रंगीबिरंगी फूलहरूको एउटै माला नेपाली र यहाँभित्र फुल्न कोसिस गरेको आदिवासी समुदायको कुलमा जन्मेर पत्रकारिता गरेका समुदायको बलियो एकता नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) हो । यो एउटै मालामा उनिएका विविध जातजाति र विभिन्न आस्था र विचार बोकेका आदिवासी जनजाति पत्रकारहरूको महासंघ हो र आस्थाको धरोहर पनि । यही फोनिजको आठौं संघीय महाधिवेशन गौतम बुद्धको जन्मभूमि रूपन्देहीको लुम्बिनीमा यही चैत २९ र ३० गते हुँदैछ ।
लुम्बिनी विश्वभरका बौद्धमार्गीको तीर्थस्थल एवं आस्थाको धरोहर हो । गौतम बुद्ध आफ्नो राजसी र एसआराम छोडेर २९ वर्षको उमेरमा आफ्नो परिवारलाई छोडेर ज्ञान प्राप्तिका लागि हिँडेका थिए । ३५ वर्षको उमेरमा ज्ञान प्राप्त गरी ८० वर्षको उमेरमा निर्वाण पाएका थिए । गौतम बुद्धको जन्म लुम्बिनीको (अम्बलठ्ठीका ) आँपको बगैंचामा भएको विभिन्न दस्तावेजहरूले जनाउँछन् । लुम्बिनी नेपालका लागि अर्थ आर्जन गर्ने स्थल पनि हो, तर उपयोगी बन्न सकेको छैन । यसको प्रवर्द्धन गर्न पनि फोनिजले आफ्नो अभियानमा लुम्बिनी रोजेको हो । यस महाधिवेशनमा स्वदेश तथा विदेश गरी ५१७ प्रतिनिधिको उपस्थिति रहने फोनिजका महासचिव समीर बलामीले जानकारी दिनुभयो ।
फोनिजको पृष्ठभूमि
२०५६ सालमा स्थापाना भएको तत्कालीन अनिज आजसम्म आउँदा फोनिजमा परिणत भएको हो । पोखरामा भएको पाँचौं महाधिवेशनबाट पत्रकारहरूका विभिन्न जातीय संस्थाहरू जस्तैः मगर पत्रकार संघ, तामाङ पत्रकार संघ, तमु सञ्चारकर्मी संघ, नेवाः पत्रकार राष्ट्रिय दबु, थारु पत्रकार संघ, राई पत्रकार संघ, लिम्बू पत्रकार संघ, शेर्पा सञ्चार समूह मिलेर फोनिज भएको हो ।
२०५६ सालमा चन्द्रसिंह कुलुङको नेतृत्वमा अनिज स्थापना भएको थियो । उहाँको कार्यकाल २०५६ देखि २०६२ सालसम्म रह्यो । त्यसपछि मोहनसिंह लामा २०६२ बाट २०६८ सालसम्म, खिम घले २०६८ देखि २०७२ र डण्ड गुरुङ २०७२ देखि २०७८ सम्म अध्यक्ष रहनुभयो । चितवनमा २०७८ सालमा भएको सातौं महाधिवेशनले गजुरधन राई नेतृत्वमा चुनिनुभयो । उहाँकै नेतृत्वमा लुम्बिनीमा आठौं महाधिवेशन हुन गइइहेको छ । यस संस्थामा जातीय रूपमा सबैभन्दा बढी मगर समुदायको उपस्थिति ठूलो रहेको छ । तैपनि नेतृत्व गर्ने अवसर पाएको छैन ।
विभिन्न संस्थाहरूमा हुने समावेशीताले मुलुकलाई एक सूत्रमा बाँध्न सकेमा राज्य बलियो हुने आदिवासी जनजाति पत्रकारहरूको ठहर छ । संविधानले कल्पना गरेको समावेशिताको अक्षरसः कार्यान्वयन नै समृृद्धिको आधार स्तम्भ हो ।
फोनिजको संरचना
फोनिजको संंरचना हाल देशका ७७ जिल्लामध्ये ६६ वटामा जिल्लागत संरचना रहेको छ । सात प्रदेश र एसोसिएट गरी ८ तथा विदेश शाखा ८ रहेका छन् । विदेश शाखाहरूमा पनि सक्रिय रूपमा फोनिज अभियान अघि बढिरहेको छ । विगतमा पत्रकारिता र मिडियामा फोनिजको पहिचान स्थापना गर्ने अभियान रहेको थियो । पत्रकारिताको मूल मर्म र धर्ममा रहेर आदिवासी जनजाति पत्रकारहरूले आफ्नो मूल्य मान्यतामा रहेर काम गर्दै मुलुकको सर्वोपरि हितको पक्षमा काम गर्दे आएका छन् । एक सर्बेक्षणअनुसार नैतिक र चरित्रवान पत्रकारिता गर्ने आदिवासी पत्रकारहरू छन् । मूल्यनिष्ठ पत्रकारिता आजको आवश्यकता हो ।
किन फोनिज ?
- सञ्चारमाध्यममा आदिवासी जनजाति समुदायको न्यून प्रतिनिधित्व ।
- मूलधारको पत्रकारितामा आदिवासी जनजाति भाषाको अभाव ।
- समुदायका मुद्दाहरूलाई उचित रूपमा उठाउने संस्थागत संरचना आवश्यक पर्नु ।
- पत्रकारहरूलाई संगठित गर्दै पेशागत सुरक्षा, तालिम र अवसरहरू उपलब्ध गराई दक्ष बनाउन र प्रतिनिधित्व गर्न र गराउन ।
- कुनै पनि समुदायगत हिसाबमा नभई सीमान्तीकृत समुदायको उत्थान गरी राज्यको समविकासको सूचीमा पु¥याउन र समृद्ध नेपाल निर्माणमा टेवा पुर्याउन ।
समावेशिता र पहिचान
फोनिजले मुलुक संघीयतामा गएलगत्तै सुरुमा संघीय संरचनाअनुरूप आफ्ना संगठनहरू विस्तार गर्यो । संघीयता बलियो हुन सकेमा मुलुक समृद्ध हुने फोनिजको ठहर छ । विभिन्न संस्थाहरूमा हुने समावेशीताले मुलुकलाई एक सूत्रमा बाँध्न सकेमा राज्य बलियो हुने आदिवासी जनजाति पत्रकारहरूको ठहर छ । संविधानले कल्पना गरेको समावेशिताको अक्षरसः कार्यान्वयन नै समृृद्धिको आधार स्तम्भ हो । राज्यका हरेक जाति, हरेक क्षेत्र र भूगोलमा समान वितरण प्रणाली र अवसरले राज्यलाई एकसूत्रमा बाँध्नुका साथै राष्ट्रियता बलियो बनाउने सूत्रधार हुनसक्छ ।
यस्ता विषयहरूले जातीय सद्भाव, सामाजिक भाइचारा र मुलुकमा अपनत्वको विकास गराउँछ । अनुहार हेरेर, नाक हेरेर, कालो र गोरो छालाको रंग हेरेर, पानी चल्ने र नचल्नेबीचको खाडल, पुलपुलेसा र साँघुले जोड्न नसकेका भूगोल र नीति नियम र कानूनले भावनात्मक एकता र अधिकारलाई जोड्न सकिएन भने भौतिक र भावनाको विकास अधुरो नै रहन्छ । यसरी भूगोल र मानिसका मनलाई जोड्न सकेमा विरोधका आवाजहरू आउँदैनन्, नत्र मूर्त रूपमा या सुसुप्त रूपमा यसको बीउ रहिरहन्छ । मौका आएको खण्डमा विस्फोट हुने सम्भावना रहेको हुन्छ । भौतिक विकासलाई मात्र विकास देख्ने आमनागरिकको भावना जोड्ने नीति र विकास देख्न सकिएन भने समृद्ध मुलुक भाषणमा मात्रै सीमित हुनेछ ।
अनुहार हेरेर, नाक हेरेर, कालो र गोरो छालाको रंग हेरेर, पानी चल्ने र नचल्नेबीचको खाडल, पुलपुलेसा र साँघुले जोड्न नसकेका भूगोल र नीति नियम र कानूनले भावनात्मक एकता र अधिकारलाई जोड्न सकिएन भने भौतिक र भावनाको विकास अधुरो नै रहन्छ ।
सञ्चार गृह र आदिवासी पत्रकार
नेपालको हरेक परिवर्तनले केही न केही कुरा बोकेर आएको छ । सञ्चारको विकासक्रम नेपालमा प्रजातन्त्रको स्थापनासँगै आएको हो । सञ्चारको विकास नेपालमा करिब ७४ वर्षमा आएको परिवर्तन र सशस्त्र माओवादी संघर्ष तथा २०६२/६३ को परिवर्तनपछि नेपालमा सञ्चारमाध्यमहरूको बाढी नै आएको हो । सञ्चारका साधनको विकास र योसँगै सञ्चार नीति र सञ्चारमाध्यमहरूमा केही हदमा आदिवासी जनजाति पत्रकारहरूको पनि उपस्थिति बढ्दै आएको छ । सञ्चारमाध्यममा लगानी र पत्रकार उत्पादनमा पनि राम्रो भूमिकारू खेल्दै आएको छ, तर नेपालस्थित सबैको छाता संस्थाका रूपमा परिचित नेपाल पत्रकार महासंघ न्यून समावेशी रहेको छ । पहिलो पटक महिला नेतृत्व रहेको महासंघमा जनजातिको नेतृत्व स्वीकार गर्न आदिवासी जनजाति पत्रकारहरुले अझ धेरै मेहनत र दुःख गर्नुपर्ने निश्चित छ ।
त्यस्तै विभिन्न राजनैतिक दलका जनवर्गीय संगठनको रूपमा स्थापित पत्रकार संघसंस्थाहरूमा आदिवासी जनजातिको उपस्थिति एकदमै न्यून छ, अझ नेतृत्वमा पुग्नु त टाढाको कुरा हो । ती संघसंस्थाहरू समावेशितामा उदार छैनन् । लोकतन्त्र र समावेशी भाषणमा मात्र सीमित रहेको छ । समावेशिताका कुरा उठ्न खोज्दा जातीय बिल्ला भिराएर कर्नर पार्ने दुस्साहस हुने गर्छ । लोकतन्त्र र गणतन्त्रका कुराले समावेशिताका च्युरा भिजाउन सकेको छैन । प्रेस चौतारी हेरौं, प्रेस सेन्टर र प्रेस युनियन हेरौं । अनि नेपाल पत्रकार महासंघ हेरौं । महासंघ छाता संस्था त हो, तर त्यो छाताले आदिवासी पत्रकारलाई ओत लगाउन सकेको छैन । यस्तैखाले विभेदका खाडलहरू बढ्दै गयो भने आदिवासी पत्रकारहरूले नेपाल पत्रकार महासंघ जस्तै विभिन्न संस्थाहरूमा आफ्नो उपस्थितिलाई अस्वीकार गरिएमा पत्रकार महासंघ त्यागेरमात्र फोनिजको अभियान प्राथमिकतामा रहने सम्भावना हुनसक्छ । त्यसैले त्यो अवस्था नआओस्, समावेशिता संविधानतः अँगाल्न यी संस्थाहरू अघि बढून् ।
पर्यटन प्रवर्द्धनमा फोनिज
फोनिजले नेपालका विभिन्न भूभागमा आफ्नो महाधिवेशन गर्दै आएको छ । पर्यटकीयस्थल चितवनको सौराहा, पर्यटकीय हब पोखरा, देशको राजधानी काठमाडौं र विभिन्न शहरमा आफ्नो अभियान गर्दै आएको छ । यसका माध्यमबाट आन्तरिक पर्यटन प्रवर्द्धन तथा आर्थिक चलायमानमा टेवा पुर्याउने काम गरेको छ । एक महाधिवेशनका लागि करिब ४० लाख रूपैयाँ खर्च हुने तथा सहभागीहरूले विभिन्न नाममा गरिने खर्चहरूले पुँजीलाई चलायमान गर्छ ।
यसका अलावा नेपालमा सञ्चालित विभिन्न होमस्टेहरूको प्रवर्द्धन गर्दै स्वरोजगार विकासमा समेत विभिन्न साधारणसभा तथा घुम्ती बैठकहरू गर्दै आउँदा समृद्ध समाजमा फोनिजको भूमिका अब्बल रहेको छ । यसरी आन्तरिक तथा बाह्य पर्यटनको विकास र प्रवर्द्धनमा फोनिजको भूमिका अतुलनीय छ । विभिन्न होमस्टेहरू आदिवासी जनजातिहरूले नै गरेका छन् । होमस्टेमार्फत कला-संस्कृतिको संरक्षण, भाषाको संरक्षण हुँदै आएको छ । यस्ता विषयलाई प्राथमिकतामा राखेर संरक्षण गर्नु सरकारको दायित्व हो । सरकार आफ्नो दायित्वबाट विमुख नहुन सञ्चारमाध्यममार्फत आदिवासी पत्रकारहरूले अभियान पनि चलाउँदै आएका छन् ।
महासंघ छाता संस्था त हो, तर त्यो छाताले आदिवासी पत्रकारलाई ओत लगाउन सकेको छैन । यस्तैखाले विभेदका खाडलहरू बढ्दै गयो भने आदिवासी पत्रकारहरूले नेपाल पत्रकार महासंघ जस्तै विभिन्न संस्थाहरूमा आफ्नो उपस्थितिलाई अस्वीकार गरिएमा पत्रकार महासंघ त्यागेरमात्र फोनिजको अभियान प्राथमिकतामा रहने सम्भावना हुनसक्छ ।
नेपालका आदिवासी जनजाति कला-संस्कृतिमा धनी रहेको छ । आदिवासीको पहिचान नै यही हो । आफ्नै भाषा, धर्म, संस्कृति र परम्पराका कारण आदिवासी समुदाय निकै धनी रहेको छ । समुदायको अपनत्व र विकासमा यस्ता पहिचानहरूले अगाडि बढाउनुपर्ने हो, तर राज्यको गलत दृष्टि, कर्मचारीतन्त्रको काम गर्ने शैलीका कारण नेपालको विविधतालाई सम्बोधन गर्न सकेको छैन । जबसम्म विविधताको सम्बोधन गर्न सकिँदैन तबसम्म विकास सम्भव हुँदैन ।
नेपालले संयुक्त राष्ट्रसंघको सन् २०३० सम्म दिगो विकास लक्ष्य पछ्याउन सकेको छैन । ‘फुटाउ र शासन गर’को नीतिमा गलत अवयवहरू अंगीकार गरिएको छ । दिन प्रतिदिन आफ्नो कार्यशैलीका कारण सरकारको लोकप्रियता घट्दै गएको छ । संघीय सरकारमात्रै होइन, प्रदेश सरकार पनि आफ्नो कार्यशैली र आफ्नामात्रै पोस्ने काम भएकाले यसको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ । स्थानीय सरकार पनि त्यस्तै कमाउ धन्दामा लागेको अवस्था छ । कर्मचारीतन्त्रमा निजी स्वार्थ मिले काम गर्ने नत्र काम नगर्ने प्रवृत्ति हावी छ । यस्ता कार्यशैलीले दिगो विकास लक्ष्य पाउन कुनै पनि हालतमा सम्भव देखिँदैन ।
अबको नेतृत्व र कार्यभार
फोनिज विभिन्न राजनैतिक दलमा आबद्ध आदिवासी जनजाति पत्रकारहरूको साझा संस्था हो । फोनिजले समावेशितालाई अंगीकार गर्दै २०५६ सालबाट निरन्तर संगठनका गतिविधिहरू गर्दै आएको छ । यस्तो संस्थाको नेतृत्वमा जान आदिवासी जनजाति पत्रकारहरूले चाहना राख्नु विधानतः स्वाभाविक छ । आजसम्म विभिन्न चरणमा नेतृत्व चयन केही हदसम्म सहमतिमा भएका छन् । कतिपय लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेर सम्पन्न भएका छन् । हाल सामाजिक सञ्जालमा भएका केही आवाजहरूका आधारमा वर्तमान वरिष्ठ उपाध्यक्ष लक्की चौधरी जो गोरखापत्रमा आबद्ध छन्, उनी नेतृत्वको आकांक्षी छन् । अर्कोतर्फ उपाध्यक्ष अमरध्वज लामाले पनि अध्यक्षको लाइनमा आफ्ना गतिविधि सञ्चालन गरेका छन् । रेडियो नेपालमा लामो समयदेखि कार्यरत उनले अहिले अवकाश पाइसकेका छन् ।
नेतृत्वमा यी दुईमध्ये जो आए पनि संस्थाको हितमा काम गर्ने र फोनिजको अभियान र उचाइलाई अगाढी बढाउने हुनुपर्छ । आदिवासी जनजाति समुदायका पत्रकारलाई प्रविधि मैत्री बनाउने, दक्ष बनाउने, मूलधारका सञ्चारमाध्यमहरूमा उपस्थिति जनाउने, व्यावसायिक पत्रकारितामा आकर्षण बढाउने र मूल्यनिष्ठ पत्रकारितालाई अंगीकार गराउने चुनौती अबको नेतृत्वसामु रहेको छ । फोनिजमा लडेर होइन, सहमतिमा नेतृत्व चयन गर्ने संस्कृतिलाई बरकरार राख्न यसका आमअभियन्ता लाग्नुपर्छ । आदिवासी कुलमा जन्मेर आफ्ना अधिकार स्थापित गर्न पत्रकारितामार्फत कम्मर कसेका अभियन्ताहरू सहकार्य र सहमतिमै अघि बढ्नु उत्तम विकल्प हो ।
फोनिजको आठौं महाधिवेशनस्थल लुम्बिनीमा सबैलाई सुस्वागतम ! भवतु सब्ब मंगलम् !
(लेखक गाहा फोनिज लुम्बिनी प्रदेश समितिका इन्चार्ज हुन् ।)

Leave a Reply