रुपन्देही । ट्रिनेटी युवा क्लब वालिङ बुटवलमा जारी नकआउट महिला फुटबल प्रतियोगिता–२०८१ को विजेता बनेको छ ।
प्रतियोगिता अन्तरगत शनिवार भएको फाइनलमा ट्रिनेटी युवा क्लब वालिङले राइजिङ स्टार क्लब, कपिलवस्तुलाई १–० गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा ट्रिनेटी युवा क्लब वालिङकी जर्सी नं.२ कि यशोदा शाहीले गरेको गोल नै निर्णायक बन्न पुग्यो । एक शून्य गोलले पछाडि परेको राइजिङ स्टारले दोस्रो हाफमा गोल गर्ने ३ वटा सुन्दर अवसर सदुपयोग गर्न सकेन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफको २२ औं मिनेटमा शाहीले टिमका लागि गोल गर्दै अग्रता दिलाएकी थिइन् ।
फाइनल खेलको प्लेयर अफ म्याच ट्रिनेटी क्वलकी स्कोरर यशोदा शाही भइन् । उपाधि विजेता वालिङले सेमिफाइनलमा एमएससी भारतलाई र उपविजेता कपिलवस्तुले आयोजकलाई हराएको थियो । प्रतियोगिताको उपाधि विजेता टिम ट्रिनेटी युवा क्लब वालिङले नगद १ लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता राइजिङ स्टार क्लब, कपिलवस्तुले नगद ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त ग¥यो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी ट्रिनेटी युवा क्लब वालिङकी सिमरन राई भइन् । उनले नगद २५ हजार तथा मेडल प्राप्त गरिन् । यसै गरी उत्कृष्ट गोल किपर राइजिङ स्टार क्लब, कपिलवस्तुकी सुनयना चौधरी, वेस्ट फरवार्ड ट्रिनेटी क्लब वालिङकी पूर्णिमा राई, वेस्ट डिफेन्डर राइजिङ स्टारकी धाना बोहरा, उत्कृष्ट प्रशिक्षक टिनेटी युवा क्लबका दिलिप थापा घोषित भए । उनीहरुले जनही १० हजार नगद तथा कप प्राप्त गरे ।
विजेता तथा उपविजेता टिमलाई कप, मेडल, प्रमाणपत्र बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रीदेवी अर्याल, नगर खेलकुद समितिका संयोजक वोनिनया, आयोजक विस पचहत्तर युवा परिवारका अध्यक्ष सुरेन्द्र थापा, सचिव दीपक गुरुङ, खेल संयोजक बुद्धिबहादुरदर्जी लगायतले प्रदान गरे ।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा बिस पचहत्तर युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा आयोजक , सुनवल नगरपालिका, वीरगन्ज यूथ एकेडेमी, वसन्त युनाइटेड क्लब चितवन, हेटौडा फुटबल एकेडेमी, राइजिङ स्टार युवा क्लब कपिलवस्तु, वालिङ, एमएससी भारतसहित ८ टिमको सहभागिता रहेको थियो ।

Leave a Reply