काठमाडौं । भोजपुरको चखेवा क्षेत्रमा आएका भारतीय पर्यटक रतुल रोक्सलाई कुटपिट गर्ने कसुरमा तारेख धाइरहेका सन्तोष चाम्लिङ राईले सार्वजनिक रुपमा भारतसँग माफी मागेका छन् ।
उनले सामाजिक सञ्जालमा दुईतर्फको भनाभन भएको र आफूहरुको कुटपिट भएको भन्दै भनेका छन्, ‘मेरो गल्ती स्वीकार्दै इन्डियासँग माफी माग्नेछु । सबै सबैमा सरी !’

भारतका पर्यटकहरुले पनि गाली गरेको भन्दै उनले आफ्नो बचाउ गरेका छन् । यता स्थानीय पर्यटन व्यवसायीहरुले भने सन्तोष चाम्मिङको कुटपिट गर्ने समूह स्थानीय नभएको भन्दै प्रेस विज्ञप्ति जारी गरेका छन् ।
चखेवा होटल तथा होमस्टे व्यवसायी संघले निकालेको विज्ञप्तिमा गत चैत २४ गते भएको भारतीय पर्यटकमाथिको कुटपिटमा जोडिएका स्थानीय नभएको भन्दै भनिएको छ, ‘घटनामा संलग्न व्यक्तिहरु पनि यस चखेवा क्षेत्रको नरहेको कुरा सबैमा जानकारी गराउँछौँ ।’

घटनामा ‘दुःख व्यक्त’ गरेर पीडित भारतीय पर्यटकको ‘उद्धारमा सहयोग’ गरेर प्रहरीलाई बुझाएको अध्यक्ष विवेक कुलुङ राईले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । मुन्दुम पदमार्ग भ्रमण वर्ष २०२५ मनाइरहेको अवस्थामा घटेको घटना भन्दै ‘दोषीलाई कानूनको दायरामा ल्याउन एवं यस प्रकारको घटना नदोहोरिने वातावरण सुनिश्चित गर्न’ संघले सम्बन्धित निकाय र स्थानीय सरकारसँग माग गरेको छ ।

Leave a Reply