‘पिटर वन’ को अल स्टेशन अलर्ट र चैत १५ को प्रहरी परिचालनबारे ४ बुँदे ब्रिफिङ

काठमाडौं । ‘अल स्टेशन अलर्ट-पिटर वन’

चैत १५ गते बिहानै काठमाडौं उपत्यकाअन्तर्गतका सम्पूर्ण प्रहरी युनिटका वाकिटकी सेटमा पटक-पटक माथिको वाक्य दोहोरिरह्यो ।

‘पिटर वन’ कलसाइन भएका आईजीपी दिपक थापाले ‘अल स्टेशन अलर्ट’, अर्थात् सबैलाई सचेत गराउँदै केही आदेश दिइरहेका थिए ।

आदेश थियो, ‘जनधनको क्षति हुने गरी कुनै किसिमको अराजकतापूर्ण गतिविधि भएमा आ-आफ्नो शक्ति प्रयोग गर्नुहोला । सबै कुरामा आदेश पर्खिएर बस्ने होइन, जहाँ जे गर्दा भिड नियन्त्रणमा आउँछ, त्यही गर्नुहोला…। परेको जिम्मा लिउँला ।’

त्यतिबेला ‘भिक्टर वन’ कल साइन भएका उपत्यका प्रहरीका एआईजी टेकबहादुर तामाङको नेतृत्वमा रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा उपत्यकाभित्रका सम्पूर्ण प्रहरी कमाण्डर जम्मा भएका थिए । आईजीपीबाट प्राप्त आदेशलाई ‘भिक्टर कन्ट्रोल’ ले मातहत युनिटलाई रिले गरिरह्यो ।

तर, हेर्दाहेर्दै केही घर र थुप्रै गाडी जले । ट्राफिक व्यवस्थापनका निम्ति बिच्छ्याइएका डिभाइडर, ट्राफिक लाइट र आइल्याण्डहरू धमाधम भत्काइए । मानौं, प्रदर्शनकारी अरु प्रहरीसँग भन्दा बढी ट्राफिकसँग रुष्ट छन् । ती ट्राफिक जोसँग हतियारको नाममा एउटा लाठी पनि हुँदैन, बन्दूकको कुरा त परैको भयो ।

तीनकुनेमा नेपाल प्रहरीको वाटर क्यानन थियो । सशस्त्र प्रहरीले सिनामंगलस्थित विपद् व्यवस्थापन गणमा रहेको दमकल तैनाथ गरेको थियो । जनशक्तिको हिसाब गर्दा प्रदर्शनकारीजत्तिकै प्रहरी पनि थिए । तर, तीनकुने जलिरह्यो । कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोर लुटियो । वरिपरिका करिडोर सडकमा राखिएका थुप्रै हलुका सवारीसाधनमा आगो लगाउने त प्रतिस्पर्धा नै चलेजस्तो भयो ।

अनियन्त्रित गतिमा कार चलाएर प्रहरी घेरा तोड्न उद्दत रहेका दुर्गा प्रसाईंलाई रोक्न त प्रहरीले रोक्यो । तर, नियन्त्रणमा लिन सकेन । टाढा हैन, उनी तीनकुनेभन्दा थोरै भित्रपट्टीको पेरिसडाँडामा लुके । प्रहरीले पत्तो पाएन ।

तीनकुनेमा आगलागी भएको घरभित्र प्रहरी छिर्न सकेनन् । जब वाटर क्यानन र दमकलको मद्दतले आगो निभ्यो, त्यसबेलासम्म एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजक डढेर ‘खाग’ भइसकेका थिए । भित्र रजक छन् भन्ने सूचना नै प्रहरीसँग थिएन । न त प्रदर्शनकारीसँग नै थियो । आगो लागेर घरबाट धुँवाको मुस्लो निस्किन थालेपछि सम्भवतः एभिन्यूजसम्बद्ध व्यक्तिहरू हुनुपर्छ, माथि आफ्ना क्यामेरा पर्सन रहेको भनिरहेका थिए । तर, माथि जाने उपाय थिएन ।

जसै, साँझ साढे ४ बजेपछि नयाँ बानेश्वर प्रहरी बृत्तका डीएसपी वीरेन्द्र गोदार र उनका सहकर्मी छिरे । केही भेटेनन् । डढेर ‘खाग’ जस्तो भइसकेको, वा ‘मुढा’ जस्तो आकृति उनीहरूको नजरमा पर्छ । नजिकै गएर हेर्दा पत्ता लाग्छ, मानव शरीर हो । त्यो खबर नेपाल प्रेसले ५ बजेर ३५ मिनेट जाँदा पहिलोपटक अपलोड गरेको छ । त्यसपछि मात्रै उनी रजक भएको उनका परिवार र एभिन्यूजकर्मीबाट पुष्टि भयो ।

आईजीको आँखामा…

देशका ८० हजार प्रहरी जनशक्तिको नेतृत्व गर्ने गरी नेपाल सरकारले चैत ४, अर्थात् ८ दिनअघि मात्रै नियुक्त गरेका आईजी थिए, दिपक थापा ।

अराजकताको सूचना पाएरै हुनुपर्छ, उनी बिहानैदेखि सञ्चार सेटमा कराइरहे, ‘केही पनि कसर बाँकी नराख्नू’ भन्दै । तर, घटनास्थलको प्रहरी तैनाथी र कारवाहीको रफ्तार त्यसअनुसार देखिएन ।

प्रदर्शनकारी अनुमानभन्दा बढी अराजक भएको सत्य हो । प्रहरीसँग आगोदेखि पानीसम्म नियन्त्रणमा लिने स्रोत र साधन थियो । उसले गुलेलीदेखि गोलीसम्मका उपाय साथमा राखेकै थियो । तर, अकल्पनीय अराजकताले जित्यो । यतिसम्मकी कर्फ्यू आदेश जारी भएपछि पनि तोडफोड र आगजनी जारी थियो ।

नवनियुक्त आईजीको आँखाबाट हेर्दा त्यो घटना अवश्य पनि पहिलो गाँसको ढुंगा थियो ।

आईजी नयाँ थिए, यसर्थ पनि उनी गम्भीर हुने नै भए । भूपू डीआईजी हेमन्त मल्लले आईजीको बुझाइमा भनेजसरी प्रहरीको परिचालन जति संगठित हुनुपर्ने थियो, त्यस्तो नहुँदा उक्त घटना भयावह भएको हो ।

स्थानीय प्रशासनको लापरवाही

‘संसद भवन र सिंहदरबार घेर्छौं, एयरपोर्ट कब्जामा लिन्छौं’ भन्ने प्रदर्शनकारीलाई तीनकुनेमा प्रदर्शन गर्न दिनु स्थानीय प्रशासनको सबभन्दा ठूलो लापरवाही भएको सुरक्षाविद्हरू बताउँछन् ।

भूपू डीआईजी मल्ल भन्छन्, ‘दुर्गा प्रसाईंका धम्कीपूर्ण अभिव्यक्ति आइरहेका थिए, यता सरकार पक्षबाट पनि धम्कीको बदलामा धम्कीकै भाषा प्रयोग भइरहेको थियो ।’

राज्यको काम धम्कीमा उत्रिने नभएर असन्तुष्ट पक्षलाई सन्तुष्ट बनाउने वा त्यस्तो पक्षबाट उत्पन्न हुने घटनाहरुलाई नियन्त्रणमा लिने हो । तर, सरकार नै त्यस विषयमा गम्भीर नभएको उनी बताउँछन् ।

त्रुटिपूर्ण परिचालन

चैत १५ को प्रदर्शनमा प्रहरीको परिचालन भिड नियन्त्रणका लागि नभएर युद्धमा पठाएजस्तो भएको मल्ल बताउँछन् ।

म्यान नगुज्रिएको अश्रुग्याँस, रबरको गोली दिएर पठाउनुपर्ने प्रहरीलाई त्यसदिन एसएलआर र इन्सासजस्ता हतियार दिनु नै सबभन्दा ठूलो गल्ती भएको मल्ल बताउँछन् । ‘हाई रेन्ज’, अर्थात् लामो दूरीसम्म निशाना लगाउने हतियारले भिडलाई नियन्त्रण हैन, उत्तेजक र अराजकमात्रै बनाउने उनको ठम्याई छ ।

‘भिड नियन्त्रण गर्ने उपयुक्त साधनको अभाव हुँदा अप्रिय घटनाको सम्भावना बढी हुन्छ, त्यसदिन भएको त्यही हो’, उनले भने । उनी त्यस्तो घटना हुनुमा सशस्त्र प्रहरी बलको असहयोगलाई अर्को कारण बताउँछन् । ‘उनीहरू अलिक टाढा-टाढा बसेको देखिन्छ, पुलिसलाई अप्ठेरो परेको बेला भिड नियन्त्रण गर्न पुगेको देखिएन’, उनले भने ।

डरलाग्दो मनोविज्ञान

प्रहरी नेतृत्वले आफ्ना कर्मचारीलाई संरक्षण गर्छ भन्ने विश्वासको अभावका कारण जोखिम मोल्ने प्रवृत्तिमा कमी आएको कतिपय बहालवाला प्रहरी अधिकृत बताउँछन् ।

यदि कुनै जोखिमपूर्ण कदम चाल्दा त्यसबाट केही समस्या भयो भने भोलि आफ्नो संगठनको नेतृत्वले साथ दिन्छ भन्ने कुराको सुनिश्चितता नहुँदा यस किसिमको घटना हुने गरेको उनीहरुको भनाइ छ । गत वर्ष ललितपुरको बालकुमारीमा कोरियाको ईपीएस परीक्षाको विषयमा भएको प्रदर्शन र सर्वसाधारणको हताहती पनि यही मनोविज्ञानमा आधारित भएको एक अधिकृतले बताए ।

‘ड्युटीमा जानुपर्ने अफिसर अफिसमै बसेर मोबाइल खेलाइरहेको थियो, किनभने त्यहाँ गएर रिक्स त लिइएला, अप्ठेरो पर्यो भने आफ्नै हाकिमले जिम्मा लिँदैन भन्ने परेको हुनुपर्छ’, उनले भने ।

त्यसमाथि निवर्तनमान आईजीपी वसन्त कुँवर नेतृत्वमा संगठन चल्दा संरक्षण वा अभिभावकत्वको अभाव धेरै प्रहरी कर्मचारीले महसुस गरेका थिए । एक वर्षका लागि युनिट कमाण्ड गर्न खटाइएका अधिकृतलाई दुई महिनामै तानिदिनेजस्ता काम उनको कार्यकालमा भयो ।

ड्युटीमा रहेका प्रहरीप्रति राजनीतिक नेतृत्व वा कुनै समूहले नकारात्मक भूमिका खेल्दा संगठन प्रमुख आफ्ना कर्मचारीको पक्षमा नभई राजनीतिक नेतृत्वसँग झुक्ने प्रवृत्तिले प्रहरी मनोविज्ञानमा गम्भीर असर पारेको प्रहरी कर्मचारीहरू बताउँछन् ।

भूपूडीआईजी मल्ल भन्छन्, ‘त्यस्ता घटनामा गरेको कामलाई लिएर निलम्बन, ग्रेट रोक्काजस्ता कारवाही गरिँदा मनोबल खस्किएको छ ।’

प्रहरी मनोविज्ञानको अर्को पाटो छ, जागिरे मानसिकता ।

अहिले नेपाल प्रहरीसँग सशस्त्र द्वन्द्वकाललाई सामना गरेको जनशक्तिमा कमी आइसकेको छ । उनीहरू एसपीभन्दा माथिल्लो दर्जामा छन् । फिल्ड कमाण्ड गर्ने तहमा कमै छन् ।

सशस्त्र द्वन्द्वकालीन समयको प्रहरीकार्य (पुलिसिङ) मा संलग्न व्यक्तिमा जुन किसिमको अनुभव र जोखिम मोल्ने प्रवृत्तिको विकास भएको थियो, पछिल्ला समयमा भर्ना भएका प्रहरीमा त्यसको कमी छ ।

‘यो जागिर हो, निश्चित समय ड्यूटी गरेपछि काम सकियो भन्ने मानसिकता प्रहरीमा भयो भने ऊबाट परिणाम आउन सम्भव हुँदैन’, एकजना बहालवाला एसएसपी भन्छन्, ‘म २४ घण्टा नै प्रहरी हुँ, परिआएको जस्तासुकै चुनौति सामना गर्छु भन्ने प्रहरी पछिल्लो समयमा कम आए ।’

उनी भन्छन्, ‘हामी त द्वन्द्वकालमा घरका मान्छेलाई लाश र सासमध्ये जे पनि आउन सक्छ भनेर हिँडेका थियौं, अहिलेका कतिपय प्रहरी अफिसर नै घरमा भात पाकिसक्यो कि बाँकी छ भनेर दौडिनेखालका छन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *