कर्मचारीले ‘चिया खर्च’ माग्ने गरेको गुनासो, न्यायाधीशले यसो भने

काठमाडौं । विहीबार दिउँसो १:३० बजे । बबरमहलस्थित विशेष अदालतमा नियमित बहस सकेर न्यायाधीश रामबहादुर थापा बैठक कक्षमा प्रवेश गरे । विशेष अदालतका प्रवक्ता तथा शाखा अधिकृत यज्ञराज रेग्मीले अदालत परिसरमा उपस्थित सेवाग्राहीहरूलाई सम्बोधन गर्दै सेवा प्राप्तिको क्रममा अनुभव भएका कमजोरी र गुनासोहरू खुलस्त राख्न आग्रह गरे ।

कार्यक्रमको सुरुआत जनकपुरबाट आएका जनकपुरका सेवाग्राही शंकरप्रसाद साहबाट भयो । उनले दोस्रोपटक अदालतमा आएको जानकारी दिँदै पहिले खास गुनासो नभएको जनाए । तर, पहिलोपटक अदालतमा बयान दिन आउँदा साँझ ५ बजेसम्म कुरेर फर्कनुपरेको अनुभव सुनाए । न्यायाधीश थापाले सोध्दा प्रवक्ता रेग्मीले चिया ब्रेकका कारण केही समय लागेको हुनसक्ने बताए । न्यायाधीश थापाले आगामी दिनमा यस्ता ढिलाइ हुन नदिन कक्षमै रहेका कर्मचारीलाई निर्देशन दिए ।

ललितपुरको गोदावरीबाट आएका रामप्रसाद बज्गाईँले अदालत परिसरमा पार्किङको अभाव र अपाङ्गता भएका सेवाग्राहीहरूका लागि सुविधा नहुनु गम्भीर समस्या भएको उल्लेख गरे ।

उनले भने, ‘ह्वीलचेयर गुडाउन सजिलो भए पनि म जस्ता प्यारालाइसिस भएका सेवाग्राहीलाई माथिल्लो तलामा जान गाह्रो हुन्छ । लिफ्टको व्यवस्था भएको भए सजिलो हुनेथियो ।’

थापाले भने, ‘हामी न्यायाधीशहरू पनि पार्किङको सुविधा नपाई बन कार्यालयसँग समन्वय गरेर सवारी साधन राखिरहेका छौं । अदालतमा लिफ्टको अभाव अपांगता भएका सेवाग्राहीका लागि अप्ठ्यारो भएको स्वीकार्छु । यी दुवै विषयलाई गम्भीरताका साथ लिएर समाधानको प्रयास गर्नेछौं ।’

प्रशंसासँगै सुधारका सुझावहरू

काठमाडौं महानगरपालिका-४ की सेवाग्राही डा. पूजा शर्माले २०७८ सालदेखि अदालतमा नियमित सेवा लिइरहेको बताउँदै पछिल्लो समय अदालतको वातावरणमा उल्लेखनीय परिवर्तन भएको भन्दै प्रशंसा गरिन्।

उनले भनिन्, ‘म सधैँ पार्किङको समस्याबाट गुज्रिरहेकी छु। तर अदालत प्रवेश गर्दा हरियाली र वातावरणको सौन्दर्यले मलाई खुशी दिन्छ। शौचालयमा सेनिटरी प्याडको व्यवस्था पनि अत्यन्त सकारात्मक पक्ष हो ।’

उनले अदालतको क्यान्टिन सानो भएको र डिजिटल सेवाको पहुँच अझ व्यापक बनाउनुपर्ने सुझाव दिइन् ।

न्यायाधीश थापाले डा. शर्माको सुझावप्रति आभार व्यक्त गर्दै अनलाइन तारेखको सेवा अहिले केही सीमित स्थानमा उपलब्ध भए पनि आगामी दिनमा देशभरबाट नै सेवा उपलब्ध हुने व्यवस्था मिलाइने प्रतिबद्धता जनाए ।

अरुले यस्तो अनुभव सुनाए

कैलाली, धनगढीका विश्वेश्वरप्रसाद खनालले विशेष अदालतमा सेवा लिन आएको आफ्नो पहिलो सुनाए । उनले इजलासको बहस प्रत्यक्ष अवलोकन गर्न सकिने सुविधा, अनलाइनबाट तारेख लिन मिल्ने व्यवस्था, र क्यान्टिनको स्वादिष्ट खाजा राम्रो लागेको बताए । पार्किङको समस्या उनले पनि उठाए ।

अर्का सेवाग्राही रामबहादुर बुढाले भने, ‘मुद्दा लागेपछि बबरमहलको बाटो हुँदै हिँड्दा पनि डर लाग्थ्यो । तर, अदालत प्रवेश गरेपछि त्यो डर हराएर आनन्द महसुस भयो ।’ कर्मचारीको व्यवहार र अदालतको शान्त वातावरणले मन प्रफुल्ल भएको उनले बताए ।

अछामबाट आएका सुरजबहादुर भुलले विशेष अदालतको प्रशंसा कविता र देउडा गीतमार्फत गरे । उनले विभिन्न सञ्चार माध्यममा अदालतबारे सुनेको भए पनि प्रत्यक्ष सेवा लिँदा त्यो भन्दा अझ राम्रो अनुभव भएको बताए ।

‘यदि देशका सबै अदालतमा टेकनारायण कुँवर र रामबहादुर थापा जस्ता न्यायाधीशहरू भएको भए, गरिब जनताले सजिलै न्याय पाउँथे,’ उनले भावुक हुँदै भने।

तर अन्त्यमा उनले गम्भीर आरोप पनि लगाए-केही फाँटका कर्मचारीले बयान लिँदा वा अन्य कामका क्रममा चिया खर्चका नाममा पाँचदेखि दस हजार रुपैयाँसम्म माग्ने गरेको सुनाए ।

न्यायाधीश थापाले उक्त गुनासोलाई गम्भीर र संवेदनशील विषय भन्दै यदि सम्भव भए तोकिएको कर्मचारीको नामसहित लिखित उजुरी दिन आग्रह गरे । उजुरी आएमा आवश्यक अनुसन्धान गरी कारवाही गर्ने प्रतिबद्धता जनाए ।

‘वकीलहरूले समेत यसमा सहजीकरण गर्ने गुनासो सुनिन्छ,’ उनले थपे।

न्यायिक कार्य सम्पादन र सुधार प्रयास

निजामती सेवाबाट सेवानिवृत्त डा. बलराम थापाले विशेष अदालतमा लामो समयदेखि सेवा लिँदै आएको अनुभव सुनाउँदै पछिल्ला वर्षहरूमा अदालतले क्रान्तिकारी सुधार गरेको बताए ।

उनले पुराना मुद्दाको पूर्णपाठ आउन ढिलो भएको गुनासो राखे । जवाफमा न्यायाधीश थापाले २०७८ साल मंसिर १८ यता अधिकांश मुद्दा ६ महिनाभित्र टुंग्याइने नीति अनुसार काम भइरहेको जानकारी दिए ।

‘पहिले वर्षमा २०० मुद्दा फच्छ्यौट हुन्थे, अघिल्लो वर्ष मात्र ५०६ मुद्दा टुंग्याएका छौं,’ उनले बताए । फैसलाको पूर्णपाठ कम्तीमा ५० पृष्ठदेखि ८०० पृष्ठसम्मको हुने भएकाले केही समय लाग्ने भए पनि जतिसक्दो चाँडो सार्वजनिक गर्ने प्रयास भइरहेको बताए ।

सवा घण्टासम्म चलेको कार्यक्रमको अन्त्यमा अदालतका प्रवक्ता रेग्मीले सेवाग्राहीहरूलाई ९ बुँदे सन्तुष्टि सर्वेक्षण फारम भराउन आग्रह गरे । फारममा अदालतमा आएको कारण, शाखा र कर्मचारी, सेवाको समय, व्यवहार, सुधारका सुझाव तथा ऐच्छिक रूपमा नाम र सम्पर्क विवरण समावेश गरिएको थियो।

सर्वेक्षणपछि सेवाग्राहीहरू न्यायाधीशसँग चिया बिस्कुट सहित अनौपचारिक संवाद गर्दै आ-आफ्नो कार्य सम्पन्न गरेर फर्किए।

विशेष अदालतका प्रवक्ता रेग्मीका अनुसार अदालतले वार्षिक कार्ययोजना अनुसार २०७८ सालदेखि नै प्रत्येक महिना न्यायाधीशसँग सेवाग्राहीको प्रत्यक्ष भेटघाट कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस कार्यक्रमबाट प्राप्त गुनासो र सुझावका आधारमा अदालतले सेवा तथा प्रशासनमा निरन्तर सुधार गरिरहेको उनले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *