले फागुन २६ मा व्यवस्थापक हरिप्रसाद कुर्मी र सहायक अंगदप्रसाद साहनीले बदमासी गरेको भन्दै निलम्बन गरेको थियो । यी दुईजनाले आफूलाई अन्याय परेको भन्दै अदालत गएका छन् । अहिले सहकारी नै बन्द गरिएको गाउँपालिकाका सहकारी विभागका कर्मचारी महेन्द्रप्रसाद हरिजनले नेपाल प्रेसलाई बताए ।
‘कर्मचारीले गल्ती गरेको भनेर सञ्चालक समितिले निलम्बन गरेर छानबिन गरिरहेको छ । तर, उल्टै कर्मचारीले मुद्दा दिएपछि अहिले सहकारीको कार्यालय बन्द छ, यति धेरै पुरानो र ठूलो रकम जम्मा भएको सहकारीमा समस्या आउँदा धेरै सदस्यलाई समस्या परेको छ’, उनले भने ।
हरिजनका अनुसार कर्मचारीले सञ्चालक समितिलाई जानकारी नै नदिई लगानी गर्ने, बैंकमार्फत नगरेर नगदी कारोबार गर्ने र रेकर्ड माग्दा रिसाउने गरेका कारण समस्या आएको हो ।
पालिकामा आएको अडिट रिपोर्टमा पनि कर्मचारीले बदमासी गरेको देखिएको उनले बताएका छन् ।
सहकारीमा बचत रकम फिर्ता लिन, ऋण लिन, ऋण सावा तथा ब्याज तिर्न आउने शेयर सदस्य त्यत्तिकै फर्किरहेका छन् । संस्थाका अध्यक्ष दीपचन्द्र मौर्यले सहकारीका व्यवस्थापक र कार्यालय सहायकलाई निलम्बन गरेको अदालतको निर्णय यथावत राख्न अदालतको आदेशले सहकारी बन्द अवस्था रहेको बताए ।
विवाद छिटो समाधान गरी पूर्णरूपले सञ्चालन गर्ने उनले सुनाए । आर्थिक कारोबारमा कर्मचारी र सञ्चालक समितिको संयुक्त दस्तखत चल्ने भएकोले बचत रकम फिर्ता गर्न कुनै बाटो नदेखिएको उनको भनाइ छ ।
बचतकर्ता मादिका लोनियाले वैशाख ५ मा कान्छी छोरीको बिहे तय भएको भन्दै वर्षौदेखि जम्मा गरेको रकम सहकारीबाट फिर्ता नपाउने अवस्थामा चिन्तित देखिएको बताउँछन् । सहकारीमा आफ्नो करिब ६ लाख रूपैयाँ जम्मा भएको उनको भनाइ छ ।
उनले भने–‘छोरीको विवाह गर्न रकम जम्मा गरेको थिएँ । तर, अहिले सञ्चालक समिति र कर्मचारीको विवादले सहकारी बन्द हुँदा विवाहको समयसम्म मेरो रकम आउने कुनै आशा छैन । बचत रकम फिर्ता लिन अध्यक्षसँग सोध्दा सहकारीको विवाद समाधान नभएसम्म कुनै विकल्प नरहेको बताउँछन् ।’
सम्मरीमाई-६ का नन्दलाल चौहानले पनि छोरीको बिहेको खर्च जुटाउन समस्या भइरहेको सुनाए । उनका बुवा बुद्धु चौहानले पनि पेन्सनको ५० हजार सहकारीमा जम्मा गरेका छन् ।
उनले भने, ‘बचत फिर्ता माग्न जाँदा सहकारीमा ताला लागेको देखियो । अध्यक्षले सहकारीमा विवाद रहेको र कर्मचारीले रकम हिनामिना गरेकाले विवाद टुंगिएपछि मात्र बचत रकम फिर्ता हुन्छ भन्नुभयो ।’
नियमित औषधि खाइरहेका अर्का शेयर सदस्य राजकुमार केवट पनि औषधिउपचारमै समस्या भइरहेको बताउँछन् । डेढ लाख बचत गरेको उनले सुनाए ।
विनोद बर्माले फलफूलको पसलबाट दैनिक ५ सय रूपैयाँ गरेको बचत एक वर्षमा पाउने म्याद सकिन लागेको छ । सहकारीको विवादले पैसा नफर्किएकोमा चिन्तित छन् उनी ।
सहकरीका ६४८ सदस्य अधिकांश किसान छन् । घरखर्चसँगै खेतीपातीका औजार र बीउबिजन किन्नुपर्ने समयमा बचत फिर्ता नभएपछि उनीहरू दैनिक सहकारीको कार्यालय र अध्यक्षको घरमा धाइरहेका छन् ।

Leave a Reply