काठमाडौं । दुर्गा प्रसाईंको पक्राउलाई लिएर हिजो एकसाथ फरक-फरक भनाइहरू बाहिर आए । अझैसम्म पनि उनी आफैंले भारतीय प्रहरीमा पुगेर आत्मसमर्पण गरेका हुन् वा प्रहरीले नै खोजेर उनलाई समातेको हो भन्ने विषय राम्ररी ‘क्लियर’ भइसकेको छैन ।
सञ्चारमाध्यममा प्रसाईं पक्राउको समाचार आएलगत्तै उनको सचिवालयले फेसबुक पेजबाट त्यसको पुष्टि गर्यो, तर प्रहरीले खोजेर पक्राउ गरेको नभई प्रसाईं आफैं आत्मसमर्पण गर्न गएको दाबी गरिएको थियो ।
१ लाख ३४ हजार फलोअर्स रहेको दुर्गा प्रसाईं (महाअभियान संस्थापक सचिवालय) नामक फेसबुक पेजमा लेखिएको थियो- अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंज्यूले आफ्नो सुरक्षाको लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ । हिजोमात्र हामीले भिडियोमार्फत हाम्रो ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौं, भनेका थियौं र आज उपस्थित भयौं ! (दुर्गा प्रसाईं) जय देश जय राष्ट्रवाद !
यो पेजलाई यसकारण पनि आधिकारिक मान्न सकिन्छ कि यसअघि भूमिगत रूपमा प्रसाईंले जारी गरेका दुइटा भिडिओ सन्देश यही पेजबाट सार्वजनिक भएको थियो । यो पेज कसले कहाँबाट सञ्चालन गर्छ भन्ने प्रहरीले खोजी गरिरहेको छ ।
अस्ति प्रसाईंले जारी गरेको भिडिओ सन्देशमा आफू मानव अधिकारवादी र वकिलहरूको रोहबरमा २४ घन्टाभित्र आत्मसमर्पण गर्न तयार रहेको बताएका थिए । यसका लागि आफ्नो जीवनरक्षाको ग्यारेन्टी हुनुपर्ने उनको शर्त थियो । नभन्दै त्यसको २४ घन्टाभित्र उनी प्रहरी नियन्त्रणमा आउनुले आत्मसमर्पणको दाबीलाई बल पुग्छ ।
तर प्रहरी स्रोतहरूले भने प्रसाईंलाई भारतीय प्रहरीसँगको समन्वयमा नेपालकै प्रहरी टोली पुगेर पक्राउ गरेको बताइरहेका थिए । प्रहरीले आधिकारिक रूपमा भने यसलाई स्वीकार गरेको थिएन । किनकि नेपालको प्रहरीसँग भारतीय सीमाभित्र गएर धरपकड गर्ने कानूनी अधिकार हुँदैन । समाचार आएपछि अप्ठेरोमा परेको प्रहरी खण्डन विज्ञप्ति निकाल्न बाध्य भयो । प्रहरी प्रवक्ता दिनेश आचार्यले राति ११ः०२ मा विज्ञप्ति निकाल्दै प्रसाईं पक्राउ नपरेको दाबी गरे ।
विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजी सूचीमा रहेको जानकारी गराउँदै हालसम्म उनी पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछौं ।’

हिजो नै राति १०ः५० मा दुर्गा प्रसाईं आवद्ध संयुक्त जनआन्दोलन परिचालन समितिको तर्फबाट एउटा विज्ञप्ति जारी भयो, जसमा पारिवारिक स्रोतका हवाला दिँदै प्रसाईंले आत्मसमर्पण गरेको नभई सुरक्षित रूपमा नेपाल प्रवेश गर्ने व्यवस्था मिलाइदिन भारतीय प्रहरीसँग सहयोगमात्र मागेको उल्लेख छ ।
प्रसाईंका निजी कानून व्यवसायीसमेत रहेका समितिका प्रवक्ता स्वागत नेपालले हस्ताक्षर गरेको विज्ञप्तिको पूरा व्यहोरा यस्तो छः
राष्ट्र राष्ट्रियता धर्म संस्कृति बचाऔं महाअभियानका संयोजक दुर्गा प्रसाईंले भारतीय प्रहरीसमक्ष आफ्नो ज्यानको सुरक्षासहित नेपाल प्रवेश गर्न सहयोग गरिदिन अनुरोध गरेपछि इन्डियाको आसामको गुवाहाटीबाट नेपालको सीमासम्म ल्याई पु¥याउने कार्यमा भारतीय प्रहरीले पारिवारिक स्रोतअनुसार सहयोग गरेकोमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त राष्ट्रिय जनआन्दोलन समिति धन्यवाद ज्ञापन गर्दछ ।
उहाँले आत्मसमर्पण गर्नुभएको होइन, नेपालसम्म सुरक्षित पुर्याइदिन आफैं अनुरोध गर्नुभएको हो । सरकारले काठमाडौंको तीनकुनेको शान्तिपूर्ण कार्यक्रमबाट आफैं लखेटेर फरार रहेको बताइरहेको अवस्थामा नेपाल फर्कंदै गर्दा नेपाल प्रहरीले उहाँ नेपाल फर्किरहेको आफूहरूलाई जानकारी नरहेको प्रतिक्रिया दिएको अवस्थामा उहाँको नेपाल प्रवेशसँगै ज्यान खतरामा रहेको र बेपत्तासमेत पारिन सक्ने स्थिति भएको हुँदा राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्था, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरूलाई उपस्थित भई उहाँको ज्यानको सुरक्षाको प्रत्याभूतिका लागि भूमिका निर्वाह गरिदिनु हुन हामी अपिल गर्दछौं ।’

समितिका एक सदस्यका अनुसार अधिवक्ता नेपाल पहिल्यैबाट प्रसाईंसँग निकट रहेको हुँदा उनलाई यो विषयमा परिवारसँग समन्वय गर्ने जिम्मा दिइएको थियो । सोहीअनुसार नेपालले परिवारसँग सूचना लिएको सूचनाका आधारमा विज्ञप्ति जारी गरेका हुन् ।
नेपाल प्रेससँग कुरा गर्दै नेपालले प्रसाईं आफैं प्रहरीमा गएको सूचना आफूले परिवारबाट पाएको बताए ।
‘परिवारसमेतको सल्लाहमा उहाँ आफैं प्रहरीमा जानुभएको भन्ने बुझियो’, उनले भने, ‘उहाँले आफ्नो ज्यान खतरामा भएकाले सुरक्षित रूपमा नेपालसम्म पुग्ने व्यवस्था मिलाइदिन अनुरोध गर्नुभएको रहेछ ।’
प्रसाईंको जिउज्यानमा साँच्चिकै खतरा रहेको नेपाल बताउँछन् ।
‘आफूमाथि खतरा रहेको बुझेर नै उहाँले २४ घन्टाभित्र आत्मसमर्पण गर्न तयार छु भन्नुभएको हो । प्रहरीले आफैंं भेटेर पक्राउ गर्यो भने बेपत्ता पार्नसक्छ भन्ने लागेर सबै योजनासहित उहाँले यो कदम चाल्नुभएको हो भन्ने लाग्छ’, उनले थपे ।
सुपुर्दगी सन्धि नभएको देशमा प्रहरी जानु र आरोपी समातेर ल्याउनु भनेको राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनविपरीत हुने नेपालको भनाइ छ । साथै प्रहरीले भद्रपुरबाट पक्राउ गरेको भनेर सफेद झूट बोलेको उनले आरोप लगाए ।
‘भारतबाट ल्याएको भिडिओ नै आएको छ, तर प्रहरीले भद्रपुरबाट समातेको भनेर झूटो विज्ञप्ति निकाल्यो’, नेपालले भने, ‘यो झन् ठूलो ब्लन्डर हो ।’
परिवारलाई ‘टर्चर’ दिइएको गुनासो

प्रहरीले प्रसाईं फरार भएपछि उनको परिवारका सदस्यहरूलाई समेत छानबिनमा तानेको छ । दुर्गाका दाइ राकेश प्रसाईंलाई पक्राउ गरेर सोधपुछपछि हाजिर जमानीमा छोडिएको थियो । अन्य परिवारका सदस्यहरूलाई पनि निगरानी गर्ने तथा अनेक पटक सोधपुछ गरेर मानसिक यातना दिने काम भइरहेको एक आफन्तले बताए ।
प्रसाईं राजनीति र अभियानतिर लागेपछि उनको व्यापार व्यवसाय अहिले परिवारका सदस्यहरूको जिम्मामा छ । बीएन्डसी अस्पताल उनकी जेठी सासू इन्दिरा गिरीले हेर्ने गर्छिन् । सोही अस्पतालमा प्रसाईंका छोरा र बुहारी पनि कार्यरत छन् । उनीहरू दुवै डाक्टर हुन् । छोरी भने अध्ययनको सिलसिलामा हाल जापानमा छिन् ।
पारिवारिक स्रोतका अनुसार प्रसाईंका व्यवसायहरूमा अहिले छोरा, बुहारी, जेठीसासू र सालालगायत संलग्न छन् । उनीहरूमाथि पनि सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइदिने भन्दै प्रहरीबाट लगातार ‘थ्रेट’ आइरहेको स्रोतको दाबी छ ।
‘परिवार नै समस्यामा पर्ने भएपछि उहाँले आत्मसमर्पण गर्ने निर्णय गर्नुभएको हो’, स्रोतले भन्यो ।
तर प्रहरी स्रोतले भने प्रसाईंले आत्मसमर्पण नगरेको बताएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आसाममा भारतीय प्रहरीसँग सहकार्य गरेर प्रसाईंलाई पक्रिन सफल भएको दाबी नेपाल प्रहरीका अधिकारीहरूले गरेका छन् । आसाममा प्रसाईं एक नेपाली भाषी आफन्तको घरमा लुकिरहेको अवस्थामा फेला पारिएको बताइएको छ ।

Leave a Reply