ओमानमा अमेरिका र इरानबीच उच्चस्तरीय आणविक वार्ता सुरु

मस्कट । संयुक्त राज्य अमेरिका र इरानबीच तेहरानको आणविक कार्यक्रमबारे अत्यन्त संवेदनशील वार्ता शनिबार ओमानको राजधानी मस्कटमा सुरु हुँदैछ । वार्ता सफल नभए सैनिक कारबाही हुनसक्ने चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन् ।

यो वार्ता सन् २०१८ मा राष्ट्रपति ट्रम्पले इरानसँगको अन्तर्राष्ट्रिय आणविक सम्झौताबाट अमेरिका बाहिरिएपछि दुबै देशबीचको सबैभन्दा उच्चस्तरीय संवाद हो । वार्तामा अमेरिकातर्फबाट विशेष दूत स्टिभ विटकोफ र इरानतर्फबाट विदेशमन्त्री अब्बास अराघ्चीले नेतृत्व गरेका छन् ।

इरानको सरकारी समाचार संस्थाका अनुसार अराघ्चीको टोली शनिबार बिहान तेहरानबाट मस्कट प्रस्थान गरिसकेको छ।

वार्ता सुरु हुनु केही घण्टाअघि राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग भने, ‘म चाहन्छु इरान समृद्ध र सुखी देश बनोस्, तर त्यसले कहिल्यै आणविक हतियार नबनाओस् ।’

इरानका सर्वोच्च नेता अयातोल्ला खामेनेईका सल्लाहकार अली शामखानीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘हामी एक वास्तविक र न्यायोचित सम्झौता खोजिरहेका छौं । यदि अमेरिकाले सद्भाव देखायो भने वार्ता सफल हुन सक्नेछ ।’

वार्ताको औपचारिक स्वरूप पुष्टि भइसकेको छैन । अमेरिकाले प्रत्यक्ष वार्ता हुने बताएको छ भने इरानले तेस्रो पक्षको माध्यमबाट संवाद हुने बताएको छ । इरानी सञ्चार माध्यमका अनुसार दुबै पक्षले ओमानी विदेशमन्त्रीसँग भेटपछि अप्रत्यक्ष वार्ता सुरु गर्नेछन्।

चिन्ता बढ्दो

दुबै देशले पछिल्ला दिनमा एकअर्कालाई सैनिक कारबाहीको चेतावनी दिँदै आएका छन् । ट्रम्पले भनेका छन्, ‘यदि वार्ता असफल भयो भने आवश्यक परे सैन्य कदम चालिन्छ ।’

यसको जवाफमा इरानले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई देशबाट निष्कासित गर्नसक्ने चेतावनी दिएको छ, जसलाई अमेरिका तनावको वृद्धि मानेको छ ।

वर्षौंदेखि कडा प्रतिबन्धको मारमा परेको इरान अहिले वार्ताबाट केही आर्थिक राहत खोजिरहेको विश्लेषकहरू बताउँछन् । सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका बाहिरिएपछि इरानले आफ्नो कार्यक्रम तीव्र बनाएको छ ।

हालै अन्तर्राष्ट्रिय ऊर्जा संस्थाले इरानसँग ६० प्रतिशतसम्म प्रशोधित युरेनियम रहेको जानकारी दिएको छ, जुन हतियार निर्माणको लागि आवश्यक ९० प्रतिशतको नजिक छ ।

सरकारको अस्तित्व जोगाउने प्रयास

विशेषज्ञहरूका अनुसार इरान अहिले पूर्ण रूपमा आणविक कार्यक्रम बन्द गर्न तयार छैन, तर केही गतिविधि फिर्ता लिने सम्भावना छ । वार्ता सफल भए इरानको अर्थतन्त्रमा केही सहजता आउने र जनताको असन्तुष्टि कम हुने विश्वास गरिएको छ ।

यस प्रकार अमेरिका र इरानबीचको यो वार्ता केवल आणविक कार्यक्रमका लागि मात्र नभई सम्पूर्ण क्षेत्रको शान्ति, स्थायित्व तथा इरानी सरकारको भविष्यका लागि पनि निकै महत्वपूर्ण मानिएको छ । -रासस/एएफपी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *