काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले ऊर्जासचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।
तामाङले ४ दिनअघि चैत २५ गते (सोमबार) जावलाखेलस्थित विभागले आयोजना गरेको ७२औं सिचाइ दिवस कार्क्रममा आफू प्रमुख अतिथि भएर उपस्थित हुँदा उद्घोषकले आसनग्रहणमा बोलाउँदा मञ्चमा नआई बेवास्ता गरी निस्किएको आरोप लगाएका छन् ।
महानिर्देशक सञ्जीव बरालले पटक(पटक आसनग्रहणको आग्रह गर्दा पनि राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको भन्ने तुच्छ अभिव्यक्ति दिएको, पदीय आचरण पालना नगर्नुको साथै पदीय गरिमासमेत कायम गर्न नसकेको, नेपाल सरकारको सचिव पदको गरिमा र मर्यादालाई समेत धज्जी उडाउने गरी कार्यक्रम बहिष्कार गरेको तपाईलाई अनुशासनको कार्बाही किन गर्नुनपर्ने हो ?’, स्पष्टीकरणमा भनिएको छ ।
विहीबार सोधिएको स्पष्टीकरणमा सचिव आचार्यको अव्यवस्थित र असंयमित व्यवहारले मन्त्रालयको प्रतिष्ठा र कार्यपद्धतिमा असर पुर्याएको जिकिर गरिएको छ ।
विभागीय मन्त्री प्रमुख अतिथिको रूपमा उपस्थित हुँदा पदीय आचरण विपरीतको कार्य के कति कारणले गरेको भन्दै ‘निजामती सेवा २०५९ को दफा ५९ बमोजिमको सजाय किन नगर्नुपर्ने हो ?’ भनी राज्यमन्त्री तामाङले सचिवलाई सोधेका छन् ।
स्पष्टीकरणको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जामन्त्री दिपक खड्का, मुख्य सचिवलाई दिइएको छ ।


Leave a Reply