काठमाडौं । नेपालमा अटोमोबाइल उद्योगको भविष्यलाई नयाँ दिशा दिने उद्देश्यले पहिलोपटक आयोजित ‘नाडा अटो संवाद २०८१’ सम्पन्न भएको छ । कार्यक्रमले देशको गतिशीलता अवधारणामा क्रान्तिकारी परिवर्तनको आवश्यकता र सम्भावनालाई उजागर गरेको नाडा अटोमोबाइल्सन एशोसिएसन अफ नेपालका महासचिव सुरेन्द्रकुमार उप्रेती बताउँछन् ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रडा शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय, एडीबी नेपालका निर्देशकलगायत विशेषज्ञहरू प्यानलमा सहभागी थिए ।
प्यानलगत छलफल निम्न विषयमा केन्द्रित थियो
१. अघिल्लो ५० वर्षको यात्रा र आगामी बाटो
इन्धनचालित सवारीसाधनबाट विद्युतीय सवारीमा नेपालले गरेको प्रगतिको चर्चा गर्दै, नीति असंगतिका कारण उत्पन्न चुनौतीहरूबारे छलफल गरिएको छ । हालैको लोन टु भ्याल्यू (LTV)नीति परिवर्तनले उद्योगको स्थायित्वमा असर पारेको कुरामा जोड दिइएको थियो ।
२. सवारीसाधन विलासिता होइन, आवश्यकता:
सवारीलाई केवल धनीको विलासिता हैन, सर्वसाधारणको आवश्यकताको रूपमा प्रस्तुत गरिएको थियो । मध्यम तथा निम्न आय भएका वर्गका लागि यातायात पहुँचयोग्य बनाउन पूर्वाधार विकास, स्थानीय उत्पादन र उपभोक्तामैत्री वित्तीय नीतिको आवश्यकतामा कार्यक्रममा जोड दिइएको थियो ।

३. आर्थिक विकासको लागि दिगो गतिशीलता:
देशको आर्थिक समृद्धिका लागि दिगो र पर्यावरणमैत्री यातायातको महत्वमा चर्चासँगै कार्यक्रममा विद्युतीय सवारीसाधन र हरित ऊर्जाको प्रयोगले आयातमा निर्भरता घटाउँदै स्वदेशी उत्पादनमा टेवा पुर्याउने विश्वास जनाइएको थियो ।
४. भिजन २०५०- गतिशीलताको भविष्य:
नेपालको भूगोल अनुसार स्मार्ट सिटी, स्वचालित गाडी, र वैकल्पिक ऊर्जामा आधारित यातायात प्रणालीको सम्भावनामा चर्चा गरिएको थियो । त्यस्तै दीर्घकालीन नीतिगत स्थिरता र सरकारी प्रतिबद्धता बिना यो सपना अधुरो हुने चेतावनी दिइएको छ ।
यो संवादले नेपाली समाजमा कारप्रतिको दृष्टिकोणलाई ‘विलासिता’ बाट ‘आवश्यकता’ मा रूपान्तरण गर्ने स्पष्ट सन्देश दिएको महासचिव उप्रेतीको भनाइ छ । यसले गतिशीलतालाई आर्थिक समृद्धि, रोजगारी सिर्जना, र राष्ट्रिय विकाससँग जोडिएको मौलिक अधिकारको रूपमा पुनः परिभाषित गरेको उनले बताए ।


Leave a Reply