काठमाडौं । खोटाङसँगको सिमाना भोजपुरको चखेवामा एक भारतीयमाथि कुटपिट भएको छ ।
भोजपुरको एक नृत्य प्रतियोगितामा प्रतिस्पर्धाका लागि आएका भ्लगरसमेत रहेका रतुल रोक्स कुटिएका हुन् । रक्सीले मातेर बसिरहेका ६ जनाले ‘काले’ भनेर बोलाएको र पछि आफूलाई कुटेको उनले भिडिओमार्फत् बताएका छन् ।
रतुलले प्रतियोगिता जितेर १७ हजार पुरस्कारसमेत हात पारेका थिए । प्रतियोगिता सकेर चखेवा घुम्न जाँदा बाइकको पछाडिको टायर पम्पचर्ड भएको र समय काट्न डाँडा चढेको बताएका छन् । पछि तल झर्दा गाली गर्न थालेको, आफूले बाइक रोक्दा क्यामेरा तोड्देको र भकाभक कुट्न थालेको बताएका छन् ।
सामाजिक सञ्जालमा राखिएको ६ मिनेटको दु: खेसोसहितको भिडिओमा उनले भनेका छन्-
मलाई हेल्मेट खोलेर कुटियो, अनुहारभरी, छातिभरी मुक्का हानियो, फुटबल जसरी लात्तीले हानियो । प्रहरीकै अगाडि धम्की दिए, स्थानीय होटलवालाले पनि अभद्र व्यवहार गरे । भारतीय पर्यटक हुनु नै मेरो गल्ती थियो । खुकुरी हानेर मार्ने धम्की दिँदा पनि यो सबै नाटक देखेको प्रहरीले मलाई केही गरेन । उनीहरूकै सुरक्षा गरिरहेको थियो ।
उनले आफूलाई बचाउने नेपाली नृत्य समुदायलाई धन्यवाद दिएका छन् ।
तीनजुरे-मिल्के क्षेत्रमा ‘कोशी पर्यटन वर्ष-२०८२’ को उद्घाटनको भोलिपल्टै सार्वजनिक भएको यो घटनापछि पर्यटन क्षेत्रका सरोकारवालाले चिन्ता जनाएका छन् । सामाजिक सञ्जालमा आलोचना पनि भएको छ ।
धरानका विधार्थी नेता सागर सरगम चेम्जोङले लेखेका छन, ‘प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाउँदै गर्दा भोजपुरमा भारतीय पर्यटक कुटिएछ । आएका पर्यटकहरुको सुरक्षा छैन के को पर्यटन वर्ष ?’
उनले थपेका छन, ‘त्यो भोजपुरको चखेवामा भारतीय पर्यटक कुट्नेलाई तत्काल कारवाही गरेर भारतीय पर्यटकको शिर उठाउनुपर्छ अनिमात्रै नेपाली पर्यटनको शिर उठ्ने छ ।’
यस्तै अनन चाम्लिङ राईले भनेका छन, ‘भोजपुरदेखि हाल समानुपातिक र प्रत्येक्ष प्रदेश र संघ गरी ८ जना संसद छन् । तर, सदरमुकाम वरिपरिको सडक हेर्दा भोजपुरको हो भन्न सरम लाग्थ्यो अझै एउटा गतिलो काम गरेछ ।’
घटनाप्रति धेरै नेपालीले भारतीय पर्यटकको सामाजिक सञ्जालमा गएर ‘माफी’ मागेका छन् । कोशीका पर्यटन उद्यमी तथा धरानको सेछ ट्राभलिङका सञ्चालक वासुदेव बरालले भारतीय पर्यटक कुटेर प्रदेशलाई ठूलो क्षति भएको बताएका छन् ।
उनले भने, ‘भारतीय पर्यटक हेर्ने नेपाली नजरिया नै खराब थियो । यो कुटपिटले त झन् खराब सन्देश गयो । पाहुनालाई गर्नुपर्ने थियो सत्कार । भयो अत्याचार ।’
कोशीको पर्यटन गन्तव्य ‘मुन्दुम ट्रेल’ मा आउने भारतीय आगमनलाई पनि नकारात्मक सन्देश गएको बरालले बताए । उनले भने, ‘कोशी पर्यटनको देखिने चुनौती पूर्वाधार र जनशक्ति मानिथ्यो । अब त असुरक्षा नि थपियो ।’
चखेवा क्षेत्र समेटिने भोजपुरको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले आफू पालिकामा नभएको समयमा कुटपिट भएको बताएर अहिले आफूले घटनालाई अनुसन्धान गर्न सहजीकरण गरेको बताए । नेपाल प्रेससँग बोल्दै बस्नेतले भने, ‘अहिले दुई जनाले तारिक धाइरहेका छन् । एक सन्तोष राई र अर्का शुभराज राई छन्। भोली नि तारिक रहेछ ।
भोजपुरका प्रहरी प्रमुख डीएसपी युवराज तिम्सिनाले कुटपिटको घटना ३/४ दिन अगाडिको भएको बताए । स्थानीयको कुटपिटबाट केही चोट लागेको भन्दै उनले नेपाल प्रेससँग भने, ‘घटना पछि छलफल गरेर मिलेर गएका हुन् ।’

Leave a Reply