शेयर धितो कर्जामा वाणिज्य बैंकहरुको लगानी बढ्दै, कुनले कति गरे ?

काठमाडौं । वाणिज्य बैंकहरूले शेयर धितो कर्जामा लगानी ४३.६० प्रतिशतले बढाएका छन् । वाणिज्य बैंकहरुले चालू आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा ९६ अर्ब ३९ करोड रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह गरेका हुन् । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा वाणिज्य बैंकहरुले ६७ अर्ब १२ करोड रुपैयाँ यस्तो कर्जा लगानी गरेका थिए ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले शेयर धितो कर्जा प्रवाह गरेको छैन । यसबाहेकका वाणिज्य बैंकहरुमध्ये १७ बैंकले शेयर धितो कर्जा प्रवाह बढाउँदा दुई बैंकहरूले शेयर धितो कर्जामा लगानी घटाएका छन् ।

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी नबिल बैंकले शेयर धितो कर्जामा लगानी गरेको छ भने सबैभन्दा कम नेपाल एसबिआई बैंकले शेयर धितो कर्जामा लगानी गरेको छ ।

कुन बैंकले कति गरे लगानी ?

चालू आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा नबिल बैंकले १३ अर्ब ८२ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । जबकि बैंकले गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ११ अर्ब ७१ करोड रुपैयाँ प्रवाह गरेको थियो । जुन ११ महिनासम्म आइपुग्दा बैंकले ३४ करोडले शेयर धितो कर्जा प्रवाह घटाएको छ ।

ग्लोबल आईएमइ बैंकमार्फत चालू आर्थिक वर्षको फागुन मसान्तसम्म ११ अर्ब १६ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ । बैंकले गत आवको सोही अवधिमा ६ अर्ब ७४ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको थियो ।

चालू आवको फागुन मसान्तसम्म कुमारी बैंकले ८ अर्ब ९८ करोड शेयर धितो कर्जा प्रवाह गर्दा सिद्धार्थ बैंकले ८ अर्ब ६२ करोड रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेको छ । यस अवधिमा नेपाल बैंक र प्राइम कमर्सियल बैंक लिमिटेडले ७ अर्ब माथि शेयर धितो कर्जा प्रवाह गरेका छन् ।

यस अवधिमा सिटिजन्स बैंकले ६ अर्ब ४० करोड, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ७७ करोड, लक्ष्मी सनराइजले ४ अर्ब ५२ करोड र प्रभु बैंकले ४ अर्ब ४३ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन् । यसका साथै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ५ करोड शेयर धितो कर्जा प्रवाह गर्दा कृषि विकास बैंकले २ अर्ब ५७ करोड प्रवाह गरेको छ ।

चालू आर्थिक वर्षको फागुन महिनासम्म एभरेस्ट बैंक लिमिटेडले २ अर्ब ५० करोड सानिमा बैंक लिमिटेडले २ अर्ब ३१ करोड, एनएमबी बैंकले १ अर्ब ८७ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ६५ करोड र नेपाल एसबिआई बैंकले ४७ करोड रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेको छ ।

हिमालयन बैंक लिमिटेडले भने शेयर धितो कर्जा प्रवाह घटाएको छ । बैंकले चालू आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म २ अर्ब २ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । यस्तो  कर्जा गत आवको सोही अवधिमा २ अर्ब २७ करोड प्रवाह गरेको थियो ।

त्यस्तै, एनआईसी एसिया बैंकको पनि शेयर धितो कर्जामा जाने लगानी घटेको छ । यस बैंकको चालू आर्थिक वर्षको फागुन महिनासम्म २ अर्ब ४९ करोड रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले यस्तो कर्जा ४ अर्ब ४१ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *