विराटनगर । पूर्वपश्चिम महेन्द्र राजमार्ग बनाउँदा सडकको जग्गाभन्दा उत्तरतर्फ गरिएको विस्तारले मोरङ पथरी नगरपालिका-१० जिरिखिम्तीका ४१ परिवार थप समस्यामा परेका छन् ।
अहिले ‘एसियन हाइवे’ परियोजनाअन्तर्गत सडक विस्तार हुँदा थप नम्बरी जग्गा सडकले हडपेपछि ४१ परिवारको बिल्लिबाठ भएको स्थानीयको गुनासो छ । पूर्वपश्चिम सडक बनाउँदा हिलो भएको भन्दै सडकको जग्गाभन्दा उत्तरमा सडक बनाइको थियो । अहिले बनेकै सडकबाट दायाँ-बायाँको जग्गा लिएपछि उनीहरू आन्दोलित भएका छन् ।
काँकडभिट्टा लौकही सडक विस्तार आयोजनाले अहिले धमाधम सडक विस्तार गरिरहेको छ । स्थानीयहरू मुआब्जा माग्दै संघर्षमा उत्रिएका छन् । सडक बनाउने बेला नापी गर्दा १ सय फुट चौडाइको सडक बनाउने भनेकोमा अहिले १६५ फुटको विस्तार गरिएको उनीहरूले बताएका छन् ।
पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गतको यो खण्डको बयर वन-९ (थ) को ६४ वटा कित्तामा सडक बनेको छ ।
प्रभावितहरूले मदन पोखरेलको संयोजकत्वमा समिति बनाएर संघर्ष गर्दै आएका छन् । आफूहरूलाई त्यो बेलादेखिकै मुआब्जा दिनुपर्ने पोखरेलले बताए ।

‘अहिले सडक विस्तार गर्ने भनिएको छ । हाम्रा सबै घर पर्छन् । हाम्रो बिचल्ली हुन्छ’,पोखरेलले भने ‘हामीले पटक-पटक आन्दोलन गरेपछि तत्काल काम त रोकिएको छ, तर कुन दिन घर भत्किने हो टुंगो छैन ।’
पोखरेलले कि सडकले पहिलेकै रेखांकनमा सडक सार्नुपर्ने नत्र अहिले बसेको ठाउँको जग्गा नामसारी गराइदिनुपर्ने बताए । अहिले उनीहरू बसोबास गर्दै आएको जग्गा सडकको नाममा छ । नम्बरी जग्गामा भने गाडी गुडिरहेको छ । आफ्नो नाममा धनीपुर्जा भए पनि त्यहाँ सडक रहेको उनीहरूले बताए । सडक विस्तार हुँदा उत्तरपट्टी थप नम्बरी जग्गा जाने भएकाले उठीबास लाग्ने पोखरेलको जिकिर छ ।

‘बैंकमामा जग्गा राखेर केही काम गरौं भन्दा पनि नपाएको पाइँदैन । हामी बसेको जग्गा सडकको नाममा छ, हाम्रो जग्गामा सडक छ । आफ्नो नामको जग्गाको मालपोत कर पनि तिरिरहेका छौं’, पोखरेलले सुनाए ।
पथरी शनिश्चरे नगरपालिकाले समस्या समाधानका लागि पहल गर्ने गरी निर्णय गरेको छ । तत्कालीन मेयर दिलीप राईले समाधानको उपाय खोज्ने समितिसँग सहमति गरेका थिए । २०७८ साल माघ २० गते कार्यपालिकाको बैठकले सडकको नाममा भएको जग्गाबाट सडक विस्तार गर्न लेखी पठाउने निर्णय गरेको थियो । सो निर्णयपछि नगरपालिकाले माघ २४ गते सडक विभागलाई प्रमाणसहित पत्र पठाएको थियो ।


अहिलेका मेयर मोहन तुम्बापो उतिबेलै नम्बरी जग्गामा बनेकाले समस्या भएको बताए ।
‘हिलो भएका कारण सडक उत्तरपट्टी सारिएछ । अहिले विस्तार हुँदा थप व्यत्तिको जग्गामा सडक बन्ने देखिएको छ । हामीले पटक-पटक छलफल राखेका छौं, तर निकास निस्किएको छैन’, तुम्बापोले भने ।
उनले अब सडक विस्तार हुँदा दक्षिणतर्फ हुनुपर्ने बताए । दक्षिणतर्फ पनि केही घर भत्किने भएकाले छलफल भइरहेको मेयरको भनाइ छ ।
काँकडभिट्टा-लौकही सडक आयोजना पश्चिम खण्ड इटहरी सुनसरीका आयोजना प्रमुख जगत प्रजापतिले समस्या समाधानका लागि धेरै छलफल भइरहेको बताएका छन् ।
‘धेरैअघिबाट यसबारे ‘वर्क आउट’ भएको छ, दक्षिणतिर सडक बिस्तार गर्दा अलिक सजिलो हुन्छ कि भन्ने लाग्छ’,उनले भने ‘दक्षिणतिर सडकको जग्गा भएकाले पनि त्यो विकल्प सहज हुन्छ भन्ने लाग्छ ।’
प्रजापतिले स्थानीयको माग सम्बोधनका लागि विभिन्न ढंगले छलफल भइरहेको जनाए । उनले सडकको जग्गा एकातिर र सडक अर्कैतिर हुँदा समस्या भएको उनले स्वीकारे ।
मोरङका सीडीओ इन्द्रदेव यादवले पनि यस विषयमा छलफल भइरहेको बताए ।
‘छलफल भइरहेको छ, समस्याको समाधान हुन्छ, समाधान नै निस्किँदैन भन्ने मलाई लाग्दैन ।’

Leave a Reply