काठमाडौं । राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते गरेको आह्वानलाई मन पराएर २५ गतेको स्वागतमा जनताहरू उपस्थित भएको दाबी गरेका छन्।
कानून समितिको बैठकमा बोल्दै पूर्वराजाको स्वागतमा जनता मात्रै नभई केही राजावादीहरूको समर्थनको कारणले ठूलो संख्यामा जनता उपस्थित भएको बताए।
उनले भने, ‘स्वागतको बेलामा सुरक्षा निकायले गरेको व्यवस्थापन सह्रानीय छ। त्यो स्वागतको घटनालाई अतिरञ्जित र त्रसित बनाउनुपर्ने कुनै कारण थिएन। त्यस्तो स्वागत त प्रदेश जिल्ला र मन्दिरमा जाँदा भइरहेकै थिए।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले युवा संगठनको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए।
उनले भने, ‘युवा संघको कार्यक्रममा प्रधानमन्त्रीले जुन अभिव्यक्ति दिनुभयो। त्यो कार्यकारी प्रमुखले गर्ने अभिव्यक्ति पटक्कै होइन भन्ने लाग्छ। संविधान र नागरिकको रक्षा गर्ने भन्ने पढ गरेर शपथग्रहण गर्नुभएको छ। त्यसैको मौलिक अधिकारलाई हनन गर्नको लागि उहाँले आफ्ना युवा संगठनलाई जनताजनताबीचमा लडाइँ गरेर अशान्त वातावरण सिर्जना गर्ने अभिव्यक्तिहरू जगजाहेर नै छ।’
उनले २५ गतेको घटनालाई लिएर गृह प्रशासनको सुरक्षा व्यवस्थापनबारे प्रश्न उठाए। तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताए।

Leave a Reply