एमाले उपाध्यक्ष ज्ञवालीको टिप्पणी- राजा फर्काउँछौं भन्नु र वीरेन्द्र शाहको वंश फर्काउँछौं भन्नु एउटै

कैलाली । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा अराजकता मच्चाउन खोजेको आरोप लगाएका छन् ।

कैलालीको धनगढीमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको विशेषसभालाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले पूर्वराजाले अराजकता मच्चाउन खोजे पनि नेपालमा राजतन्त्र फिर्ता नहुने बताए ।

उनले नेपालमा राजतन्त्रको अन्त्य भएको भन्दै राजा फर्काउँछौं भन्नु र वीरेन्द्र शाहको वंश फर्काउँछौं भन्नु एउटै रहेको टिप्पणी गरे ।

‘राजाको कालमा कति बाटा पिच थिए, अहिले कति छन् ? राजाको पालामा के के अधिकार पाउनुभएको थियो, अहिले के छन् ? यी कुरा हेर्नुस्, त्यसैले राजा फर्काउनु भनेको पिच भएका बाटा पनि कच्ची नै बनाउनुसरह हो, पाएका अधिकार पनि सबै गुमाउनुसरह हो । यस्ता राजा भन्दै हिँड्ने मण्डलेका पछाडि नलाग्नुहोला, हामीले अगाडि बढ्ने हो, पछाडि हेर्ने होइन’, उनले भने ।

कार्यक्रममा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले हिंसा र आतङ्क सिर्जना गरेर मुलुकलाई भड्कालोमा जाख्न सकिन्छ भन्ने कुरा असम्भव भएको बताए ।

उनले देशलाई पछाडि धकेल्ने गरी पूर्वराजाका नाममा भइरहेका गतिविधिको कुनै अर्थ नभएको पनि बताए ।

चैत १५ मा काठमाडौंको तीनकुनेमा पूर्वराजाले जनकमान्डर बनाएर उत्पात मच्चाउने योजनाका योजनाकार दुर्गा प्रसाईंलाई पक्राउ गरेर प्रहरीले कानूनको कठघरामा उभ्याउने प्रक्रिया थालेको बताउँदै महासचिव पोखरेलले हिंसात्मक गतिविधिको प्रतिकार गर्न आह्वानसमेत गरे ।

मरिसकेको इतिहासलाई फर्काउने भन्दा पनि समस्या भएको ठाउँमा समाधान खोज्नुपर्ने उनको भनाइ थियो । अहिलेको प्रमुख समस्या राजनीतिक अस्थिरता र अराजकता भएको बताउँदै पोखरेलले त्यसैमाथि छलफल गरेर विजयी हासिल गर्नुपर्ने उल्लेख गरे ।

अहिले सामाजिक सञ्जालमा अराजकता फैलाउने काम भइरहेकाले इमानदारहरूले अगाडि आएर लोकतन्त्रको पक्षमा खबरदारी गर्नुपर्ने बताए ।

त्यस्तै एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पछिल्लो समय बढेको अराजकतालाई चिर्नु अहिलेको आवश्यकता रहेको बताए ।

विभिन्न क्षेत्रबाट व्यवस्थामाथि आक्रमण भइरहेको भन्दै उनले त्यसविरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिए ।

‘एमालेमाथि प्रहार हुनु भनेको देश र जनतामाथि प्रहार हुनु हो’, उनले भने, ‘यसको प्रतिरोध गर्न जरुरी छ ।’

एमाले केन्द्रीय सदस्य एवं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको समग्र विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको बताए ।

सरकारले औद्योगिक पूर्वाधार विकासमा विशेष जोड दिएकाले औद्योगिक क्षेत्रहरूको स्थापना र स्तरोन्नति, सडक र यातायातको विकासलगायत विषयलाई उच्च प्राथमिकता दिइएको उनको भनाइ थियो ।

मन्त्री भण्डारीले सरकारले उद्योगको विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न, आयात प्रतिस्थापन गर्न र निर्यात प्रवर्द्धन गर्न विभिन्न नीतिगत कार्यक्रमको प्रयास थालेको बताए ।

कार्यक्रमलाई एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, पोलिटब्युरो सदस्य शान्ता चौधरी, नारदमुनि राना, निरु पाललगायतले सम्बोधन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *