काठमाडौं । नायक अनमोल केसी अभिनित चलचित्र ‘जेरी अन टप’ को प्रदर्शन मिति तय भएको छ। अनन्या फिल्मस् प्रालीले चलचित्रको प्रदर्शन मिति तय गरेको हो। यो चलचित्र २०८२ को असोज ३१ बाट सार्वजनिक हुने भएको छ।
कार्तिक पहिलो साता परेको तिहारको छेको पारी यो चलचित्र रिलिज हुन लागेको हो। राष्ट्रिय र अन्तर्राष्ट्रिय वितरकहरूसँगको सहमतिमा प्रदर्शन मिति तय गरिएको निर्माता सरोज न्यौपानेको भनाई छ ।
यो चलचित्रमा नायक अनमोल केसी, नायिकाद्वय आँचल शर्मा र जसिता गुरुङ र चर्चित हाँस्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ प्रमुख भुमिकामा छन् ।सगरमाथा बेसक्याम्प, काठमाडौं, मुस्ताङ लगायतका ठाउँमा यो चलचित्र छायांकन भएको छ भने चलचित्रका केहि दृश्य काठमाडौंमा झण्डै एक करोडको लागतमा तयार गरिएको सेटमा छायांकन गरिएको छ।
सुयोग गुरुङको निर्देशनमा तयार यो चलचित्रमा अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्कीको पनि अभिनय छ। अनमोल पिता भुवन केसीले ‘जेरी अन टप’मा पनि अनमोलको बुवाकै भुमिका निभाएका छन् ।
हङकङको एलजी एसोसिएट्सले यो चलचित्रको अष्ट्रेलियाबाहेकको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको छ भने नेपालमा भने ‘जेरी अन टप’ को रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन् ।

Leave a Reply